राप्ती प्रेस मञ्चको विद्यालय अभियान : बालबालिकालाई लागुऔषध, ट्राफिक तथा साइबर क्राइमबारे सचेतना प्रदान

ओमप्रकाश गुप्ता 

भालुवाङ २३ जेठ । दाङको राप्ती गाउँपालिकामा क्रियाशील राप्ती प्रेस मञ्चले लागुऔषध, ट्राफिक तथा साइबर अपराध सम्बन्धी विद्यालय सचेतना अभियानलाई निरन्तरता दिएको छ।

समाजमा बढ्दो लागुऔषध दुव्र्यसन, साइबर अपराध तथा सडक दुर्घटनाका घटनालाई न्यूनीकरण गर्ने उद्देश्य सहित मञ्चले शुक्रबार राप्ती गाउँपालिका–२ लालमटिया स्थित आदर्श नमुना माध्यमिक विद्यालयमा सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ । मञ्चका अध्यक्ष अर्जुन कुमार अधिकारीको अध्यक्षता एवम् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा राप्ती गाउँपालिकाका प्रवक्ता पहलवान चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि चाैधरीले विद्यालयस्तरमा सञ्चालन गरिएका यस्ता सचेतनामूलक कार्यक्रम समयको आवश्यकता भएको बताउनुभयो। उहाँले विद्यार्थीहरूलाई कुलत, साइबर अपराध र ट्राफिक दुर्घटनाबाट जोगाउन समुदाय, विद्यालय, अभिभावक तथा सम्बन्धित निकायबीच समन्वय आवश्यक रहेको उल्लेख गर्नुभयो। चौधरीले राप्ती प्रेस मञ्चले सामाजिक उत्तरदायित्व वहन गर्दै जनचेतनामूलक अभियान सञ्चालन गरेकोमा प्रशंसा व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गर्नुभयो। त्यस्तै उहाँले विद्यार्थीहरूलाई बाल्यकालदेखि नै सही शिक्षा, अनुशासन र सचेतनाको माध्यमबाट जिम्मेवार नागरिकका रूपमा विकास गर्न आवश्यक रहेको औँल्याउनु भयो । पछिल्लो समय किशोर–किशोरीहरू लागुऔषधको प्रयोग, सामाजिक सञ्जालको दुरुपयोग तथा ट्राफिक नियम उल्लंघनका कारण विभिन्न समस्यामा पर्ने गरेको उल्लेख गर्दै यस्ता अभियानले विद्यार्थीहरूलाई सही मार्गदर्शन प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा प्रमुख प्रशिक्षक तथा नार्कोनन नेपाल लुम्बिनी प्रदेशका संयोजक बसन्त बहादुर पुनले लागुऔषधका विभिन्न प्रकार, त्यसले मानव स्वास्थ्यमा पार्ने नकारात्मक असर तथा समाजमा निम्त्याउने चुनौतीका विषयमा विस्तृत जानकारी दिनुभयो। उहाँले लागुऔषधले व्यक्तिको शारीरिक, मानसिक, पारिवारिक तथा सामाजिक जीवनमा गम्भीर असर पार्ने बताउँदै विद्यार्थीहरूलाई यस्ता कुलतबाट टाढा रहन आग्रह गर्नुभयो। पुनले लागुऔषध प्रयोगको सुरुवात प्रायः साथीभाइको दबाब, जिज्ञासा वा गलत संगतबाट हुने भएकाले सही साथी छनोट गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले जीवनमा सकारात्मक सोच, लक्ष्य निर्धारण र अनुशासित जीवनशैली अपनाउन सके लागुऔषधको जोखिमबाट बच्न सकिने बताउनुभयो।

त्यसैगरी इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी सहायक निरीक्षक यम विकले साइबर अपराध, अनलाइन ठगी तथा सामाजिक सञ्जालको सुरक्षित प्रयोगका विषयमा प्रशिक्षण दिनुभयो। उहाँले प्रविधिको विकाससँगै साइबर अपराधका घटनाहरू पनि बढ्दै गएको बताउँदै विद्यार्थीहरूलाई ह्वाटसव, फेसबुक, टिकटक, इन्स्टाग्राम लगायतका सामाजिक सञ्जाल प्रयोग गर्दा विशेष सावधानी अपनाउन सुझाव दिनुभयो। प्रहरी सहायक निरीक्षक विकले अपरिचित व्यक्तिसँग व्यक्तिगत जानकारी साझा नगर्न, शंकास्पद लिंक नखोल्न, बलियो पासवर्ड प्रयोग गर्न तथा अनलाइन माध्यमबाट हुने ठगीबारे सचेत रहन आग्रह गर्नुभयो। साइबर अपराधका कारण आर्थिक तथा मानसिक क्षति हुने भएकाले डिजिटल साक्षरता र सचेतना अत्यन्त आवश्यक रहेको उहाँको भनाइ थियो।

त्यस्तै कार्यक्रममा अस्थायी ट्राफिक प्रहरी पोष्ट भालुवाङका प्रमुख तथा प्रहरी वरिष्ठ नायव निरीक्षक प्रेम प्रसाद पोख्रेलले ट्राफिक नियम सम्बन्धी प्रशिक्षण दिनुभयो। उहाँले सडक सुरक्षा सबैको साझा जिम्मेवारी भएको उल्लेख गर्दै ट्राफिक नियमको पालना नगर्दा हुने दुर्घटनाका उदाहरण प्रस्तुत गर्नुभयो। पोख्रेलले मोटरसाइकल चालक तथा पछाडि बस्ने दुवैले हेलमेट अनिवार्य रूपमा प्रयोग गर्नुपर्ने, चारपाङ्ग्रे सवारीमा सिटबेल्ट लगाउनुपर्ने तथा पैदल यात्रुले पनि सडक प्रयोगका नियमहरू पालना गर्नुपर्ने बताउनुभयो। उहाँले साना–साना लापरवाहीले ठूलो दुर्घटना निम्त्याउने भएकाले सडकमा हिँड्दा तथा सवारी साधन प्रयोग गर्दा अत्यन्त सावधानी अपनाउनुपर्नेमा जोड दिनुभयो।

 

मञ्चका अनुसार विद्यालयस्तरमा सञ्चालन भइरहेको यो अभियान आगामी दिनमा पनि राप्ती गाउँपालिकाका विभिन्न विद्यालयहरूमा निरन्तर सञ्चालन गरिने छ। समाजमा बढ्दो लागुऔषध दुव्र्यसन, साइबर अपराध र सडक दुर्घटनाका घटनालाई न्यूनीकरण गर्न सचेतना नै सबैभन्दा प्रभावकारी माध्यम भएकाले अभियानलाई थप व्यापक बनाइने मञ्चले जनाएको छ। कार्यक्रममा १ सय ५० भन्दा बढी विद्यार्थीहरूको सहभागिता रहेको थियो। मञ्चका वरिष्ठ उपाध्यक्ष सन्तोष कुमार गुप्ताको स्वागत मन्तव्यबाट सुरू गरेको कार्यक्रमको सञ्चालन महासचिव ओमप्रकाश गुप्ताले गर्नुभएको थियो।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID