
गढवा, १६ चैत । दाङ देउखुरीको गढवा गाउँपालिकामा परागसेचन परियोजना सम्बन्धी प्रारम्भिक समन्वय तथा परिचयात्मक कार्यक्रम आइतबार सम्पन्न भएको छ।
हर्ड इन्टरनेसनलका जिल्ला कृषि अधिकृत चित्रबहादुर थापाको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्य तथा वडा नम्बर ६ का वडाध्यक्ष वीरबहादुर आले मगरको विशिष्ट आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा बोल्दै अध्यक्ष पोख्रेलले कृषि उत्पादन वृद्धि र वातावरणीय सन्तुलनका लागि परागसेचनको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो । “परागसेचकहरूको संरक्षण नगरी दीगो कृषि सम्भव छैन। यस परियोजनाले किसानलाई नयाँ ज्ञान, सीप र प्रविधि प्रदान गरी उत्पादन वृद्धि र आम्दानी बढाउन मद्दत पुर्याउनेछ,” उहांले भन्नुभयो, “गाउँपालिकाले यस कार्यक्रमलाई पूर्ण सहयोग गर्दै कृषकलाई लाभान्वित बनाउनेतर्फ सक्रिय भूमिका खेल्नेछ।”
कार्यक्रममा जिल्ला कृषि अधिकृत थापाले वासस्थानको क्षति, विषादीको अत्यधिक प्रयोग, सघन कृषि अभ्यास तथा जलवायु परिवर्तनका कारण परागसेचकहरूको संख्या तीव्र रूपमा घटिरहेको बताउनुभयो । उहांले परागसेचनमैत्री अभ्यास अपनाउँदा जैविक विविधता, बाली उत्पादन, पोषण अवस्था तथा किसानको आयमा सकारात्मक सुधार हुने अघिल्लो परियोजनाबाट पुष्टि भएको जानकारी दिनुभयो।
उनका अनुसार परियोजनाले परागसेचनसम्बन्धी सचेतना अभिवृद्धि, दिगो कृषि अभ्यास, मौरीपालन प्रवर्द्धन, अनुसन्धान क्षमता विकास तथा नीति निर्माणमा योगदान पुर्याउँदै खाद्य र पोषण सुरक्षामा समेत टेवा दिने लक्ष्य राखेको छ।
ब्रिस्टल विश्वविद्यालय, हर्ड इन्टरनेसनल, ली–बर्ड, कृषि तथा वन विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयको साझेदारीमा सञ्चालन हुने उक्त परियोजना चार वर्ष (सन् २०२५ देखि २०२९ सम्म) लागू हुने जनाइएको छ।
कार्यक्रमले गढवामा परागसेचन संरक्षण र कृषिमा दीगो अभ्यास विस्तारतर्फ महत्वपूर्ण सुरुवात गरेको अपेक्षा गरिएको छ।




