
घोराही, ६ साउन । विभिन्न कारणले विगत एकवर्षदेखि विद्यालय जान नपाएकी ९ वर्षिया वर्षा बुढा मगर पुनः विद्यालय जाने भएकी छन् । घोराही बनाऔं अभियानले वर्षालाई विद्यालय पठाउनका लागि संयोजन गरेको हो ।
डाक्टर बन्ने लक्ष्य राखेकी वर्षा निकैनै टाठी छिन् । ‘पढेर म डाक्टर बन्छु, आफन्तलाई ठूलो भएर हेर्छु, सबैको सेवा गर्छु’–९ वर्षिया वर्षाले थपिन–ं‘पढ्ने इच्छा थियो, तर पाएकी थिइन, पढ्न जान पाउने भए भन्ने कुराले धेरै नै खुसी भएकि छु ।’
स्थायी ठेगाना पूर्वी रुकुमको भुमे गाउँपालिका–९ भएपनि विगत धेरै वर्षदेखि घोराहीमा बसोबास गरिरहेकी वर्षा युकेजीसम्म गुलरियास्थित प्रहरी बोर्डिङमा अध्ययन गरिन् । पढाइमा अव्वल वर्षालाई पछि उनको आमाले अर्को विद्यालयमा पढाउने भन्दै त्यहाँबाट विद्यालय सुरुवा गरिन् । केही समय वर्षा कक्षा १ मा अन्य विद्यालयमा अध्ययन गर्न गइनपनि तर, विगत एकवर्षदेखि एकाएक उनको आमा लापत्ता भइन । धेरै वर्ष अगाडी वर्षाका बुबा कमाउन भन्दै भारत गए, तर बुबा निर्मल पुन अहिलेसम्म फर्किएर आएका छैनन् । हाल वर्षा फुपु–फुवाजु सुरेश बुढा र विमला बुढासँग बस्छिन् । रोगकाकारण फुपु फुवाजुको आर्थिक अवस्था कम्जोर हुनुका साथै विभिन्न समस्याका कारण वर्षा घरमै बसिरहेकि थिइन् । तर संयोग नै मान्नुपर्छ, २०८२ साउन ५ गते वर्षाका लागि बरदानै साबित बन्यो । वर्षा घोराही बनाऔं अभियानका संयोजक सविन प्रियासनको सम्पर्कमा पुगिन् । प्रियासन दामोदर रोडमा लुम्बिनी प्रदेश सरकारले यस आर्थिक वर्षमा कालोपत्रे गर्नका लागि छुट्टाएको तीन करोड रकम केकसरी खर्च गर्न सकिन्छ भन्ने विषयमा नेपाल पत्रकार महासंघ दाङका पूर्वअध्यक्ष केएल बुढाथोकीसँग खिरिटिया जाँदै हुनुहुन्थ्यो । बाटोमा सत्गैया कुलाका मतौ छविलाल डाँगीसहितको टोली पानी बाँडफाड र कुलोमा देखा परेको समस्याको विषयमा भेला हुनु भएको थियो । डाँगीको आग्रहमा प्रियासन र बुढाथोकीले कुलोको निरीक्षण गर्नुभयो । सोही समयमा दिपज्योति टोलमा वर्षासँग घोराही बनाऔं अभियानको भेट भएको प्रियासनको भनाइँ छ । वर्षाल पढ्न नपाएको कुरा सत्गैया कुलोका अध्यक्ष डाँगीले जानकारी दिएपछि यस विषयमा प्रियासनले वर्षाको फुपु, फुवाजु र वर्षासँग पनि सोधपुछ गर्नुभयो ।
वर्षाले पढ्ने इच्छा जाहेर गरेका कारण साउन ६ गते विहानैदेखि प्रियासनले वर्षालाई पढाउनका लागि वातावरण बनाउने काममा लाग्नुभयो । झोला, कलम, कापीसहित वर्षा बस्ने घरमा मंगलबार बिहान केएल बुढाथोकीसहित प्रियासन पुग्नुभयो । त्यसपछि प्रियासनले वर्षालाई बजार ल्याएर विद्यालय पोशाकको व्यवस्था गरिदिनुभयो । प्रियासनका अनुसार वर्षालाई घोराहीस्थित सरस्वती गार्मेन्टले एकजोर विद्यालय पोशाक सहयोग गरेको छ । यसैगरी घोराहीस्थित सभ्यता पाठशालाले थप पोशाक, व्याग, विद्यालयको पुस्तकलगायतका शैक्षिक सामग्री उपलव्ध गराउने भएको छ । प्रियासनको अनुरोधमा घोराही–७ पर्सामा रहेको ग्लोबल एकेडेमीका प्रिन्सीपल किरण न्यौपानेले वर्षालाई पढाउने जिम्मा लिनु भएको छ । यसको साथै वर्षाको बारेमा सामाजिक सञ्जाल अनि समाचारहरु पढिसकेपछि विभिन्न मनकारी व्यक्ति एवं संघसंस्थाहरुले सहयोग गर्ने जनाउनु भएको छ । घोराही १३ मा रहेका ज्ञानज्योति एजुकेशनल एकेडेमीले वर्षालाई पढाउने इच्छा जाहेर गरेको थियो । तर वर्षाको पढाउने व्यवस्था भैसेकाकारण विद्यालयको तर्फबाट त्यहाँ अध्ययनरत विद्यार्थीहरुले सामाजिक कार्य गर्नका लागि उठाउने मुठिदानबाट वर्षालाई खाद्यान्न र विद्यालयको तर्फबाट शैक्षिक सामग्री बुधरबार सहयोग गर्ने विद्यालयका प्रिन्सीपल लक्ष्मीप्रसाद बुढामगरले जानकारी दिनुभयो ।
यसैगरी वर्षालाई पढ्न सहजहोस भनेर घोराहीस्थित जनता बुक स्टलले पनि शैक्षिक सामग्री सहयोग गर्ने जनाएको छ । यता यस विषयमा वर्षा विद्यालय जान पाउने भएपछि घोराही बनाऔं अभियानले खुसी व्यक्त गरेको छ । अभियानका संयोजक सविन प्रियासन भन्नुहुन्छ,–‘पढेर जिन्दगीमा केही गर्छु भन्ने छोरीलाई हामीले सबैसँग सहकार्य गरेर विद्यालय पठाउने वातावरण सिर्जना गरेका छौ । यसका लागि वर्षालाई पढाउनका लागि जोडिनु भएका सबै व्यक्ति अनि संघसंस्थाहरु धन्यवादको पात्र हुुनुहुन्छ ।’
प्रियासन थप्नुहुन्छ,–‘म दामोदर मार्गको अध्ययन गर्न र त्यहाँ गएपछि सत्गैया कुलोको अध्ययन गर्न हिँडेको मान्छे वर्षा बस्ने घरमा पुगे, सायद उनको पढ्ने धोकोलाई हामीले पुरा गरोस भन्ने लेखा थियो । म खुसी छु, वर्षाको उज्ज्वल भविष्यको लागि साथसहयोग गर्ने सबैसबैमा धन्यवाद छ ।’




