
राप्ती,२६ फागुन। राप्ती गाउँपालिकाले आफ्नो १०औँ स्थापना दिवस को अवसर पारेर राष्ट्रव्यापी खुला देवीकोट दर्शन दौड प्रतियोगिता आयोजना गर्ने भएको छ। २०८२ साल फागुन २९ गते हुने उक्त प्रतियोगिताबारे गाउँपालिकाले मंगलबार पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो।
गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टका अनुसार प्रतियोगिताको मुख्य उद्देश्य राप्ती गाउँपालिका–९ मा अवस्थित ऐतिहासिक तथा धार्मिक स्थल देवीकोटको भद्राक्ष देवी मन्दिरको धार्मिक तथा पर्यटकीय प्रवर्द्धन गर्नु रहेको छ। यस प्रतियोगिताले देवीकोट क्षेत्रको महत्वलाई राष्ट्रिय स्तरमा परिचित गराउने अपेक्षा गरिएको छ।
प्रतियोगितामा सहभागी धावकहरूका लागि आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको छ। प्रतियोगितामा प्रथम पुरस्कार ५० हजार रुपैयाँ, द्वितीय पुरस्कार ४० हजार रुपैयाँ र तृतीय पुरस्कार ३० हजार रुपैयाँ प्रदान गरिनेछ। उक्त पुरस्कार महिला र पुरुषतर्फ छुट्टाछुट्टै प्रदान गरिने अध्यक्ष बिष्टले जानकारी दिनुभयो।
गाउँपालिकाले प्रतियोगितामा देशभरका धावकहरूलाई सहभागिता जनाउन आग्रह गरेको छ। यस कार्यक्रमले खेलकुदसँगै धार्मिक तथा पर्यटकीय क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।





