बालबालिकाको पोषण अवस्था लेखाजोखा अभियान सञ्चालन, १ हजार १ सय ६१ बालबालिकाको परीक्षण

प्रिया स्मृती गजमेर 

देउखुरी, वैशाख २४ दाङ – लमही नगरपालिकामा सुनौलो हजार दिनका आमा तथा पाँच वर्षमुनिका बालबालिकाको पोषण अवस्थाबारे समुदायस्तरमै लेखाजोखा गर्ने अभियान सञ्चालन भइरहेको छ । बालबालिकामा कुपोषणको अवस्था पहिचान गरी समयमै आवश्यक उपचार तथा परामर्श प्रदान गर्ने उद्देश्यले सञ्चालन गरिएको यो अभियान यही वैशाख १७ गतेदेखि लमहीमा सुरु भएको हो ।

राष्ट्रिय स्तरमै वैशाख १५ गतेदेखि सुरु भएको यो अभियान वैशाख ३० गतेसम्म सञ्चालन हुने तय गरिएको छ । सोही अभियानअन्तर्गत लमही नगरपालिकाले पनि समुदायमै पुगेर पाँच वर्षमुनिका बालबालिकाको पोषण अवस्थाको परीक्षण गरिरहेको जनाएको छ ।

लमही नगरपालिका स्वास्थ्य शाखा प्रमुख नारायण प्रसाद शर्माका अनुसार वैशाख १७ गतेदेखि २४ गतेसम्म नगरपालिकाभित्रका १ हजार १ सय ६१ जना बालबालिकाको पोषण अवस्थाको परीक्षण गरिएको छ । परीक्षणका क्रममा बालबालिकाको तौल मापन, उचाइ जाँच, पाखुराको घेराइ (एमयूएसी) नाप्ने तथा खुट्टा सुन्निएको छ वा छैन भन्ने अवस्थाको परीक्षण गरी कुपोषणको अवस्था पहिचान गरिँदै आएको छ ।

बालबालिकामा देखिन सक्ने कुपोषणको समस्या समयमै पहिचान गर्नु नै अभियानको मुख्य उद्देश्य रहेको प्रमुख शर्माले बताउनु भयो । समुदायमै पुगेर परीक्षण गर्दा अभिभावकलाई सहज हुने र बालबालिकाको वास्तविक अवस्था पनि पहिचान गर्न सकिने भएकाले कार्यक्रम प्रभावकारी बन्दै गएको उहाँको भनाइ छ ।

“बालबालिकाको स्वास्थ्य नै भविष्यको आधार हो । कुपोषणको समस्या समयमै पहिचान गर्न सकियो भने जटिल अवस्था आउन दिँदैन । त्यसैले समुदायस्तरमै पुगेर हामीले यो अभियान सञ्चालन गरिरहेका छौं,” स्वास्थ्य शाखा प्रमुख शर्माले भन्नुभयो ।

हालसम्म लमही नगरपालिका वडा नम्बर १, २, ३, ६ र ७ मा अभियान सम्पन्न भइसकेको छ भने वडा नम्बर ४, ५, ८ र ९ मा कार्यक्रम सञ्चालन भइरहेको छ । स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकाहरू समुदायमै पुगेर बालबालिकाको स्वास्थ्य परीक्षण गरिरहेका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय दाङले चालु आर्थिक वर्षका लागि लमही नगरपालिकालाई ४ हजार ७२ जना बालबालिकाको पोषण अवस्था पहिचान गर्ने लक्ष्य दिएको छ । तर लमहीमा कार्यक्रम निर्धारित समयभन्दा दुई दिन ढिलो सुरु भएकाले लक्ष्य पूरा गर्न केही चुनौती देखिएको स्वास्थ्य शाखाले जनाएको छ ।

“हाम्रो पालिकामा कार्यक्रम दुई दिन ढिलो सुरु भएको हो । त्यसैले जिल्लाले दिएको पूर्ण लक्ष्य हासिल गर्न केही कठिनाइ हुन सक्छ तर अझै केही दिन बाँकी रहेकाले हामीले करिब ६० प्रतिशतसम्म प्रगति गर्ने अपेक्षा गरेका छौं,” शर्माले बताउनुभयो ।

नगरपालिकाले अभिभावकहरूलाई आफ्ना पाँच वर्षमुनिका बालबालिकालाई अनिवार्य रूपमा परीक्षणमा सहभागी गराउन आग्रह गरेको छ । बालबालिकाको समुचित पोषण, स्वस्थ वृद्धि र उज्ज्वल भविष्य सुनिश्चित गर्न यस्ता अभियान महत्वपूर्ण हुने स्वास्थ्यकर्मीहरूको भनाइ छ ।स्थानीय तहमा सञ्चालन भइरहेको यस्तो अभियानले बाल कुपोषण न्यूनीकरणमा टेवा पुर्‍याउने विश्वास गरिएको छ ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID