
गढवा,२२ चैत्र । दाङ देउखुरीको गढवा गाउँपालिकाले पूर्ण संस्थागत प्रसूति सेवायुक्त वडा घोषणा गर्ने अभियानअन्तर्गत आवश्यक प्रक्रिया अघि बढाउँदै आएको छ। सोही क्रममा आज पालिका स्तरीय प्रजनन स्वास्थ्य समन्वय समितिद्वारा सुलभ सर्वेक्षण कार्यक्रम सम्पन्न गरिएको छ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरी, स्वास्थ्य अधिकृत द्रोपदा रेग्मी, जनस्वास्थ्य अधिकृत मनिषा गैरे, महिला विकास निरीक्षक प्रेरणा चन्द तथा स्वास्थ्य स्वयंसेविका उषा डाँगी बिसी लगायतको सहभागिता रहेको थियो। सर्वेक्षणमार्फत प्रसूति सेवाको अवस्था, पहुँच र व्यवहारसम्बन्धी तथ्यांक संकलन गरिएको जनाइएको छ।
गाउँपालिकाले ‘शून्य होम डेलिभरी’ लक्ष्यसहित संस्थागत प्रसूति सेवा प्रवर्द्धनका लागि विभिन्न चरणगत कार्यक्रम सञ्चालन गर्दै आएको छ। सोही अभियानअन्तर्गत पहिलो चरणमा वडा नम्बर ५ लाई पूर्ण संस्थागत प्रसूति सेवायुक्त वडा घोषणा गर्ने तयारी गरिएको गाउँपालिकाले जनाएको छ।
निर्धारित मापदण्डअनुसार प्रसूति भएका घरधुरीमध्ये १५ प्रतिशतमा सुलभ सर्वेक्षण गर्नुपर्ने व्यवस्था अनुरूप आज उक्त सर्वेक्षण गरिएको हो। वडा नम्बर ५ मा तथ्यांक संकलन सुरु भएदेखि हालसम्म ९० जना महिलाले प्रसूति गरेको तथ्यांक रहेको गढवा गाउँपालिका जनस्वास्थ्य अधिकृत मनिषा गैरेले जानकारी दिनुभयो।
गाउँपालिकाले मातृ तथा शिशु मृत्युदर न्यूनीकरण र सुरक्षित प्रसूति सुनिश्चित गर्न स्वास्थ्य संस्थामै प्रसूति गराउने अभियानलाई थप प्रभावकारी बनाउँदै लैजाने हिसावले कार्यक्रम अघि बढाएको गाउँपालिका उपाध्यक्ष शारदाकुमारी चौधरीले जानकारी दिनुभयो।




