आमा, मलाई देश बनाउनु छ !

गणतन्त्र नेपाल समाचारदाता

आमा, मलाई देश बनाउनु छ,

सपनाले भरिएको देश बनाउनु छ।

जहाँ आशाका किरणहरू छरिऊन्,

हरेक मनमा उज्यालो भरिउन।

मुलुकलाई आत्मनिर्भर बनाउनु छ,

समृद्धिको नयाँ यात्रा सजाउनु छ।

विदेशिएका सन्तान आफ्नै घरमा फर्किउन,

आफ्नै माटोमा भविष्य उज्यालो बनाउनु छ।

 

युवाले बाध्य भई देश नछोडून्,

यहाँ अवसरका फूलहरू फुलून्।

श्रम र सीपको उचित सम्मान होस्,

रोजगारीका हजारौँ ढोका खुलून्।

शिक्षा सबैका लागि गुणस्तरीय होस्,

ज्ञानको ज्योति गाउँ–सहर फैलियोस्।

स्वास्थ्य सेवा सहज र सुलभ बनोस्,

हरेक नागरिकको जीवन सुरक्षित रहोस्।

कृषिका फाँटहरू हराभरा बनून्,

किसानका अनुहारमा मुस्कान छाओस्।

आधुनिक प्रविधिले खेतहरू सजिऊन्,

अन्नमा देश आत्मनिर्भर बनोस्।

विज्ञान र प्रविधिको विकास होस्,

नयाँ आविष्कारको उज्यालो फैलियोस्।

सृजनशील हातहरूले चमत्कार गरून्,

विश्वसामु देशको शिर उच्च रहोस्।

पर्यटनका बाटाहरू संसारले चिनोस्,

हिमाल, पहाड, तराईको गौरव फैलियोस्।

सगरमाथा जस्तै उँचो गौरव गाथा बनोस्,

बुद्धको भक्तिगान विश्वभर फैलियोस् ।

प्रकृति र संस्कृतिको सुगन्ध बोकी,

देशभर समृद्धिको बहार छाओस्।

साहित्य, कला, संस्कृति र भाषा,

हाम्रो पहिचानका अमूल्य आशा।

यी सबैलाई संरक्षण र विकास गरी,

पुस्तौँसम्म रहिरहोस् हाम्रो परिभाषा।

आमा, मेरो सपना केवल मेरो होइन,

यो सम्पूर्ण देशको भविष्यको गीत हो।

मेहनत, साहस र इमानको बाटो,

समृद्ध नेपालको सुन्दर प्रीत हो।

आमा, मलाई देश बनाउनु छ,

हरेक क्षेत्र उज्यालो बनाउनु छ।

जनताको मुहारमा खुशी फुलाउने,

स्वाभिमानी र समृद्ध नेपाल बनाउनु छ।

आमा मलाई देश बनाउनु छ।

सबिन प्रियासन (सबिन कुमार चौधरी -घोराही, दाङ) ९८५७८३०३४३

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID