घोराही बनाऔं अभियान : सुशासन, समृद्धि र विकासको स्थानीय आवाज

किरण रोका

दाङ,२ चैत्र । घोराही उपमहानगरपालिका, दाङ जिल्लाको सबैभन्दा ठूलो क्षेत्रफल र जनसंख्या भएको उपमहानगर हो । यो शहर हरित नगरको रूपमा चिनिन्छ, तर वास्तविकतामा पूर्वाधार, स्वास्थ्य, शिक्षा, यातायात र सुशासनका क्षेत्रमा अझै धेरै चुनौतीहरू छन् । यस्तो पृष्ठभूमिमा २०८० सालमा पत्रकार, साहित्यकार तथा समाजसेवी सविन प्रियासनको अगुवाइमा सुरु भएको घोराही बनाऔं अभियान एक लुज फोरमको रूपमा उदय भएको छ । यतिबेला घोराही बनाऔं अभियान सञ्चार माध्यम अनि सामाजिक सञ्जालमा व्यापक भाइरल बनेको छ । भाइरल यो मानेमा बनेको छ कि यसले दिनदिनै समाजका लागि चाहिने विषय बस्तुहरुको उठान गरिरहेको छ । जसले गर्दा घोराही बनाऔं अभियान समाचारको विषय बनेको छ । यसका लागि पनि अभियान कर्मीहरु धन्यवादको पात्र हुनुहुन्छ ।

यो अभियान कुनै राजनीतिक दल वा विचारधारासँग बाँधिएको छैन । यसमा सबै पक्षका व्यक्ति, युवा, महिला,

पत्रकार, खेलाडी, उपभोक्ता संरक्षणकर्ता, स्थानीय अगुवाहरूको सहभागिता छ । मुख्य उद्देश्य घोराहीमा सुशासन, समृद्धि र विकासको पक्षमा निरन्तर आवाज उठाउने, समस्या पहिचान गर्ने, गाउँ–गाउँसम्म पुगेर स्थानीय आवाज बुलन्द गर्ने र सम्बन्धित निकायलाई ध्यानाकर्षण गराई दबाब दिने हो ।

सविन प्रियासन विगतदेखि नै दाङको सामाजिक, साहित्यिक र पत्रकारिताको क्षेत्रमा सक्रिय छन् । उनी नेपाल पत्रकार महासंघ दाङका पूर्वअध्यक्ष, हाल केन्द्रीय सचिव तथा विभिन्न सामाजिक क्लबहरूमा नेतृत्वदायी भूमिकामा रहेका छन् । मिलनचोक युवा क्लबबाट सुरु भएको उनको सामाजिक यात्रा घोराही बनाऔं अभियानमा पुग्दा झन् व्यापक र

प्रभावकारी बनेको छ । यो अभियानले बजार क्षेत्रमात्र नभई गाउँ–गाउँमा पुगेर काम गरिरहेको छ । यसले समाजलाई जागरुक बनाउने, विकास निर्माणमा ढिलासुस्ती विरुद्ध आवाज उठाउने र निष्पक्ष ढंगबाट कार्य गर्ने उदाहरण प्रस्तुत गरेको छ ।

अभियानका प्रमुख क्रियाकलापहरू हेर्दा यसको प्रभाव स्पष्ट देखिन्छ ।

उदाहरणका लागि, घोराही–तुलसीपुर

फोरलेन सडक निर्माणमा ढिलाइ भएपछि अभियानको टोली डिभिजन सडक कार्यालय पुगेर ज्ञापनपत्र बुझाएको थियो । संयोजक प्रियासनको नेतृत्वमा गएको टोलीले काम द्रुत गतिमा अघि बढाउन माग गरेको

थियो । यो सडक दाङबासीको दैनिकी र अर्थतन्त्रसँग जोडिएको छ । ढिलाइले दुर्घटना बढाएको, ढुवानी महँगो भएको र आवतजावत कठिन भएको गुनासो बढ्दै गएपछि अभियानले तत्काल ध्यानाकर्षण गराएको हो ।

अर्को महत्वपूर्ण उदाहरण हो सर्रामा रहेको बाल अस्पतालको संरक्षण र

सञ्चालन । अभियानले स्थलगत अनुगमन गरी जिल्ला प्रशासन कार्यालय र अस्पताल पदाधिकारीलाई ज्ञापनपत्र बुझाएको छ । बाल स्वास्थ्य सेवा प्रभावकारी बनाउन यो अस्पताललाई जीवित राख्नुपर्ने माग गरेको छ । यसले देखाउँछ कि अभियानले स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा पनि सक्रियता देखाएको छ ।

त्यसैगरी, घोराहीमा यातायात कार्यालय खोल्ने माग पनि अभियानले उठाएको छ । सवारी साधनको लाइसेन्स नवीकरण, बिलबुक राजस्व तिर्न घोराहीबाट तुलसीपुर वा बुटवल जानुपर्ने समस्या छ । यो मागले स्थानीय सुविधा बढाउने र समय तथा खर्च बचत गर्ने लक्ष्य राखेको छ ।

अभियानले गाउँ–गाउँका समस्या पनि सुनेको छ । उदाहरणस्वरूप, हापुर बसन्तपुर क्षेत्रमा खानेपानीको समस्या बुझ्न टोली पुगेको थियो । गोग्लीमा नगर अस्पतालको भवन निर्माण समयमै सम्पन्न गर्न दबाब दिएको छ । मैत्रीपूर्ण महिला खेलकुद प्रतियोगिता आयोजना गरी खेल मैदान सफाइ अभियान चलाइएको छ । यी क्रियाकलापहरूले अभियानलाई खेल, स्वास्थ्य, पूर्वाधार र वातावरणसँग जोडेको छ ।

एक वर्षअघि विद्यालय छोडेकी वर्षा नामकी बालिकालाई अभियानको पहलमा पुनः विद्यालय फर्काइएको छ । विभिन्न सहयोगी हातहरूको साथमा यो सफलता प्राप्त भएको थियो । यसले अभियानको सामाजिक संवेदनशीलता झल्काउँछ ।

यी उदाहरणहरूले घोराही बनाऔं अभियान कुनै सतही गुनासो मात्र नभई रचनात्मक र निरन्तर प्रयास भएको प्रमाणित गर्छ । यो अभियानले देखाएको छ कि निष्पक्ष र समावेशी ढंगबाट काम गर्दा समाजमा परिवर्तन सम्भव छ । नेपालमा सुशासन र विकासका अभियानहरू प्रायः राजनीतिक रंग लगाइन्छन्, तर यो अभियानले सबैलाई समेटेर काम गरेको छ । यसले घोराही उपमहानगरलाई समावेशी, हरित, स्मार्ट र सुशासनयुक्त बनाउने सपना देखाएको छ ।

यस्ता अभियानको महत्व अझ बढी छ किनकि नेपालमा स्थानीय तहहरूले विकासको जिम्मेवारी पाए पनि कार्यान्वयनमा कमजोरी छ । सुशासन

(व्यवस्थापन तथा सञ्चालन) ऐन २०६४ ले पारदर्शिता, जवाफदेहिता र

प्रभावकारिताको कुरा गर्छ, तर व्यवहारमा लागू हुन सकेको छैन । घोराही बनाऔं अभियानले जनसहभागितामार्फत यो कमी पूर्ति गर्ने प्रयास गरेको छ । यदि यस्ता अभियान सबै पालिकामा सञ्चालन हुन सके भने नेपालको स्थानीय विकास फरक ढंगबाट अगाडि बढ्न सक्छ । उदाहरणका लागि, काठमाडौंमा विभिन्न नागरिक समाजका अभियानहरूले फोहोर व्यवस्थापन, ट्राफिक सुधारमा योगदान दिएका छन् । तर घोराही जस्तो ठूलो उपमहानगरमा यो अभियानले मोडल बन्न सक्छ ।

अभियानको सफलताका लागि चुनौतीहरू पनि छन् । राजनीतिक हस्तक्षेप, बजेट अभाव, ठेकेदारको ढिलासुस्ती र जनचेतनाको कमी मुख्य छन् । तर प्रियासनको नेतृत्व र टोलीको समर्पणले यी चुनौतीहरू पार गर्न सकिन्छ भन्ने विश्वास छ । घोराही बनाऔं अभियान समाज बदल्ने हुटहुटी बोकेर अगाडि बढेको छ । यसले घोराहीलाई नेपालकै नमुना पालिका बनाउने लक्ष्य राखेको छ । यो अभियानलाई सबैले साथ दिनुपर्छ । स्थानीय सरकार, राजनीतिक दल, नागरिक समाज र युवाहरूले यसलाई अपनत्व ग्रहण गरेर अघि बढाउनुपर्छ ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID