सार्वजनिक सुनुवाइपछिको कार्यप्रगति सार्वजनिक, लमहीमा पत्रकारसँग अन्तरक्रिया

आलोक भावुक

लमही,९  चैत। लमही नगरपालिका ले सार्वजनिक बगैंचामा सम्पन्न सार्वजनिक सुनुवाइ कार्यक्रममा नगरबासीबाट उठेका सवाल तथा जिज्ञासापछि नगरपालिकाले गरेका महत्वपूर्ण काम र कार्यान्वयनको चरणमा रहेका योजनाहरूको प्रगति आइतबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ।
पत्रकारसँगको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा नगरप्रमुख जोख राज चौधरी ले सार्वजनिक सुनुवाइमा विभिन्न तह–तप्काबाट उठाइएका सवालहरूलाई सम्बोधन गर्ने प्रयास गरिएको बताउनुभयो। उहाँले सुशासन, सेवा प्रवाह, राजस्व व्यवस्थापन, सरसफाइ तथा वातावरण, पूर्वाधार विकास, खेलकुद तथा युवा विकास, सामाजिक तथा सामुदायिक विकास र स्वास्थ्य तथा व्यवसाय व्यवस्थापनलगायतका क्षेत्रमा भएका प्रगति बुँदागत रूपमा प्रस्तुत गर्नुभयो।
सुशासन तथा सेवा प्रवाहतर्फ नगरप्रमुख चौधरीले “श्री आम लमही नगरबासीज्यू” भनेर सम्बोधन गर्ने परिपाटीको सुरुवात गरिएको, वडाबाट घरदैलोमै सेवा दिने अभियान अघि बढाइएको तथा “आजको काम आजै” भन्ने नारासहित सेवा प्रवाहलाई छिटो, सरल र प्रभावकारी बनाउने पहल गरिएको जानकारी दिनुभयो। साथै, क्यूआर कोडमार्फत भुक्तानी प्रणाली लागू गरी सेवाप्रवाहलाई प्रविधिमैत्री बनाइएको उहाँले उल्लेख गर्नुभयो।
राजस्व व्यवस्थापनतर्फ नगरपालिकाले गुम्ती शिविरमार्फत कर संकलनलाई तीव्रता दिएको जनाउँदै देउखुरी उद्योग वाणिज्य सङ्घ र लमही चेम्बर अफ कमर्स को सहकार्यमा उल्लेखनीय राजस्व संकलन भएको जानकारी दिनुभयो। आर्थिक वर्ष २०८१/८२ चैत ९ गतेसम्म करिब २ करोड ९८ लाखभन्दा बढी राजस्व संकलन भएकोमा चालु आर्थिक वर्ष २०८२/८३ सोही अवधिसम्म करिब ४ करोड ८८ लाखभन्दा बढी राजस्व संकलन भएको उहाँले बताउनुभयो।
पूर्वाधार विकासतर्फ २०८२ चैत ७ गतेदेखि ‘सूत्र प्रणाली’ लागू गरिएको जानकारी दिँदै नगरपालिकाले विकास निर्माणका कामलाई व्यवस्थित बनाउने प्रयास गरेको उल्लेख गर्नुभयो। साथै नदीजन्य पदार्थको अनुगमन तथा नियन्त्रणमा खटिने टोल विकास संस्था, युवा क्लब र आमा समूहलाई उठेको रकमबाट १० प्रतिशत प्रोत्साहन दिने निर्णय गरिएको जानकारी समेत दिनुभयो।
सामाजिक तथा सामुदायिक विकासतर्फ उत्कृष्ट कार्य गर्ने टोल विकास संस्थालाई पुरस्कार तथा प्रोत्साहन अनुदान दिने कार्यक्रम सञ्चालन गरिएको छ। प्रथम हुनेलाई ५० हजार, दोस्रोलाई ३५ हजार र तेस्रोलाई २५ हजार रुपैयाँ प्रदान गरिने व्यवस्था गरिएको नगरप्रमुखले जानकारी दिनुभयो। साथै मादक पदार्थ सेवन नियन्त्रणका लागि अस्थायी ट्राफिक प्रहरी पोस्टलाई ब्रेथलाइजर मेसिन उपलब्ध गराइएको पनि उल्लेख गर्नुभयो।
स्वास्थ्य तथा सामाजिक सुरक्षातर्फ मृगौला तथा सिकल सेल एनिमियाबाट पीडित बिरामीहरूलाई रगत चढाउँदा लाग्ने खर्च नेपाल रेडक्रस सोसाइटी मार्फत नगरपालिकाले व्यहोर्ने निर्णय गरिएको जानकारी दिइएको छ।
कार्यक्रममा प्रस्तुत योजनाहरूबारे पत्रकारहरूले राखेका जिज्ञासामा नगरप्रमुख चौधरी, उपप्रमुख लक्ष्मी योगी र प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डाँगी ले पालैपालो जवाफ दिनुभएको थियो।
नगरप्रमुख चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ का केन्द्रीय सदस्य लिला शाह, नेपाल टेलिभिजन का दशरथ घिमिरे, गोरखापत्र का दिवाकर पोख्रेल लगायत विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकार, स्वास्थ्यकर्मी तथा नगरपालिकाका शाखा प्रमुखहरूको सहभागिता रहेको थियो।
कार्यक्रमको सुरुवात प्रमुख प्रशासकीय अधिकृत डाँगीको स्वागत मन्तव्यबाट भएको थियो भने सञ्चालन नगरपालिकाका प्रेस संयोजक प्रिया स्मृती गजमेरले गर्नुभएको थियो।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID