
दाङ, १३ बैशाख । दाङको देउखुरीको गढवा गाउँपालिकामा तरबुजा खाने प्रतियोगिता हुने भएको छ । स्थानीय किसानको आयोजनामा देउखुरीस्थित गढवा गाउँपालिका-३ खैरेनीमा बैशाख १५ गते ‘तरबुजा खाने प्रतियोगिता’ हुने भएको हो ।
“आहा गढवा, घुम्न जाऔं गढवा” अभियानअन्तर्गत आयोजना गरिएको प्रतियोगितामा बिजेता हुनेलाई व्यक्तिलाई ७ केजी तरबुजा उपहार स्वरुप प्रदान गरिनेछ । बैशाख १५ गतेलाई तरबुजा दिवस घोषणा गर्ने गरि प्रतियोगिता आयोजना गरिएको “आहा गढवा, घुम्न जाऔं गढवा” अभियानकर्ता टेकेन्द्र रावत क्षेत्रीले जानकारी दिएका छन् । प्रतियोगितामा सहभागी हुन १२० दर्ता शुल्क तोकिएको छ ।
प्रतियोगितामा सहभागीले तरबुजाको रातो भाग छिटो खाने आधारमा विजेता छनोट गरिनेछ । कार्यक्रमले स्थानीय तरबुजा उत्पादनको प्रवर्द्धन, कृषिलाई पर्यटनसँग जोड्ने तथा युवालाई कृषिमा आकर्षित गर्ने लक्ष्य लिएको छ । आयोजकले सबैलाई कार्यक्रममा सहभागी हुन आह्वान गरेको छ ।





