भूमिहिनलाई लालपुर्जा दिन गढवा – ८ कोइलाबासमा नापजाँच सुरु

आलोक भावुक

गढवा, १६ चैत । दाङ देउखुरीको गढवा गाउँपालिकामा भूमिहिन तथा अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण गर्ने अभियान तीव्र बनेको छ। यसअन्तर्गत सोमबारदेखि वडा नम्बर ८ को कोइलाबासमा जग्गा नापजाँचको कार्य औपचारिक रूपमा सुरु गरिएको छ।

गाउँपालिकाका अनुसार भूमिहिन दलित, भूमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूले लामो समयदेखि जोतभोग गर्दै आएको जग्गाको यथार्थ विवरण संकलन गरी लालपुर्जा वितरण प्रक्रियालाई अघि बढाउन नापजाँच सुरु गरिएको हो।

नापजाँच कार्यक्रमको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले आठै वडाको नापजाँच कार्य सम्पन्न गरी छिट्टै लालपुर्जा वितरण प्रक्रिया अगाडि बढाइने बताउनुभयो। उहाँले फाराम भर्दा भएका त्रुटिहरू सच्याउन सकिने भएकाले सम्बन्धित लाभग्राहीलाई सचेत रहन आग्रह गर्नुभयो। साथै, नापजाँचका क्रममा देखिन सक्ने स्थानीय विवादलाई गाउँमै सहमति गरेर समाधान गर्न र कार्यलाई प्रभावित हुन नदिन सबै पक्षलाई आग्रह गर्नुभयो।

कार्यक्रममा बोल्दै वडा नम्बर ८ का वडाध्यक्ष अब्दुल खालिक सिद्धिकीले लामो समयदेखि लालपुर्जाविहीन रहेका नागरिकका लागि यो अभियान ऐतिहासिक अवसर भएको बताउनुभयो। “वर्षौंदेखि जग्गा जोतभोग गर्दै आएका नागरिकले अब आफ्नो नाममा लालपुर्जा पाउने अवस्थातर्फ अघि बढेका छन्,” उहाँले भन्नुभयो, “यसका लागि सबै स्थानीयवासीले नापजाँच टोलीलाई आवश्यक सहयोग गर्नुपर्छ।” उहाँले नापजाँच कार्यलाई निष्पक्ष, व्यवस्थित र छिटो सम्पन्न गर्न वडा कार्यालय पूर्ण रूपमा प्रतिबद्ध रहेको पनि स्पष्ट पार्नुभयो।

वडा नम्बर ८ का वडाध्यक्ष अब्दुल खालिक सिद्धिकीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममा बोल्दै स्थानीय सावित्री घर्तीले नापजाँच सुरु भएसँगै वर्षौंदेखि लालपुर्जाविहीन नागरिकमा आशा पलाएको बताउनुभयो।

गाउँपालिकाले नापजाँच कार्यलाई तीव्र बनाउन आवश्यक कर्मचारीसमेत परिचालन गरेको जनाएको छ। हालसम्म वडा नम्बर १ देखि ७ सम्मको नापजाँच सम्पन्न भइसकेको छ भने वडा नम्बर ८ मा कार्य सुरु भएसँगै अभियान अन्तिम चरणतर्फ उन्मुख भएको गाउँपालिकाले जनाएको छ।

गाउँपालिकामा हालसम्म ३ सय २१ भूमिहिन दलित, ११ सय भूमिहिन सुकुम्बासी र ६ हजारभन्दा बढी अव्यवस्थित बसोबासी गरी कुल ७ हजार ७ सय ५५ जनाको तथ्याङ्क संकलन भइसकेको छ।

यसैबीच, गाउँपालिकाले वडा नम्बर २ का १० जना भूमिहिन नागरिकलाई लालपुर्जा वितरण गरिसकेको छ, जसले अभियानलाई थप विश्वसनीय र प्रभावकारी बनाएको छ।

नापजाँच कार्यक्रमको शुभारम्भमा आत्मनिर्भर सेवा केन्द्रका रेमन्त चौधरी, सुरक्षा निकायका प्रतिनिधि डम्बर बहादुर श्रेष्ठलगायतको सहभागिता रहेको थियो।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID