
गढवा, १७ चैत्र। दाङ देउखुरीको गढवा गाउँपालिका–७ मानपुरमा तरकारी बालीमा जैविक विषादी प्रयोग तथा बाली संरक्षण (आईपिएम) सम्बन्धी तालिम सम्पन्न भएको छ।
गढवा गाउँपालिका कृषि विकास शाखाको आयोजनामा वडा नं. ७ को कार्यालय परिसरमा आयोजित तालिममा स्थानीय कृषकहरूको सहभागिता रहेको थियो। तालिममा जैविक विधिबाट तरकारी खेतीलाई रोग तथा किराबाट जोगाउने उपाय, रासायनिक विषादीको विकल्पका रूपमा जैविक विषादीको प्रयोग र बाली संरक्षणका विभिन्न विधिहरूबारे प्रशिक्षण दिइएको थियो।
कार्यक्रममा बोल्दै वडा सदस्य कमला नेपालीले कृषिमा बढ्दो रासायनिक विषादीको प्रयोगले मानव स्वास्थ्य तथा वातावरणमा नकारात्मक असर पारिरहेको उल्लेख गर्दै जैविक खेतीतर्फ उन्मुख हुनुपर्ने आवश्यकता औंल्याउनुभयो। उहाँले यस्ता तालिमले कृषकलाई सुरक्षित र दिगो कृषि अभ्यासतर्फ प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो।
वडा सदस्य कमला नेपालीको अध्यक्षतामा सम्पन्न तालिममा कृषि प्राविधिक हेमराज पुन र फुलनदेवी चौधरीले सहजीकरण गर्दै जैविक विषादी बनाउने तरिका, यसको प्रयोग विधि तथा एकीकृत बाली व्यवस्थापन (आईपिएम) का बारेमा विस्तृत जानकारी दिनुभएको थियो।
तालिममा गढवा गाउँपालिका कृषि विकास शाखाका प्राविधिक फुल्न चौधरीले तरकारी बालीमा लाग्ने प्रमुख रोग तथा किराहरूको पहिचान गर्ने तरिका बारे जानकारी दिँदै नियन्त्रणका लागि रासायनिक विषादीभन्दा जैविक उपायहरू बढी सुरक्षित र प्रभावकारी हुने बताएका थिए। उनीहरूले स्थानीय रूपमा उपलब्ध सामग्री जस्तै नीम, तितेपाती, लसुन, खुर्सानी आदिबाट जैविक विषादी तयार गर्ने विधि सिकाएउनु भएको थियो।
त्यसैगरी हेमराज पुनले प्राविधिकहरूले एकीकृत बाली व्यवस्थापन (IPM) को अवधारणा प्रस्तुत गर्दै बाली संरक्षणका लागि विभिन्न उपायहरू जस्तै बाली चक्र परिवर्तन, रोगप्रतिरोधी जातको प्रयोग, खेत सरसफाइ, उचित सिँचाइ तथा मल व्यवस्थापन लाई एकसाथ अपनाउनुपर्नेमा जोड दिनु भएको थियो। त्यसैगरी, कीराको जीवनचक्र बुझेर नियन्त्रण गर्ने, उपयोगी कीराहरू को संरक्षण गर्ने र विषादी प्रयोग गर्दा मात्रा, समय र विधि मिलाउनुपर्ने विषयमा विशेष ध्यान दिन आग्रह गरिएको थियो।
स्थानीय कृषकहरूले तालिम उपयोगी रहेको बताउँदै सिकेका सीपलाई व्यवहारमा लागू गर्ने प्रतिबद्धता जनाएका छन्।




