
गढवा, ५ असोज । हिन्दुहरुको महान् पर्व विजयादशमीको पुर्वसन्ध्यामा गढवा गाउँपालिकामा बृहत सरसफाई तथा वृक्षारोपण अभियान सम्पन्न भएको छ। गढवा गाउँपालिका द्वारा सञ्चालित भिटा परियोजना अन्तर्गत गठित महिला उद्यमी समूहका सदस्यहरुको सक्रियतामा शनिबार बिहानैदेखि सुरु भएको अभियान आठै वडामा एकैसाथ सम्पन्न गरिएको हो।
गाउँपालिकाभित्र रहेका धार्मिक स्थल, ऐतिहासिक सम्पदा, पर्यटकीय सम्भावना बोकेका क्षेत्र तथा गाउँटोलमा सरसफाई कार्यसँगै फूलका बिरुवा र विभिन्न प्रजातिका वृक्षहरु रोपण गरिएको छ। करिब पन्ध्र सय महिला सदस्यहरु सहभागी भएको अभियानलाई स्थानीयवासीहरुले पनि साथ र समर्थन दिएका थिए।

भिटा परियोजना कार्यक्रम संयोजक बसन्त कुमार शर्माले महिलाहरुको प्रयासले गढवा गाउँपालिकामा सरसफाई संस्कृतिको विकासमा टेवा पुगेको बताउनुभयो। उहाँले भन्नुभयो – “महिला उद्यमी समूहहरुले देखाएको सक्रियता प्रशंसनीय छ। यसले सरसफाई मात्र होइन, पर्यावरण संरक्षण र पर्यटन प्रवर्द्धनमा समेत योगदान पुर्याएको छ। आगामी दिनमा यसलाई दिगो बनाउन गाउँपालिकाले निरन्तर सहकार्य गर्नेछ।”
यस्तै, गढवा उद्योग वाणिज्य संघका अध्यक्ष ओम प्रकाश बसेलले सरसफाईलाई निरन्तरता दिन सबै सरोकारवालाहरु जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभयो। उहाँले भन्नुभयो – “भिटा परियोजनाले महिलालाई आत्मनिर्भर बनाउन मद्दत गरिरहेको छ। सरसफाई र वृक्षारोपणले स्वास्थ्य, वातावरण, व्यापार र पर्यटन प्रवर्द्धनमा प्रत्यक्ष प्रभाव पार्छ। यसलाई एक दिनको अभियान मात्र नभई निरन्तर जीवनशैलीको रुपमा अंगाल्नुपर्छ।”
स्थानीयवासीहरुले पनि महिला उद्यमी समूहको नेतृत्वमा भएको सरसफाई कार्यलाई प्रशंसा गरेका छन्। उनीहरुले धार्मिक स्थल र सार्वजनिक ठाउँलाई सफा राख्दा पर्यटकलाई आकर्षित गर्न सकिने र गाउँ थप सुन्दर र व्यवस्थित हुने विश्वास व्यक्त गरेका छन्।
गढवा गाउँपालिकामा भिटा परियोजना महिला सशक्तीकरण, उद्यम विकास, आयआर्जन वृद्धि र सामाजिक उत्तरदायित्व प्रवर्द्धनका लागि सञ्चालनमा आएको हो। यस परियोजना अन्तर्गत महिलाहरुले सिपमूलक तालिम, साना उद्यम सञ्चालन, बचत तथा ऋण सुविधा साथै समाजोपयोगी अभियानहरुमा सक्रिय रुपमा सहभागी हुँदै आएका छन्।




