
गढवा, ९ जेठ । दाङ देउखुरीको गढवा गाउँपालिकामा महिला नेतृत्व, भूमिका, कानूनी तथा GESI (लैङ्गिक तथा सामाजिक समावेशीकरण) सम्बन्धी तीन दिने क्षमता विकास तालिम शनिबार देखी गढवामा सुरु भएको छ।
गढवा गाउँपालिका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा सञ्चालन भएको उक्त तालिम जेठ ९ गतेदेखि ११ गतेसम्म गाउँपालिकाको सभाहलमा सञ्चालन हुने भएको छ। तालिममा गाउँ कार्यपालिका सदस्य, वडा सदस्य तथा विभिन्न क्षेत्रका महिला प्रतिनिधिहरूको सहभागिता रहेको छ।
तालिमको उद्घाटन गर्दै कार्यक्रमकी सभाध्यक्ष तथा गढवा गाउँपालिका गाउँ कार्यपालिका सदस्य चन्द्रा केसीले महिलाको नेतृत्व विकास र अधिकारका विषयमा यस्ता तालिम प्रभावकारी हुने बताउनुभयो।
उहंले स्थानीय तहमा महिलाको सहभागिता बढ्दै गएको उल्लेख गर्दै क्षमता अभिवृद्धिबिना प्रभावकारी नेतृत्व सम्भव नहुने धारणा राख्नुभयो।
“महिलाहरूलाई नेतृत्व, कानूनी अधिकार र सामाजिक समावेशीकरणका विषयमा जानकारी दिन यस्ता तालिम आवश्यक छन्। तालिमबाट प्राप्त ज्ञानलाई व्यवहारमा लागू गर्दै महिलाहरू अझ सक्षम र आत्मनिर्भर बन्नुपर्छ।” सभाध्यक्ष केसीले बताउनुभयो।
तालिममा महिला अधिकार, नेतृत्व विकास, कानूनी व्यवस्था, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणका विषयमा सहजीकरण गरिने गढवा गाउँपालिकाले जनाएको छ।
तालिम उद्घाटन कार्यक्रमको सहजीकरण गढवा गाउँपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाकी प्रमुख प्रेरणा चन्दले गर्नु भएको थियो।





