बन्दले गढवा बजारको जनजीवन प्रभावित, बबईमा अज्ञात समूहले टिप्पर जलायो 

आलोक भावुक

गढवा- ७ भाद्र

एमाओवादी सहितका विपक्षी मोर्चाले आज देशैभर आमहड्ताल गरेको छ । बन्दबाट सर्वसाधारणलाई आवत जावतमा कठिनाईका साथै जनजीवन प्रभावित बनेको छ । बन्दले साना बजारक्षेत्रमा पनि ठुलो असर परेको छ । देउखुरी उपत्यकाको प्रमुख बजार क्षेत्र गढवा र लमही बजार पनि पुर्ण रुपमा बन्द छन्।

मोर्चाको बन्दका कारण आज बिहानैदेखि गढवाको जनजीवन प्रभावित बनेको छ भने सवारी साधन ठप्प बनेको छ । गढवा बजार क्षेत्रमा बन्दकर्ता नदेखिए पनि ठाउँठाउमा भैरहेको तोडफोड र आगजनीले गर्दा बजार क्षेत्र सुनसान देखिन्छ।

चार क्रान्तिकारी कम्युनिस्ट पार्टीले तीन बुँदे राजनीतिक सहमतिका विपरित पार्टीका नेतालाई पक्राउ पुर्जी जारी गरिएको, एमसीकसी, भ्रष्टाचार, महङ्गीकाविरुद्ध देशैभर आज बन्दको आह्वान गरेका थिए ।नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पाटीका अध्यक्ष ऋषि कट्टेल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका आहुती र नेकपा माओवादी समाजवादीका महासचिव कर्णजितले गत साउन २७ गते नै संयुक्त विज्ञप्ति निकालेर नेपाल बन्दको आह्वान गरेका थिए ।

बबईमा अज्ञात समूहद्वारा टिप्परमा आगजनी

दाङमा अज्ञात समूहले बिहानै सवारी साधनमा आगजनी गरेका छन् । घोराहीबाट लमहीतर्फ जाँदै गरेको रा १ ख १६९४ नम्बरको टिप्परमा बिहान बबई खोलाको पुल नजिकै उक्त समूहले आगजनी गरेका हुन् ।चार/पाँच जनाको समुहमा रहेका व्यक्तिले टिप्परको अघिल्लो भागमा आगो झोसेर भागेका थिए । आगजनीका कारण टिप्परको अघिल्लो भाग जलेर नष्ट भएको छ ।

दाङमा अखिल (क्रान्तिकारी)का जिल्ला संयोजक पौडेलसहित ४ जना पक्राउ

दाङमा अखिल (क्रान्तिकारी)का जिल्ला संयोजक खुमन पौडेलसहित ४ जना पक्राउ परेका छन् ।

नेपाल बन्दलाई सफल बनाउन बिहानै सडकमा गएका विद्यार्थीका जिल्ला संयोजक पौडेल, जिल्ला सदस्य हिमाल केसी, टार्जन वलीसहित ४ जनालाई घोराहीको सर्राबाट प्रहरीले पक्राउ गरेको नेपाल कम्युनिस्ट पार्टी घोराही उपमहानगरका इन्चार्ज निर्मल केसीले जानकारी दिए ।

शान्तिपूर्ण ढंगले बन्द गराउन सडका गएका विद्यार्थी नेताहरूलाई प्रहरीले बिना कारण पक्राउ गर्नु निन्दनीय कार्य भएको र पक्राउ गरिएका ४ जनालाई नि:सर्त यथासिघ्र रिहाई गर्नुपर्ने उपमहानगरका इन्चार्ज केसीले बताए ।

बन्दको रिपोर्टिङमा गएका पत्रकारसहित ४ जना तुलसीपुरबाट गिरफ्तार 

नेपाल बन्दको रिपोर्टिङमा खटिएका जनपत्रकार संगठन दाङ जिल्लाका अध्यक्ष हेमन्त प्रकाश वलीसहित ४ जनालाई तुलसीपुरबाट प्रहरीले गिरफ्तार गरेको छ ।

शान्तिपूर्ण ढंगले बन्दलाई सफल बनाउन सडकमा गएका नेकपाको सहायक संगठन युवा संगठन नेपाल, दाङ जिल्ला अध्यक्ष सुदर्शन,उपाध्यक्ष दिपेन्द्र,मजदुरका सिसिएम संजय र बन्दको समाचार संकलनका लागि खटिएका जनपत्रकार संगठनका जिल्ला अध्यक्ष हेमन्त प्रकाश वलीलाई तुलसीपुरबाट प्रहरीले गिरफ्तार गरेको जानकारी प्राप्त भएको छ ।

त्यस्तै अखिल (क्रान्तिकारी)का जिल्ला संयोजक खुमन पौडेलसहित ४ जनालाई घोराहीको सर्राबाट प्रहरीले गिरफ्तार गरेको नेकपा दाङ जनाएको छ ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID