
गढवा, १५ वैशाख।“बालबालिकामा लगानी : समृद्ध भविष्यको थालनी” भन्ने मूल नाराका साथ दाङ देउखुरीको गढवा गाउँपालिका वडा नम्बर ३ गोबरडिहामा बाल क्लबका पदाधिकारीहरुका लागि २ दिने क्षमता विकास तालिम सुरु भएको छ।
तालिमको उद्घाटन गर्दै वडा नम्बर ३ का वडाध्यक्ष तुलसीराम अधिकारीले बालबालिकाको समग्र विकासका लागि स्थानीय तह गम्भीरतापूर्वक लागिरहेको बताउनुभयो। उहाँले वडा नम्बर ३ लाई बालमैत्री वडा घोषणा गर्न पालिका र वडा कार्यालय निरन्तर सक्रिय रहेको उल्लेख गर्नुभयो।
तालिममा बालमैत्री सम्बन्धी ज्ञान तथा सीप अभिवृद्धि गराउने उद्देश्यले विभिन्न विषयमा सहजीकरण भइरहेको छ। तालिमका प्रशिक्षकका रूपमा बालमैत्री विज्ञ विकिरण गौतम रहनुभएको छ।
उक्त तालिममा वडा भित्रका विभिन्न बाल क्लबका पदाधिकारीहरुको उत्साहजनक सहभागिता रहेको छ। तालिमको उद्घाटन कार्यक्रमको सहजीकरण गढवा गाउँपालिका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाकी प्रमुख प्रेरणा चन्दले गर्नुभएको थियो।
तालिमले बालबालिकाको नेतृत्व क्षमता विकास, अधिकारबारे सचेतना अभिवृद्धि तथा बालमैत्री वातावरण निर्माणमा टेवा पुग्ने अपेक्षा गरिएको छ।





