
गढवा, ५ असार । गढवा युवा क्लबको आयोजनामा गढवा देउखुरीमा आजदेखि रमाइलो मेला सुरु भएको छ। जनता माध्यमिक विद्यालय गढवाको खेल मैदानमा आयोजित मेलाको उद्घाटन लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्व मन्त्री इन्द्रजित थारुले गर्नुभएको हो।
गढवा युवा क्लबका अध्यक्ष विक्रम गुरुङको अध्यक्षता तथा प्रदेश सभा सदस्य इन्द्रजित थारुको प्रमुख आतिथ्यमा सम्पन्न उद्घाटन कार्यक्रममा गढवा गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष लेख बहादुर थापा विशिष्ट अतिथि रहनुभएको थियो।
उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि इन्द्रजित थारुले यस्ता मेला तथा महोत्सवले स्थानीय कला, संस्कृति, कृषि उत्पादन र व्यवसाय प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने बताउनुभयो। उहाँले युवाहरूको सक्रियतामा आयोजना गरिएका कार्यक्रमले सामाजिक एकता मजबुत बनाउनुका साथै स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुग्ने धारणा व्यक्त गर्नुभयो। गढवा क्षेत्रको पर्यटन, संस्कृति र पहिचानलाई उजागर गर्न रमाइलो मेलाले सकारात्मक भूमिका खेल्ने विश्वास व्यक्त गर्दै मेलाको सफलताको शुभकामना दिनुभयो।
त्यसैगरी विशिष्ट अतिथि वडाध्यक्ष लेख बहादुर थापाले गढवा युवा क्लबले निरन्तर सामाजिक तथा रचनात्मक गतिविधि सञ्चालन गर्दै आएको उल्लेख गर्दै युवाहरूको नेतृत्वमा आयोजित रमाइलो मेलाले समुदायमा उत्साह थपेको बताउनुभयो। उहाँले स्थानीय कलाकार, व्यवसायी तथा कृषकहरूलाई आफ्ना उत्पादन र प्रतिभा प्रदर्शन गर्ने अवसर मेलाले प्रदान गरेको भन्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई आवश्यक सहयोग र सहकार्य रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा गढवा युवा क्लबका संस्थापक अध्यक्ष कृष्णराज पाण्डे, गढवा उद्योग वाणिज्य संघका अध्यक्ष ओमप्रकाश बसेल, ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय तथा राजयोग प्रशिक्षण केन्द्र गढवाकी सञ्चालिका यशोदा भट्टराई लगायतले मेलाको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो।
उद्घाटन कार्यक्रममा इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक साहिल बुढाथोकी, वडा सदस्य दिनमणि आचार्य, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश कुमार कुमाल, भिटा परियोजना कार्यक्रम संयोजक बसन्त कुमार शर्मा, देउखुरी सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रका अध्यक्ष दुखहरण यादव, द राइजिङ युथ क्लबका अध्यक्ष प्रशान्त डिसी, गढवा होटल व्यवसायी संघका अध्यक्ष रामबहादुर थापा, गढवा पञ्चैबाजा कला संस्कृति संरक्षण केन्द्रका अध्यक्ष दयाराम थापा, झुम्रा नाच झाँकी संयोजक सुमाना चौधरी, पत्रकार शिवराज पन्थी लगायतको सहभागिता रहेको थियो।
क्लबका सचिव सुभास रजौरेको स्वागत मन्तव्यबाट सुरु भएको उद्घाटन कार्यक्रमको सहजीकरण चर्चित गायक, मोडल तथा कार्यक्रम सञ्चालक अनुप बुढामगरले गर्नुभएको थियो।
आयोजकका अनुसार असार ५ गतेदेखि असार १५ गतेसम्म सञ्चालन हुने मेलाको व्यवस्थापन सफल व्यवसायी बिनोद बुढाथोकीले गरिरहनुभएको छ। मेलामा विभिन्न सांस्कृतिक कार्यक्रम, मनोरञ्जनात्मक गतिविधि, व्यापारिक स्टल तथा स्थानीय उत्पादनहरूको प्रदर्शनी रहनेछ।





