
गढवा, १२ चैत । गढवा गाउँपालिकामा पालिका स्तरीय खाद्य सुरक्षा निर्देशन समितिको बैठक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
पोषणमार्फत जीवन रूपान्तरण परियोजना अन्तर्गत आयोजित उक्त कार्यक्रम बुधबार गाउँपालिकाको सभाहलमा सम्पन्न भएको हो।
गढवा गाउँपालिकाको समन्वयमा हेलन किलर इन्टरनेशनल र आइडिइ नेपालको आर्थिक सहयोग तथा बेस संस्थाको प्राविधिक सहयोग तथा साझेदारीमा सञ्चालन भइरहेको “पोषणमार्फत जीवन रूपान्तरण परियोजना” अन्तर्गत कार्यक्रमको समिक्षा, उपलब्धि सार्वजनिकीकरण तथा भावी योजना सम्बन्धी छलफल गरिएको थियो।
कार्यक्रममा पोषणयुक्त बाली उत्पादन, मूल्य अभिवृद्धि, बजारीकरण तथा उपभोग वृद्धि, साथै रैथाने र उपेक्षित बालीहरूको संरक्षण र प्रवर्द्धनका विषयमा गहन छलफल भएको थियो। यसका साथै सामाजिक, आर्थिक, सांस्कृतिक तथा नीतिगत पक्षहरूको पहिचान गर्दै सम्भावित अवसर र चुनौतीहरूको विश्लेषण गरिएको थियो।
कार्यक्रममा आइडिइका प्रोजेक्ट अफिसर सन्तोष शर्मा र बेस संस्थाका प्रोजेक्ट अफिसर सुरेश चौधरीले परियोजनाको प्रगति र उपलब्धिहरूबारे प्रस्तुतीकरण गर्नुभएको थियो।
कार्यक्रममा बोल्दै गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले पोषण सुधार र खाद्य सुरक्षालाई गाउँपालिकाको प्रमुख प्राथमिकतामा राखिएको बताउनुभयो। उहाँले कृषि उत्पादनलाई पोषणसँग जोड्दै स्थानीय स्तरमै उत्पादन, उपभोग र बजारीकरणलाई सुदृढ बनाउनुपर्नेमा जोड दिनुभयो।
अध्यक्ष पोख्रेलले रैथाने तथा पोषणयुक्त बालीहरूको संरक्षण र प्रवर्द्धनमार्फत स्थानीय जनताको जीवनस्तर उकास्न सकिने उल्लेख गर्दै सबै सरोकारवाला निकायबीच सहकार्य आवश्यक रहेको धारणा राख्नुभयो। साथै, यस्ता कार्यक्रमले दीगो विकासका लक्ष्य हासिल गर्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो।
पोखरेलको अध्यक्षतामा सम्पन्न छलफल तथा अन्तरक्रिया कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष शारदाकुमारी चौधरी वडा नम्बर ३ का वडाध्यक्ष तुलसीराम अधिकारी ५ नम्बर वडा अध्यक्ष लेखबहादुर थापा ६ नम्बर वडा अध्यक्ष वीरबहादुर आलेमगर, कृषि विकास शाखाका प्रमुख कर्ता राम यादव, पशुपंक्षी तथा मत्स्य विकास शाखाका प्रमुख अनन्तराज रेग्मी, महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाकी प्रमुख प्रेरणा चन्द, भिटा परियोजना कार्यक्रम संयोजक बसन्त कुमार शर्मा, आईडी ई को प्रोजेक्ट अफिसर सन्तोष शर्म बेस संस्थाका प्रोजेक्ट अफिसर शुरेस चौधरी, बेस संस्था गढवाका कोषाध्यक्ष पटवारी यादव, बेस संस्थाका दाङ जिल्ला सदस्य श्रीराम यादव लगायतको सहभागीता रहेको थियो।
कार्यक्रमको सञ्चालन स्वास्थ्य शाखा प्रमुख कैलाश चन्द्र चौधरीले गर्नुभएको थियो।




