हाम्रो अभियान स्वच्छ अनि समृद्ध घोराहीका लागि हो: सविन प्रियासन

गणतन्त्रनेपाल समाचारदाता

कुनै पनि अभियान कहिल्यै पूर्ण हुँदैन । हुन्छ त केबल यात्रा । यहाँ घोराही बनाऔं अभियानको कुरा गरिरहँदा यो निरन्तर सधैभरी जारी रहनेछ, रहनुपर्छ । यति मात्र हो अभियानको नेतृत्व अनि सारथीहरु समयसँगै फरकफरक हातहरुमा पुग्नेछ । पुग्नु पनि पर्छ । तसर्थ आउँदो वैशाख १ गतेबाट हामीले सुरु गर्न लागि रहेको घोराही बनाऔं अभियानमा जोडिन चाहने महानुभावहरु जुनसुकै वर्ण, जुनसुकै जातजाति, जुनसुकै समूह, जुनसुकै विचारको हुन सक्नु हुनेछ । यहाँ कुनै विभेदको रेखा हुनेछैन । हुनेछ त केवल घोराहीलाई बास्तवमै नेपालकै मोडल पालिका बनाउने लक्ष्य ! यसको लागि अभियानमा सबै जोडिन जरुरी छ । हामीलाई विश्वास छ घोराहीमा जन्मिएका अनि यहाँ कर्म गरिरहेका र विभिन्न बाध्यताले हाल बाहिरी जिल्ला वा मुलुक बाहिर रहेका व्यक्तिहरु समेतले आफ्नो ठाउँबाट यो अभियानमा नैतिक, भौतिकरुपमा सहयोगी भूमिका खेल्नु हुनेछ । हामीले बनाउन लागि रहेको योजना पहिलो चरणमा शव्द, बोलि, दृश्य, परिकल्पनामा समेटिन सक्छ । तर सम्बन्धित निकायहरुले यसलाई अबलम्बन गर्न सकेमा बास्तवमै घोराही अनि दाङ जिल्लाका अन्य पालिकाहरुमा समेत जिल्लालाई अत्यावश्यक पर्ने संरचनाहरु निर्माण हुन सक्छन् । घोराही बनाऔं अभियान चलाई रहँदा हामीले अन्य पालिकाहरुको समृद्धि र विकासका लागि पनि कुनै न कुनै विषयहरुको उठान गर्नेछौ । यहाँका सबै पालिकाहरुले विकासको लहर पकडन सकेभने समृद्ध दाङ बन्न कसैले रोक्न सक्ने छैन ।
हामी यतिबेला घोराही बनाऔं अभियानलाई मुख्य मियो बनाएर अगाडी बढि रहदा सबै जन समक्ष के भन्न चाहन्छौ भने अब कुनै एउटा क्षेत्र मात्र देखाउन लायक बनाएर वा चर्चा गर्न लायक बनाएर समृद्धिले उचाई लिन सक्दैन । सबै क्षेत्रको वहुआयामिक विकास आजको आवश्यकता हो । शिक्षा, स्वास्थ्य, रोजगार, पर्यटन, कृषि, सञ्चार, यातायात, हवाइ यातायात, खेल, मनोरन्जन, कला, संस्कृति, धार्मिक तथा प्राकृतिक सम्पदाको विशिष्ठीकरण, उत्पादन, बजारीकरण, स्वच्छ वातावरण निर्माण, व्यवस्थित भौतिक पूर्वाधार निर्माणलगायतका यहाँ उल्लेख गर्न छुटाइएका थुप्रै विषयबस्तुहरुलाई समय सापेक्ष ढंगबाट कसरी अगाडी बढाउन सकिन्छ, यी र यावत विषयहरुमा तत्कालिन, अल्पकालिन, दिर्घकालिन योजनाहरु कस्तो बनाउनुपर्छ । यी सबै कार्यहरुमा हरेक क्षेत्रको दायित्व, भूमिका र कर्तव्य के हुन सक्छ । राज्यका निकायहरुले यी सबै क्षेत्रहरुको केकसरी नेतृत्व, अनुगमन गर्न जरुरी छ भन्ने विषयहरुलाई हामीले अभियानका क्रममा जोडदार तवरले उठान गर्नेछौं । घोराहीका १९ वटै वडालाई रोलमोडलकारुपमा कसरी विकास गर्नुपर्छ, कुन वडामा के सम्भावना छ, जस्ता यावत विषयहरुमा मिहिन ढंगबाट छलफल गरी, योजना निर्माण गरी सम्बन्धित निकायहरु समक्ष यी कुराहरु राख्ने छौं । यसका लागि राज्यका सबै निकायहरुको ध्यानाकर्षण गर्नुका साथै काम गर्नका लागि राज्यका निकायहरुलाई खवरदारी अनि सहयोगीको भूमिका पनि निर्वाह गर्नेछौ ।
घोराही बनाऔं अभियान सुरु गर्न लागि रहेको जानकारी सामाजिक सञ्जाल अनि अनलाइन सञ्चारमाध्यमबाट सार्वजनिक गरेपछि यतिबेला विभिन्न व्यक्तित्वहरुले विभिन्न खालका सल्लाह सुझाबहरु फोन, म्यासेज, अनि भेटकाक्रममा दिइरहनु भएको छ । केही व्यक्तित्वहरुले खबरदारी पनि गर्नु भएको छ । सबैप्रति घोराही बनाऔं अभियानको तर्फबाट म मुरीमुरी धन्यवाद दिन चाहन्छु । यस अगाडी धेरै नै संघसंस्थाहरुसँग जोडिएर त्यसको नेतृत्व गरेर यहाँसम्म आएको अनुभव भएकाले सकेसम्म घोराही बनाऔं अभियानमा ढुक्कसँग सबै जोडिन सक्ने अवस्था हामीले सिर्जना गर्नेछौ । कामकाजी, आफ्नो गाउँठाउँको लागि केही गर्न चाहनेहरु यो अभियानको अभियानकर्ता हुनुहुनेछ । घोराही बनाऔं अभियान यहाँको स्थानीय सरकार बिरुद्धमा स्थापना गर्न खोजिएको होइन । वा यहाँ क्रियाशिल राजनीतिक दलहरुप्रति बितृष्णा जगाउने गतिविधिहरु गर्नकालागि सुरु गरिएको होइन । यो कुनै व्यक्ति विशेषको बिरुद्धमा पनि हुनेछैन । कुनै पनि यात्रा पहिलो पाइलाबाट सुरु हुने भएकाले मैले यसलाई अगाडी बढाउने कुरालाई सार्वजनिक गरे, त्यसपछि अभियानमा सहभागिता जनाउने संकेत धेरै मित्रहरुले गरिरहनु भएको छ । मलाई विश्वास छ, यो अभियान एकदिन सबैको हुनेछ । घोराहीमा एकपटक सबै नेपाली आउने, यहाँका धेरै सिकाइहरु सिकेर जाने, देश बिदेशसम्ममा समेत यहाँको चर्चा हुने सार्थक परिकल्पना अनि उज्यालो योजनासहितको घोराही बनाऔं अभियान स्वच्छ अनि समृद्ध घोराहीका लागि हो । समृद्ध दाङका लागि हो ।

लेखक: सविन प्रियासन गणतन्त्र राष्ट्रिय दैनिकका प्रकाशक तथा सम्पादक हुनुहुन्छ। साथै उहाँले थुप्रै उपन्यासहरु प्रकाशित गरिसक्नु भएको छ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID