ज्योति आधारभूत विद्यालय गुरुङखोलामा विविध खेलकुद प्रतियोगिता तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

रोशन यादव

राजपुर, ४असार । दाङको राजपुर गाउँपालिका वडा नम्बर १ गुरुङखोलास्थित ज्योति आधारभूत विद्यालय मा विविध खेलकुद प्रतियोगिता तथा पुरस्कार वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

राजपुर गाउँपालिका वडा नम्बर १ को आर्थिक वर्ष २०८२/८३ को ३५ हजार रुपैयाँ आर्थिक सहयोग तथा विद्यालयको आफ्नै आयोजनामा बिहीबार उक्त कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा विद्यालयका शिशु कक्षादेखि कक्षा ८ सम्म अध्ययनरत विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए। विद्यार्थीहरूका लागि चकलेट दौड, हिसाब दौड, कुर्सी दौड, तातो आलु, भलिबल, नृत्य प्रतियोगिता, हाजिरी जवाफ, लङ जम्प, हिज्जे प्रतियोगिता, १०० मिटर दौड तथा २०० मिटर दौडलगायत विभिन्न प्रतियोगिताहरू सञ्चालन गरिएको थियो।

त्यसैगरी अभिभावक, शिक्षक, कर्मचारी तथा अतिथिहरूका लागि समेत घैँटा फोडजस्ता मनोरञ्जनात्मक खेलहरू आयोजना गरिएको थियो। विभिन्न प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थी तथा सहभागीहरूलाई पुरस्कार वितरण गरिएको विद्यालयले जनाएको छ।

विद्यालयका प्रधानाध्यापक दिलबहादुर शाही को सभापतित्वमा सम्पन्न कार्यक्रममा राजपुर गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष सूर्यप्रसाद चौधरी प्रमुख अतिथि रहनुभएको थियो। त्यस्तै, राजपुर गाउँपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख वासुदेव खनाल विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको थियो।

कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष चौधरीले खेलकुदले विद्यार्थीहरूको शारीरिक, मानसिक तथा बौद्धिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउँदै यस्ता गतिविधिले अनुशासन, नेतृत्व क्षमता र प्रतिस्पर्धात्मक भावना विकास गर्न सहयोग पुग्ने धारणा व्यक्त गर्नुभयो। उहाँले विद्यालयको शैक्षिक तथा अतिरिक्त क्रियाकलापको विकासका लागि वडा कार्यालयको सहयोग निरन्तर रहने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।

उक्त अवसरमा विद्यालयको तर्फबाट आमन्त्रित अतिथिहरूलाई मायाको चिनो प्रदान गरिएको थियो भने कार्यक्रम सफल बनाउन सहयोग पुर्‍याएको भन्दै राजपुर गाउँपालिका वडा नम्बर १ कार्यालयलाई कदरपत्र प्रदान गरिएको थियो।

कार्यक्रममा प्रहरी चौकी बेलाका प्रहरी सहायक निरीक्षक कपिलदेव चौधरी, वडा कार्यालयका सहायक गिरधारी यादव, वडा सदस्य तुल्सा मल्ल, गुरुङखोला स्वास्थ्य इकाइ प्रमुख शर्मिला बाँठा लगायत स्थानीय बुद्धिजीवी, अभिभावक तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

उल्लासमय वातावरणमा सम्पन्न कार्यक्रमको सञ्चालन शिक्षकद्वय सन्तोष यादव र प्रकाश बुढा ले गर्नुभएको थियो। कार्यक्रमबारे जानकारी रेडियो हाइबेका प्राविधिक प्रमुख रोशन यादव ले दिनुभएको हो।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID