
गढवा, १२ जेठ । दाङ देउखुरीको गढवा गाउँपालिका वडा नम्बर ३ मा बाली उपचार तथा माटो परीक्षण घुम्ती शिविर कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रम तुल्सीराम अधिकारीको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा बोल्दै वडाध्यक्ष अधिकारीले किसानलाई आधुनिक कृषि प्रविधिसँग जोड्दै माटो परीक्षणका आधारमा खेती गर्न आवश्यक रहेको बताउनुभयो। उहाँले माटोको अवस्था पहिचान गरेर मात्रै उपयुक्त मल तथा बाली व्यवस्थापन गर्न सकिने भएकाले यस्ता घुम्ती शिविरले किसानलाई प्रत्यक्ष लाभ पुगेको उल्लेख गर्नुभयो।
घुम्ती शिविरमा ३१ जना किसानको माटो परीक्षण गरिएको थियो भने ७ जना किसानको कृषि बालीमा देखिएका समस्या पहिचान गरी समाधानका लागि आवश्यक सुझाव प्रदान गरिएको थियो।
फुलन देवी चौधरीले परीक्षणका क्रममा अधिकांश माटो हल्का क्षरिय प्रकृतिको रहेको जानकारी दिनुभयो। उहाँका अनुसार परीक्षण गरिएका माटोमा नाइट्रोजनको अवस्था कम, फस्फोरसको अवस्था मध्यम तथा पोटासको अवस्था कम पाइएको छ। माटोको अवस्था अनुसार सन्तुलित मल प्रयोग तथा प्राविधिक सुझाव अपनाउन किसानलाई आग्रह गरिएको उहाँले बताउनुभयो।
कार्यक्रममा ३ नं. वडा सदस्य आशाराम चौधरी बिमल कुमार चौधरी, प्रमिला नेपाली पशु प्राविधिक शरण कुमार चौधरी, वडा सचिव शिवकुमार चौधरी लगायत रहनुभएको थियो। निहारीका चौधरी, हेमराज पुन, स्थानीय किसान तथा सरोकारवालाहरुको सहभागिता रहेको थियो ।प्रशिक्षकको रुपमा शुबास यादव रहनु भएको थियो।





