
गढवा, ११ माघ। “कति बस्छौ चुला र चौकामा, आउ बाहिर रमाउ खेलमा” भन्ने मूल नाराका साथ गढवामा सातौं महिला फुटबल प्रतियोगिता- २०८२ आज शनिबार सम्पन्न भएको छ।
क्रियटिङ पोसिबिलिटिज नेपाल (सीपी नेपाल) को आयोजनामा जनता माध्यमिक विद्यालय गढवाको खेलमैदानमा जारी प्रतियोगिता सम्पन्न भएको हो।
प्रतियोगितामा गढवा, राप्ती र राजपुर गाउँपालिकामा सीपी नेपालद्वारा गठित ७२ वटा आमा समूहका २० देखि ६२ वर्ष उमेर समूहका महिला खेलाडीहरूको सहभागिता रहेको थियो ।
प्रतियोगिता अन्तर्गत फुटबलमा १०४ जना, कुर्सी दौडमा १४८ जना, चकलेट खेलमा ७२ जना र डोरी तान्ने खेलमा ७६ जना महिला प्रतियोगी सहभागी रहेका थिए।
क्रियटिङ पोसिबिलिटिज नेपालकि व्यवस्थापक जुनु चौधरीको अध्यक्षता तथा जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माको प्रमुख आतिथ्य तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल, सिपि नेपालका महासचिव मन्दर शिखर उपाध्यायको विशिष्ट आतिथ्यमा सम्पन्न भएको हो।
समापन कार्यक्रममा तिन वटै गाउँपालिकाबाट छनौट भएका उत्कृष्ट किसान, उत्कृष्ट उद्यमी महिला समूह, उत्कृष्ट शिक्षक र उत्कृष्ट विद्यार्थी लाई सम्मान समेत गरिएको थियो।प्रतियोगितामा फुटबल, चकलेट दौड र कुर्सी दौड खेल प्रतियोगिता भएको थियो।
कार्यक्रममा सिपि नेपालकी विद्यार्थी संयोजक दिपा चौधरीले स्वागत मन्तव्य तथा संस्था र कार्यक्रमको बारेमा जानकारी दिनु भएको थियो।
कार्यक्रममा गढवा गाउँपालिका उपाध्यक्ष शारदाकुमारी चौधरी, राजपुर गाउँपालिका उपाध्यक्ष धनपति देवी यादव, राप्ती गाउँपालिका उपाध्यक्ष कमला पति चौधरी, गढवा गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष लेख बहादुर थापा,६ का वडाध्यक्ष वीरबहादुर आले मगर,सिपी नेपालका निर्देशक दिनेश राज सापकोटा, सञ्चालक समितिका सदस्य राजेन्द्र तिमल्सिना, हेमराज शर्मा, हर इन्टरनेशनलका विदेशी अतिथि केभिन एजकोम्भ, विभिन्न विद्यालयका प्रधानाध्यापक, संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, महिला खेलाडी, सीपी नेपालका कर्मचारी, पत्रकार तथा स्थानीयवासीहरूको उल्लेख्य सहभागिता रहेको थियो।
कार्यक्रमको सहजीकरण क्रियटिङ पोसिबिलिटिज नेपालकी महिला सशक्तिकरण कार्यक्रमकी संयोजक सरिता चौधरीले गर्नु भएको थियो।













