
गढवा, २८ फागुन। गढवा गाउँपालिकाको स्थापना दिवसको अवसरमा आयोजित चौथो पालिका स्तरीय खेलकुद प्रतियोगिता २०८२ अन्तर्गत दोस्रो दिनका खेलहरू उत्साहपूर्ण रूपमा सम्पन्न भएका छन्। प्रतियोगितामा गाउँपालिकाका विभिन्न वडाबाट सहभागी खेल टोलीहरूले उल्लेखनीय सहभागिता जनाएका छन्।
फागुन २८ गते सम्पन्न क्रिकेट खेलतर्फ, वडा नम्बर ३ र वडा नम्बर ४ बीच भएको खेलमा वडा नम्बर ३ ले ८४ रनको लक्ष्य दिएको थियो। जवाफमा वडा नम्बर ४ ले ६ विकेटको सहज जित हासिल गरेको छ। त्यसैगरी वडा नम्बर ५ र वडा नम्बर ६ बीचको खेलमा वडा नम्बर ६ ले ६० रनको लक्ष्य दिएको थियो भने वडा नम्बर ५ ले ५ विकेटले खेल जितेको छ। वडा नम्बर १ र वडा नम्बर ७ बीच भएको खेलमा वडा नम्बर ७ ले ९९ रनको लक्ष्य दिएको भए पनि वडा नम्बर १ ले ५ विकेटले खेल आफ्नो पक्षमा पारेको छ। त्यसैगरी वडा नम्बर १ र वडा नम्बर ६ बीचको खेलमा वडा नम्बर १ ले ४२ रनको लक्ष्य दिएको थियो, जसलाई वडा नम्बर ६ ले ९ विकेटले सहज रूपमा पूरा गर्दै जित हासिल गरेको हो।
क्रिकेटतर्फ फागुन २९ गते बिहान ८ बजेदेखि सेमिफाइनलका खेल सञ्चालन हुनेछन्। पहिलो सेमिफाइनल खेल वडा नम्बर ५ र वडा नम्बर ६ बीच हुनेछ भने दोस्रो सेमिफाइनल बिहान १०ः३० बजेदेखि वडा नम्बर ३ र वडा नम्बर ४ बीच हुने भएको खेलकुद व्यवस्थापन तथा सञ्चालन उप–समितिका संयोजक तथा वडा नम्बर ५ का वडाध्यक्ष लेख बहादुर थापाले जानकारी दिनुभयो।
त्यसैगरी पुरुष फुटबल खेलतर्फ वडा नम्बर ७ र वडा नम्बर ५ बीचको खेल १–१ गोलको बराबरीमा सकिएको छ र दुबै टोलीले १–१ अंक जोडेका छन्। वडा नम्बर १ र वडा नम्बर ६ बीचको खेल पनि १–१ गोलको बराबरीमा सकिएको छ। वडा नम्बर २ र वडा नम्बर ७ बीच भएको खेलमा वडा नम्बर २ ले ६ गोल गर्दै प्रभावशाली जित हासिल गरेको छ भने वडा नम्बर ७ ले १ गोल गरेको थियो। त्यसैगरी आजको अन्तिम खेलमा वडा नम्बर ४ र वडा नम्बर ५ बीच भएको प्रतिस्पर्धात्मक खेलमा वडा नम्बर ५ ले ५–२ गोलले जित हात पारेको छ। फुटबलतर्फ वडा नम्बर २ एक खेल बाँकी रहँदै सेमिफाइनलमा प्रवेश गरेको छ।
फुटबलतर्फ फागुन २९ गते हुने खेलहरूमा वडा नम्बर १ र वडा नम्बर ३ बीच पहिलो खेल, वडा नम्बर ७ र वडा नम्बर ४ बीच दोस्रो खेल, वडा नम्बर २ र वडा नम्बर ५ बीच तेस्रो खेल तथा वडा नम्बर ६ र वडा नम्बर ३ बीच चौथो खेल हुनेछन्।
त्यसैगरी पुरुष भलिबल खेलतर्फ फागुन २९ गते वडा नम्बर ४ र वडा नम्बर २ बीच पहिलो खेल, वडा नम्बर ६ र वडा नम्बर ७ बीच दोस्रो खेल तथा वडा नम्बर १ र वडा नम्बर २ बीच तेस्रो खेल हुने कार्यक्रम रहेको छ।
आज सम्पन्न महिला भलिबल खेलतर्फ वडा नम्बर ७ र वडा नम्बर ३ बीच भएको खेलमा वडा नम्बर ३ ले सहज जित हासिल गरेको छ भने वडा नम्बर २ र वडा नम्बर ४ बीचको खेलमा वडा नम्बर ४ विजयी भएको छ। वडा नम्बर ३ र वडा नम्बर ६ बीचको खेलमा वडा नम्बर ३ विजयी भएको छ भने वडा नम्बर ६ र वडा नम्बर ४ बीचको खेलमा वडा नम्बर ४ ले जित हात पारेको छ।
पुरुष भलिबल खेलतर्फ वडा नम्बर १ र वडा नम्बर ४ बीचको खेलमा वडा नम्बर ४ विजयी भएको छ। वडा नम्बर ३ र वडा नम्बर २ बीचको खेलमा वडा नम्बर २ ले जित हासिल गरेको छ भने वडा नम्बर ८ र वडा नम्बर ७ बीचको खेलमा वडा नम्बर ८ विजयी भएको छ। साथै वडा नम्बर ६ र वडा नम्बर ८ बीचको खेलमा वडा नम्बर ६ विजयी भएको छ भने वडा नम्बर ३ र वडा नम्बर ४ बीचको खेलमा वडा नम्बर ४ ले जित हासिल गरेको छ।
यसैगरी हुन नसकेको व्याडमिन्टन खेलका बाँकी खेलहरू सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र गढवाको भवन पछाडि फागुन २९ गते बिहान ६ बजेदेखि सञ्चालन हुने जनाइएको छ।
गढवा गाउँपालिकाको स्थापना दिवसको अवसरमा आयोजित चौथो पालिका स्तरीय खेलकुद प्रतियोगिताको समापन कार्यक्रम फागुन ३० गते जनता माध्यमिक विद्यालय गढवाको खेलमैदानमा हुने खेलकुद सञ्चालन तथा व्यवस्थापन उप–समितिका संयोजक तथा वडा नम्बर ५ का वडाध्यक्ष लेख बहादुर थापाले जानकारी दिनुभएको छ।





