गढवामा मानसिक स्वास्थ्य प्रवर्द्धन तथा आत्महत्या रोकथाम सम्बन्धी अभिमुखीकरण सम्पन्न

आलोक भावुक

गढवा,६ जेठ । दाङ देउखुरीको गढवा गाउँपालिका वडा नं. २ र ३ का २० जना महिला स्वास्थ्य स्वयंसेविकाहरूको सक्रिय सहभागितामा मानसिक स्वास्थ्य प्रवर्द्धन तथा आत्महत्या रोकथाम सम्बन्धी जनचेतनामूलक अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

गढवा गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा गढवा–२ महादेवामा आयोजित कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेविकाहरूको उत्साहजनक सहभागिता रहेको थियो। कार्यक्रममा सहभागीहरूले आफ्नो गाउँ समाजमा देखिएका तथा भोगेका मानसिक स्वास्थ्यसम्बन्धी अनुभवहरू साझा गर्नुका साथै आत्महत्या सम्बन्धी जोखिम संकेत, कारण र रोकथामका उपायबारे खुला छलफल गरेका थिए।

कार्यक्रममा समुदायस्तरमै मानसिक स्वास्थ्यबारे सचेतना अभिवृद्धि गर्ने, समस्या समयमै पहिचान गरी आवश्यक सल्लाह, परामर्श तथा सहयोग उपलब्ध गराउने विषयमा विशेष जोड दिइएको थियो।

त्यसैगरी, महिला स्वास्थ्य स्वयंसेविकाहरूले समुदायमा सेवा प्रदान गर्ने क्रममा भोगेका अनुभव, चुनौती तथा त्यसबाट आफ्नै मानसिक स्वास्थ्यमा परेको प्रभावबारे पनि आत्मीय छलफल गरेका थिए। सेवाका क्रममा सामना गर्नुपरेका भावनात्मक दबाब, तनाव व्यवस्थापन तथा आत्म–हेरचाह (सेल्फ केयर) का उपायबारे विचार आदान–प्रदान गरिएको थियो।

सहभागीहरूले कार्यक्रम अत्यन्त उपयोगी, ज्ञानवर्धक तथा व्यवहारिक भएको प्रतिक्रिया दिँदै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने आवश्यकता औँल्याएका छन्।

कार्यक्रमको सहजीकरण गढवा गाउँपालिका मनोपरामर्शदाता आकार ज्ञवाली गर्नु भएको थियो।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID