
गढवा,२४ वैशाख। सिकल सेल तथा थालासेमिया जस्ता रक्तजन्य वंशानुगत रोगबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले गढवा गाउँपालिका वडा नम्बर ३ मा पालिका स्तरीय अभिमुखीकरण तथा स्क्रिनिङ कार्यक्रम सम्पन्न भएको छ।
लुम्बिनी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय तथा जिल्ला स्वास्थ्य कार्यालय दाङको संयुक्त आयोजना एवं गढवा गाउँपालिकाको समन्वयमा कार्यक्रम सञ्चालन गरिएको हो।
कार्यक्रममा सिकल सेल तथा थालासेमिया रोगको पहिचान, रोकथाम, उपचार प्रक्रिया तथा समयमै परीक्षण गराउनुको महत्वबारे स्वास्थ्यकर्मीहरूले जानकारी गराएका थिए। साथै कार्यक्रममा सहभागीहरूको स्वास्थ्य परीक्षण तथा स्क्रिनिङ समेत गरिएको थियो।
स्वास्थ्यकर्मीहरूले यस्ता रोगहरू वंशानुगत हुने भएकाले समयमै परीक्षण र सचेतना आवश्यक रहेको बताएका थिए। विशेषगरी युवा तथा अभिभावकलाई लक्षित गर्दै रोगको असर, सावधानी अपनाउने उपाय र आवश्यक स्वास्थ्य सेवाबारे जानकारी प्रदान गरिएको थियो।
कार्यक्रममा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा स्थानीयवासीहरूको सहभागिता रहेको थियो। सहभागीहरूले यस्ता जनचेतनामूलक तथा स्वास्थ्य परीक्षण कार्यक्रमले समुदायमा स्वास्थ्य सचेतना बढाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।





