
गढवा, २९ जेठ। दाङ देउखुरीको गढवा गाउँपालिकाले शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले ‘विद्यार्थीसँग अध्यक्ष’ कार्यक्रम सञ्चालन गरेको छ।
गढवा गाउँपालिकाको आयोजना शुक्रबार गढवा २ पचहिया स्थित माध्यमिक विद्यालय पचहियामा विद्यार्थी संग अध्यक्ष कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रम अन्तर्गत मानसिक स्वास्थ्य सचेतना, लागूपदार्थ दुर्व्यसन नियन्त्रण, बालविवाह न्यूनीकरण तथा विद्यार्थीसँग अन्तरक्रिया एवं सुझाव संकलन सत्र सञ्चालन गरिएको थियो।
कार्यक्रममा विद्यार्थीहरूले पठनपाठनका क्रममा भोग्नुपरेका समस्या तथा विद्यालयका आधारभूत आवश्यकतासम्बन्धी सुझावहरू संकलन गरी गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेललाई बुझाएका थिए। विद्यार्थीबाट प्राप्त मागपत्र ग्रहण गर्दै अध्यक्ष पोख्रेलले विद्यालयका आधारभूत आवश्यकतालाई प्राथमिकतामा राखी आगामी बजेट तथा कार्यक्रममा समावेश गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो। अध्यक्ष पोख्रेलले शिक्षाको गुणस्तर सुधारका लागि स्थानीय सरकार, विद्यालय, अभिभावक र विद्यार्थी सबैको साझा प्रयास आवश्यक रहेको बताउँदै विद्यालयबाट प्राप्त सुझाव तथा मागका विषयमा आवश्यक छलफल गरी आगामी नीति तथा कार्यक्रममा समेटिने जानकारी दिनुभयो।
साथै विद्यालयमा अध्यापनरत शिक्षकहरुसंग पनि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। शिक्षामा गुणस्तर सुधारका लागि गाउँपालिकाले सा साना समस्याहरुको पहिचान गरी समाधानको बाटो खोजिरहेको ।
माध्यमिक विद्यालय पचहिया विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ललिता कुमारी चौधरीको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्य तथा शिक्षक अभिभावक संघका संयोजक देवेन्द्र कुमार यादवको विशेष उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो।
सम्पन्न कार्यक्रममा विद्यालयका प्रधानाध्यापक योगनारायण चौधरी, शिक्षक अभिभावक संघका संयोजक देवेन्द्र कुमार यादव ,मनोपरामर्शदाता आकार ज्ञवाली, अन्य शिक्षक तथा मनोपरामर्शदाता सरोकारवालाहरूको सहभागिता रहेको थियो।
कार्यक्रमको सञ्चालन गढवा गाउँपालिका शिक्षा शाखाका हरी पोख्रेलले गर्नुभएको थियो।





