
गढवा (दाङ), असोज २४ – हिन्दूधर्मावलम्बीहरूको महान चाड शुभ दीपावली (तिहार) नजिकिँदै गर्दा दाङको गढवा गाउँपालिकाले यस वर्ष कृत्रिम (प्लास्टिक) माला प्रयोग नगरी प्राकृतिक फूलको माला प्रयोग गर्न सबैमा आग्रह गरेको छ।
गाउँपालिकाबाट जारी सूचनामा भनिएको छ – स्थानीय स्तरमा उत्पादन हुने फूलहरूको प्रयोगले वातावरण संरक्षणमा सहयोग पुग्नेछ र स्थानीय किसानहरूलाई आर्थिक लाभ मिल्नेछ। त्यसका लागि गढवा गाउँपालिकाले यस वर्ष गाउँभित्रै उत्पादन भएका फूलमालाको प्रयोग गर्न सुझाएको छ ।
सूचनामा गाउँपालिकाका विभिन्न स्थानमा रहेका किसानहरूले उत्पादन गरेका फूलहरू (मुख्यतया सयपत्री, गोदावरी, र मखमली) स्थानीय बजारमा बिक्री वितरण हुने उल्लेख गरिएको छ। गाउँपालिकाले तिनै किसानहरूका सम्पर्क नम्बर सार्वजनिक गर्दै फूल खरिद गर्न सजिलो होस् भनेर व्यवस्था मिलाएको छ।
सूचनाअनुसार गढवा गाउँपालिकाभित्र निम्न किसानहरूबाट फूल खरिद गर्न सकिनेछः
१. टेकेन्द्रराज रावत क्षेत्री, वडा नं. ३ – खेती क्षेत्र: ८ कठ्ठा, सम्पर्क नं. ९८२२८९४१५१
२. विरेन्द्र शाह, वडा नं. ४ – खेती क्षेत्र: ५ कठ्ठा, सम्पर्क नं. ९८४९४८९०९२
३. मधुसूदन के.सी., वडा नं. १ – खेती क्षेत्र: १ कठ्ठा, सम्पर्क नं. ९८४७१६०२५२
कृषि विकास शाखा प्रमुख कर्ताराम यादवका अनुसार यस अभियानले एकातिर वातावरणमैत्री व्यवहारलाई प्रोत्साहन गर्नेछ भने अर्कोतर्फ गाउँकै उत्पादनको बजार सुनिश्चित गर्न सहयोग पुर्याउनेछ।





