
गढवा, ३ असार। दाङ देउखुरीको गढवा गाउँपालिका वडा नम्बर ७ मा पोषणमैत्री स्थानीय शासन प्रवर्द्धन करेसाबारी तालिम कार्यक्रम सम्पन्न भएको छ। गढवा गाउँपालिकाको कृषि विकास शाखाको आयोजनामा मङ्गलबार उक्त तालिम सञ्चालन गरिएको हो।
सुनौलो हजार दिनका महिला तथा बालबालिकाको पोषण अवस्थामा सुधार ल्याउने, घरघरमा करेसाबारी स्थापना गरी पोषणयुक्त खाद्य पदार्थको उत्पादन र उपभोग प्रवर्द्धन गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको कृषि विकास शाखाले जनाएको छ।
तालिममा पोषण तथा सुनौलो हजार दिनको महत्वबारे जानकारी गराउनुका साथै घरायसी करेसाबारी स्थापना तथा व्यवस्थापन सम्बन्धी सीप विकास, पोषणयुक्त तरकारीको उत्पादन तथा उपभोग वृद्धि, जैविक एवं सुरक्षित तरकारी खेतीलाई प्रोत्साहन तथा पोषणमैत्री स्थानीय शासनका सूचकहरू हासिल गर्न सहयोग पुग्ने विषयमा सहजीकरण गरिएको थियो।
कार्यक्रममा गर्भवती महिला, सुत्केरी महिला, दुई वर्षमुनिका बालबालिकाका आमा तथा पोषण जोखिममा रहेका घरधुरीका सदस्य गरी २५ जनाको सहभागिता रहेको थियो।
कार्यक्रम वडा सदस्य कमला परियारको अध्यक्षतामा सम्पन्न भएको थियो। तालिममा गढवा गाउँपालिका कृषि विकास शाखाकी कृषि अधिकृत निहारिका चौधरी, कृषि विकास सहायक प्राविधिक फुलनदेवी चौधरी, कृषि प्राविधिक हेमराज पुन लगायतको सहभागिता तथा सहजीकरण रहेको थियो।
स्थानीय स्तरमै पोषणयुक्त खाद्य उत्पादन र उपभोगलाई बढावा दिँदै कुपोषण न्यूनीकरणमा टेवा पुर्याउने उद्देश्यका साथ गाउँपालिकाले यस्ता कार्यक्रमलाई निरन्तरता दिएको जनाएको छ।





