
गढवा,३० भदौं। गढवा गाउँपालिका–३ मा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्दै आएका तर अशक्त, विरामी र हिडडुल गर्न नसक्ने अवस्थाका लाभग्राहीहरूको लागि विशेष व्यवस्था गरिएको छ। गाउँपालिकाले उनीहरूको सुविधालाई मध्यनजर गर्दै घरमै पुगेर सामाजिक सुरक्षा परिचयपत्र नविकरण गर्ने कार्य सम्पन्न गरेको हो।
यस अभियानले सेवाप्राप्तामा असुविधा भोग्दै आएका अशक्त तथा विरामी नागरिकलाई सहज भएको गाउँपालिका कार्यालयले जनाएको छ।
भदौ मसान्तभित्रै सामाजिक सुरक्षा परिचयपत्र नविकरण गर्न सबै लाभग्राहीलाई अनुरोध गरिएको छ। भदौ महिनाभित्र नविकरण नगरे सामाजिक सुरक्षा भत्ता रोकिने गढवा गाउँपालिका पञ्जिकरण शाखा प्रमुख ऋषि राम यादवले जानकारी दिनुभयो।
नविकरणका लागि सेवाग्राहीको बायोमेट्रिक अनिवार्य रहेको छ। हाल गाउँपालिका भर गरी २ सय ४४ जना सेवाग्राहीको नविकरण गर्न बाँकी रहेको पनि शाखा प्रमुख यादवले जानकारी दिनुभयो।




