गढवामा कुपोषण पहिचानका लागि खोजपड्ताल अभियान जारी, ३ बालबालिकामा मध्यम कुपोषण भेटियो

आलोक भावुक

गढवा,२२ वैशाख। राष्ट्रिय पोषण कार्यक्रम अन्तर्गत गढवा गाउँपालिकामा ६ महिना देखि ५९ महिना सम्म उमेरका बालबालिकामा कुपोषण पहिचानका लागि खोजपड्ताल कार्यक्रम सुरु गरिएको छ। बैशाख १६ गतेदेखि ३० गतेसम्म सञ्चालन हुने उक्त कार्यक्रम गाउँपालिकाका आठ वटै वडामा एकैसाथ सञ्चालन भइरहेको छ।

गाउँपालिकाको आयोजनामा सञ्चालन भइरहेको यस अभियान अन्तर्गत हालसम्म १०१ जना बालबालिकामा परीक्षण गरिएकोमा ३ जना बालबालिकामा मध्यम सिघ्र कुपोषण (Moderate Acute Malnutrition) देखिएको छ। अन्य बालबालिकाको अवस्था सामान्य रहेको गढवा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख कैलाश चन्द्र चौधरीले जानकारी दिनुभयो।

गढवा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख कैलाश चन्द्र चौधरीका अनुसार यस कार्यक्रमको मुख्य उद्देश्य कुपोषित बालबालिकाको समयमै पहिचान गरी आवश्यक उपचार तथा परामर्श उपलब्ध गराउनु हो।

उहांले भन्नुभयो, “बालबालिकाको स्वास्थ्य अवस्था सुधार गर्न प्रारम्भिक चरणमै कुपोषण पहिचान गर्नु अत्यन्त आवश्यक हुन्छ। यस अभियानमार्फत जोखिममा रहेका बालबालिकालाई समयमै उपचारको दायरामा ल्याउन सहयोग पुग्नेछ।”

उहाँले अभिभावकलाई आफ्ना बालबालिकालाई अनिवार्य रूपमा स्वास्थ्य परीक्षणमा सहभागी गराउन आग्रह गर्दै पोषणसम्बन्धी सचेतना बढाउन पनि सबैको सहयोग आवश्यक रहेको बताउनुभयो।

कार्यक्रम अन्तर्गत स्वास्थ्यकर्मीहरूले घरघरमा पुगेर बालबालिकाको तौल, उचाइ तथा पोषण अवस्था मापन गरिरहेका छन्। साथै अभिभावकलाई सन्तुलित आहार, सरसफाइ तथा बाल हेरचाह सम्बन्धी जानकारी पनि प्रदान गरिँदै आएको छ।

गढवा गाउँपालिकाले आगामी दिनमा पनि बाल स्वास्थ्य सुधारका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

 

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID