
गढवा,२१ वैशाख। गढवा गाउँपालिकामा “बाल संरक्षण नीति–२०८३” को पहिलो मस्यौदामाथि छलफल कार्यक्रम सम्पन्न भएको छ। गढवा गाउँपालिकाको आयोजना तथा ब्याकवार्ड सोसाइटी एजुकेशन (बेस) को समन्वयमा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पौड्याल, वडा नम्बर ५ का वडाध्यक्ष लेख बहादुर थापा, विभिन्न शाखाका प्रमुखहरू लगायत सरोकारवालाहरूको सहभागिता रहेको थियो।
कार्यक्रमका क्रममा अधिवक्ता तथा बेस संस्थाका बाल संरक्षण नीति निर्माण परामर्शदाता हल्लु प्रसाद चौधरी र “बालबालिकाको लागि न्यायमा पहुँच” कार्यक्रमका लुम्बिनी प्रदेश संयोजक नर बहादुर चौधरीले बाल संरक्षण नीति–२०८३ को पहिलो मस्यौदा प्रस्तुत गर्नुभएको थियो। प्रस्तुत मस्यौदामा बालअधिकार संरक्षण, बालमैत्री वातावरण निर्माण, जोखिममा रहेका बालबालिकाको संरक्षण तथा समग्र बाल कल्याणका विषयहरू समेटिएको बताइएको छ।
कार्यक्रमको सहजीकरण गढवा गाउँपालिका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाकी प्रमुख प्रेरणा चन्दले गर्नुभएको थियो। सहभागीहरूले मस्यौदामाथि सुझाव राख्दै प्रभावकारी कार्यान्वयनका लागि स्थानीय आवश्यकता अनुसार नीति परिमार्जन गर्नुपर्नेमा जोड दिएका थिए।





