
दाङ, बैशाख २८ । घोराही उपभोक्ता तथा सरसफाई संस्थाको निर्वाचन स्थानीय र संघको निर्वाचन जस्तै गरी सम्पन्न भएको छ । घोराही खानेपानीको निर्वाचन यस पटक अनौंठो पारामा सम्पन्न भएको छ । निर्वाचनमा ध्रुब केसीको प्यानल महिला उपाध्यक्ष बाहेक सबै पदमा बिजयी भएको छ । ध्रुबको प्यानलाई नेपाली कांग्रेस, नेकपा एमाले र राष्ट्रिय जनमोर्चाले आधिकारिकरुपमा समर्थन गरेका थिए । केसीको प्यानललाई एमालेले आफ्ना सबै उमेदवारलाई उमेदवारी फिर्ता लिन लगाएर पत्रकार सम्मेलन नै गरेर समर्थन गरेको थियो । खानेपानीमा केसी प्यानलकै वरिष्ठ उपाध्यक्षमा भरतमणि पाण्डेय, सचिवमा धमेन्द्र श्रेष्ठ, कोषाध्यक्षमा टिकाराम वली, सदस्यहरुमा चूर्णबहार वली, नवीन पोख्रेल र निरज कार्की, महिला सदस्यमा बिन्दु पाण्डेय, उषा सुवेदी र रेखा पाण्डेय बिजयी हुनु भएको छ ।
यसैगरी महिला उपाध्यक्षमा स्वतन्त्र उमेदवार खुमा खड्गा बिजयी हुनु भएको छ । उहाँलाई कुनै पनि राजनीतिक दलका नेताहरुले औपचारिकरुपमा सामाजिक सञ्जालमा समर्थन गर्ने वा उहाँको भोट मागेको देखिएन । यस अगाडी समितिको कार्य समितिमा रहेर काम गर्नु भएकी खड्काले केसी प्यानलबाटै उपाध्यक्ष पदमा उमेदवार बन्नु भएकी निरजा पोख्रेललाई पराजीत गर्नु भएको हो । यस पटक सबै भन्दा गजबको कुरा के भयो भने निर्वाचनमा किशोर आचार्यले स्वतन्त्र प्यानल बनाएर उमेदवारी दिएको सुरु मा प्रचार गरिएपछि उहाँको प्यानलाई भित्रिरुपमा नेपाल कम्युनिष्ट पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले समर्थन र प्रचार प्रसार गरेको देखियो ।
निर्वाचनकै प्रचारप्रसारकाक्रममा र भोटिङ हुने क्रममा पनि आचार्य प्यानलको लागि यी दुबै दलका समर्थक नेताहरुले खुलेर भोट मागि रहेका थिए । आचार्य प्यानलका लागि त झनै सामाजिक सञ्जाल बाट रास्वपा घोराही नगरका अध्यक्ष शोभाराम खनाल, घोराही–४ का वडाध्यक्ष मधुसुदन घिमिरे मुनाललगायतकाले पनि सामाजिक सञ्जालबाट पुराना दलहरुलाई पाठ पढाउन भन्दै उपभोक्तासँग नयाँलाई बिजयी गराउन अनुरोध सहितका भनाइँहरु पोष्ट गरिएका थिए । रास्वपाको कुनै पनि यस प्रकारको सामाजिक संघसंस्थामा आफ्नो पार्टीबाट उमेदवार बनाउने प्राव्धान छैन । यस्तो हुँदा हुँदै रास्वपाका स्थानीय नेताहरुले खुलेआमा खानेपानीको निर्वाचन अनि विद्यालय व्यवस्थापन समिति गठनको सवालमा दखल गर्ने गरेका छन् । जसको सामाजिक सञ्जालमा चौतर्फी आलोचना हुने गरेको छ ।
‘यदि संघसंस्थाको निर्वाचनमा रास्वपाले उमेदवार नै नबनाउने हो भने किन दखल र हस्तक्षप गर्नु प¥यो ?’, घोराहीका एक दिग्गज व्यक्तिको भन्नु हुन्छ । कतिपय ठाउँमा यस्तै दखल गरेर जितेपछि पुराना दलहरुको बदनाम बनाउने, हारेपछि हामी यसमा सहभागि छैनौं भनेर रास्वपाका स्थानीय नेताहरु पन्छिने गरेको उहाँको भनाइँ छ । घोराही खानेपानीमा आचार्यको प्यानलको बुरी हार हुनुको पछाडी पनि रास्वपाको समर्थनले काम गरेको एक उपभोक्ताले बताए । निर्वाचनका क्रममा बालमन्दिर अगाडी भेटिएका ती उपभोक्ताले संघको निर्वाचनमा घण्टीलाई भोट हालेको भएपनि जितिसकेपछि सरकारले डोजर आतंक लगायत अन्य ठाउँमा समेत अनावश्यक दखल अन्दाजी गरेको उहाँलाई मन परेको रहेनछ ।
यसैले पनि खानेपानीमा पुरानै पार्टीले समर्थन गरेका उमेदवारलाई भोट हालेको उहाँको भनाइँ छ । भोट हाल्न बालमन्दिर आएका अधिकांशले यस्तो गुनासो गरिरहेको सुन्न सकिन्थ्यो । कोषाध्यक्ष पदमा पनि दिनेश आचार्यले एकल उमेदवारी दिएर पनि हालका कोषाध्यक्षको हाराहारीमा त ल्याए । यसको साथै सदस्यमा एकल उमेदवारी दिएका सुरेश खत्रीले पनि आचार्य प्यानलका अन्यलाई उछुनेका छन् । यसले समेत के पुष्टि गर्दछ भने केन्द्रीय सरकारले पछिल्ला दिनहरुमा अगाडी सारेका कदमहरुको प्रत्यक्ष असर स्थानीय स्तरमा हुने गरेका यस प्रकारका निर्वाचन र गतिविधिमा परिरहेको छ ।





