घोराही बनाऔं अभियानद्वारा दाङको विकासका लागि बजेट माग

एयरपोर्ट, मल उद्योग, खेल स्टेडियम, कोइलाबास भन्सार, आवश्यक सडकहरुमा बजेट बिनियोजन गर्न माग

गणतन्त्र नेपाल समाचारदाता

घोराही,३१ वैशाख। घोराही बनाऔं अभियानले दाङको दिर्घकालिन विकास र समृद्धिसँग जोडिएका आवश्यक भौतिक संरचनाहरु निर्माणका लागि सरकारसँग बजेट बिनियोजन गर्न माग गरेको छ । घोराही बनाऔं अभियानले जिल्ला प्रशासन कार्यालय दाङ मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेको हो । अभियानका संयोजक सविन प्रियासनको नेतृत्वमा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदी, पूर्व अध्यक्ष केएल बुढाथोकी, अधिकारकर्मीहरू लक्ष्मी आचार्य, अनिता पोख्रेल, अभियानको उपसंयोजक विनोद केसी लगायतको टोलीले प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्याल मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।

प्रधानमन्त्रीलाई दाङको विकाससँग जोडिएका विषयहरु समेटिएको ज्ञापनपत्रमा के छ ?

श्रीमान् सम्माननीय प्रधानमन्त्रीज्यू

सिंहदरबार, काठमाडौं

मिति : २०८३-०१-३०

विषय : दाङको आवश्यक भौतिक पूर्वाधारका लागि बजेट बिनियोजन सम्वन्धमा

महोदय,

दाङ जिल्ला दशवटा पालिकाहरु मिलेर बनेको छ । पछिल्ला दिनहरुमा जिल्लाको विकासले पनि गति लिएको छ । तर विकासको दृष्टिकोणले भन्नु पर्दा जिल्लामा हुनैपर्ने केही संरचनाहरु जो सबै जिल्लाबासीको साझा विषय हो, ती कुराहरु लामो समय बितिसक्दा समेत सूचारु हुन सकेका छैनन् । जस्तोकी जिल्लामा हुनैपर्ने हवाई सेवा अहिलेसम्म नियमितरुपमा सूचारु हुन सकेको छैन । तुलसीपुरको टरिगाउँ विमानस्थल विक्रम सम्वत २०१० सालमा सञ्चालन भएको हो । मुलुककै पुरानो विमानस्थल भएर पनि टरिगाउँ विमानस्थल अहिले पनि अलपत्र अवस्थामा छ । त्यसको बिस्तार गर्ने सवालमा प्रभावकारी भूमिकाको खाँचो जिल्लाले महसुस गरिरहेको छ । सरकारले नयाँ बजेट बनाउनका लागि नीति कार्यक्रम बनाएर तयारी गरिरहेकाले टरिगाउँ विमानस्थलको स्तरबृद्धिको सवालमा आउँदो आर्थिक वर्ष २०८३÷०८४ को बजेटमा बजेट सुनिश्चित गरेर यसलाई बिस्तार गरी नियमितरुपमा ७२ सिटे जहाज आउने वातावरण निर्माण गर्न अनुरोध गर्दछौं । दाङमा एयरपोर्ट निर्माण भएमा यहाँ बाह्रै महिना हवाई यातायात सुचारु हुनेछ ।

दाङको समृद्धिसँग जोडिएका विकास निर्माणका कामहरुका लागि पर्याप्त बजेट बिनियोजन गर्न बिनम्रतापूर्वक अनुरोध गर्दछौं । हाम्रो मागहरु यस प्रकार छन् ।

 

१) दाङको तुलसीपुरस्थित टरिगाउँ विमान स्थलका लागि पर्याप्त बजेट बिनियोजन गर्नुपर्ने ।

२) दाङको भविष्यसँग जोडिएको घोराही उपमहानगरपालिका ३ मा करीब ५ सय बिघा जमिन औद्योगिक क्षेत्रका लागि छुट्याइएको भएपनि यसलाई निर्माण गर्ने सवालमा अहिलेसम्म बजेट नछुटिएकाले आवश्यक बजेट बिनियोजन गरी सो ठाउँमा उद्योगहरु खुल्ने वातावरण निर्माण गर्नुपर्ने । यसको साथै कृषि प्रधान देश नेपालमा सधैभरी कृषकहरुले रासायनिक मलको अभाव झेल्नु पर्ने भएकाले सरकारले छिटो भन्दा छिटो घोराही–३ मा मल उद्योग सञ्चालन गर्न तयारी गर्नुपर्ने ।

३) कोइलाबास भन्सार व्यवस्थितरुपमा सञ्चालन गर्नुपर्ने ।

४) घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्तरबृद्धिका लागि छिटो भन्दा छिटो ४ सय बेडको बजेट सुनिश्चित गरी टेन्टर आव्हान गर्नुपर्ने ।

५) घोराही–होलेरी रोल्पा, घोराही–मुर्कुटी प्युठान, घोराही मसिना हुँदै प्युठानको स्वर्गद्धारी, घोराही–रामुपुर मुलाबारी हुँदै प्युठान, घोराहीको सौडियार–रिहार सडक, तुलसीपुर–सुर्खेत, तुलसीपुर–कपुरकोटलगायतका सडक निर्माण र पुर्न निर्माणको लागि बजेट बिनियोजन गर्नुपर्ने ।

६) हापुर–रक्षाचौर जोड्ने सडक निर्माण कार्य हाल तुलसीपुर क्षेत्रमा पुगेपछि रोकिएको छ, बजेट बिनियोजन गरी निर्माण कार्य सूचारु गनुपर्ने ।

७) लमही, घोराहीमा रहेको क्रिकेट मैदानको स्तर उन्नती गरी रातमा पनि क्रिकेट खेल्न सक्ने सुविधानसम्पन्न स्टेडियम बनाउनुपर्ने ।

८) तुलसीपुरको बेलझुण्डि, घोराहीको बाहुनडाँडामा रहेको फुटबल मैदानलाई सुुविधा सम्पन्न स्टेडियम बनाउन बजेट बिनियोजन गर्नुपर्ने ।

मार्फत : जिल्ला प्रशासन कार्यालय दाङ

सविन प्रियासन

संयोजक :घोराही बनाऔं अभियान

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID