
गढवा,१२ चैत्र । गरिबी निवारणका लागि सञ्चालन गरिएको लघु उद्यम विकास कार्यक्रम (मेडपा) अन्तर्गत स्तर उन्नति कार्यक्रममार्फत प्रविधि हस्तान्तरणको प्रभावकारिता मूल्याङ्कन गर्न गढवा गाउँपालिकामा अनुगमन कार्यक्रम सम्पन्न गरिएको छ।
उद्यम विकास समिति संयोजक तथा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको नेतृत्वमा सम्पन्न अनुगमनमा उपाध्यक्ष शारदाकुमारी चौधरी, उद्यम विकास शाखाका सहजकर्ता विनु भुजेल, मिना चौधरी लगायतको सहभागिता रहेको थियो।
अनुगमन टोलीले गढवा गाउँपालिका वडा नं. ७ का कृषक दानबहादुर चौधरी, सरिता चौधरी, कान्छीगाउँका गीता चौधरी, फर्मा चौधरी, पार्वती चौधरी (मोतिपुर) तथा वडा नं. ५ धर्मापुरका निर्मला चौधरी र सुनिता चौधरी लगायतका किसानहरूको खेतबारीमा पुगेर स्थलगत अवलोकन गरेको थियो।
अनुगमनका क्रममा किसानहरूले प्रविधिको सहयोगबाट उत्पादनमा आएको सुधार, सीप विकास तथा आयआर्जनमा परेको सकारात्मक प्रभावबारे जानकारी गराएका थिए। कार्यक्रमले स्थानीय स्तरमै उद्यमशीलता विकास गर्दै गरिबी न्यूनीकरणमा टेवा पुर्याएको सहभागीहरूको भनाइ रहेको थियो।
अनुगमनपछि अध्यक्ष यमनारायण शर्मा पोख्रेलले लघु उद्यम विकास कार्यक्रमले स्थानीय किसान तथा उद्यमीहरूको क्षमता अभिवृद्धि गर्दै आत्मनिर्भर बनाउन महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो। उहाँले प्रविधि हस्तान्तरणलाई अझ प्रभावकारी बनाउँदै उत्पादन र बजार व्यवस्थापनमा जोड दिनुपर्ने आवश्यकता औंल्याउनुभयो।
गाउँपालिकाले यस्ता कार्यक्रममार्फत स्थानीय स्रोत साधनको सदुपयोग गर्दै रोजगारी सिर्जना र आर्थिक समृद्धितर्फ अग्रसर भइरहेको जनाएको छ।





