
गढवा, ९ असार। दाङ देउखुरीको गढवामा वन संरक्षण, व्यवस्थापन तथा वनजन्य स्रोतहरूको दिगो उपयोग सम्बन्धी विषयमा सरोकारवाला निकायहरूसँग एकदिने अन्तरक्रिया तथा समन्वय गोष्ठी सम्पन्न भएको छ।
डिभिजन वन कार्यालय दाङ (देउखुरी) को आयोजनामा सम्पन्न कार्यक्रम डिभिजनल वन अधिकृत गणेश बहादुर खड्काको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले वन वातावरण संरक्षणको आधार मात्र नभई मानव जीवन, कृषि उत्पादन, जलस्रोत संरक्षण तथा जैविक विविधताको महत्वपूर्ण सम्पत्ति भएको बताउनुभयो। उहाँले वन संरक्षणको जिम्मेवारी सरकारी निकायको मात्र नभई सम्पूर्ण नागरिकको साझा दायित्व भएको उल्लेख गर्दै सामुदायिक वन उपभोक्ता समूह, स्थानीय तह र सरोकारवाला निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको धारणा राख्नुभयो।
अध्यक्ष पोख्रेलले वन क्षेत्रको संरक्षणसँगै स्थानीय समुदायको आयआर्जन र जीविकोपार्जनमा समेत जोड दिनुपर्ने बताउनुभयो। वनजन्य स्रोतहरूको वैज्ञानिक र दिगो व्यवस्थापनमार्फत स्थानीय आर्थिक विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्दै वन अतिक्रमण, वन डढेलो तथा अवैध कटानी नियन्त्रणका लागि सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिनुभयो।
त्यसैगरी कार्यक्रमका अध्यक्ष तथा डिभिजन वन कार्यालय दाङ (देउखुरी) का डिभिजनल वन अधिकृत गणेश बहादुर खड्काले वन संरक्षण र व्यवस्थापनका क्षेत्रमा स्थानीय तह, सामुदायिक वन उपभोक्ता समूह तथा सुरक्षा निकायबीचको सहकार्यलाई अझ सुदृढ बनाउन आवश्यक रहेको बताउनुभयो। उहाँले वन क्षेत्र राष्ट्रको अमूल्य सम्पत्ति भएकाले यसको संरक्षण, संवर्द्धन र दिगो उपयोगका लागि सबै पक्ष जिम्मेवार बन्नुपर्ने धारणा राख्नुभयो।
खड्काले पछिल्लो समय वन डढेलो, अवैध वन पैदावार ओसारपसार तथा वन अतिक्रमणजस्ता चुनौतीहरू बढ्दै गएको उल्लेख गर्दै यस्ता गतिविधि नियन्त्रणका लागि सामूहिक प्रयास अपरिहार्य रहेको बताउनुभयो। उहाँले वन क्षेत्रको जैविक विविधता संरक्षण, हरियाली प्रवर्द्धन तथा वातावरणीय सन्तुलन कायम राख्न जनसहभागिता र सचेतनालाई प्राथमिकता दिइएको जानकारी दिनुभयो।
कार्यक्रममा सामुदायिक वन महासंघ दाङका अध्यक्ष हरि भुषाल, इलाका प्रहरी कार्यालय गढवाकी प्रहरी निरीक्षक साहिल बुढाथोकी, गढवा गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष वीरबहादुर आले मगर, वन तथा वातावरण संरक्षण समन्वय समिति गढवाकी अध्यक्ष पुष्पा यादव, स्थानीय वन महासंघ गढवाका अध्यक्ष नवराज शर्मा लगायतले वन संरक्षण, समुदायको भूमिका तथा समन्वयको आवश्यकता सम्बन्धमा आ आफ्ना धारणा राख्नुभएको थियो।
वरिष्ठ फरेस्टर खिमराज कँवरको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण गढवा सब-डिभिजन वन कार्यालयका प्रमुख अनन्त बहादुर डाँगीले गर्नुभएको थियो। कार्यक्रममा विभिन्न सामुदायिक वनका पदाधिकारी, सरोकारवाला निकायका प्रतिनिधि, पत्रकार तथा स्थानीयवासीहरूको सहभागिता रहेको थियो।





