गढवामा सामाजिक सुरक्षा सम्बन्धी जनप्रतिनिधि, सचिव र सरोकारवालाहरु बिच अन्तरक्रिया

आलोक भावुक

गढवा,२३ चैत्र। गढवा गाउँपालिका मा जनप्रतिनिधि, वडा सचिव तथा सरोकारवालाबीच सामाजिक सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। मंगलबार आयोजित कार्यक्रममा सामाजिक सुरक्षा व्यवस्थापन, घटना दर्ता तथा सेवा प्रवाहका विविध पक्षमा छलफल गरिएको हो।

गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल को अध्यक्षतामा सम्पन्न कार्यक्रममा सामाजिक सुरक्षा भत्ताको मासिक दररेट, त्रैमासिक वितरण प्रक्रिया, तथा आगामी वैशाख १ देखि ७ गतेसम्म सञ्चालन हुने दर्ता सप्ताहलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो। साथै वडा स्तरमा सेवा प्रवाहका क्रममा देखिएका समस्या, चुनौती र जनगुनासोबारे पनि समीक्षा गरिएको थियो।

कार्यक्रममा बोल्दै पालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले सेवा प्रवाहका क्रममा आउने दबाब र चुनौतीका बीच पनि नागरिकलाई सहज सेवा दिनुपर्नेमा जोड दिँदै जटिल विषयबाट पन्छिन नहुने बताउनुभयो। उहांले समस्यालाई समाधानमुखी ढंगले हेरी जिम्मेवारीपूर्वक काम गर्न सचिवहरूलाई आग्रह समेत गर्नुभयो।

निमित्त प्रमुख प्रशासकीय अधिकृत खिमलाल ओलीले समयमै लगत कट्टा नगर्दा समस्या उत्पन्न हुने भन्दै मृत्यु दर्ता तथा लगत कट्टा प्रक्रियालाई समयमै सम्पन्न गर्नुपर्ने बताउनुभयो। उहांले दर्ता सप्ताह सफल बनाउन सबै पक्षको सक्रियता आवश्यक रहेको उल्लेख समेत गर्नुभयो।

वडा नं. ६ का अध्यक्ष वीर बहादुर आले मगरले पञ्जीकरण र वडा सचिवलाई काम गर्न सहज वातावरण नभएको उल्लेख गर्दै जन्मदर्ता र विवाह दर्ता सम्बन्धी प्रक्रियामा देखिएका जटिलताले समस्या निम्त्याएको बताउनुभयो।

त्यस्तै वडा नं. ५ का अध्यक्ष लेखराज थापाले कार्यसम्पादनका क्रममा सचिवहरू सचेत र जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो। उहांले जटिल प्रकृतिका विषयमा आवश्यक प्रक्रिया पूरा गरी मात्र निर्णय लिन सुझाव दिनुभयो।

कार्यक्रमको सहजीकरण गाउँपालिकाका पञ्जीकरण शाखा प्रमुख ऋषिराम यादव ले गर्नु भएको थियो।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID