जातिवादकाे जरालाई उधिन्ने ‘ग़ुलामी’

सिनेमा चर्चा

प्रभाष

सामन्तवाद र जातिवाद एक-अर्काका परिपूरक हुन्। जातिवाद सामन्तवादकाे उत्पादन हाे र सामन्तवाद जातिवादकाे जगमाथि उभिएकाे छ। भारतीय समाजमा जातिवादकाे जरा गहिराेसँग गाडिएकाे छ। अझ सामन्तवादी व्यवस्थाकाे त कुरै नगराैं। जे.पी.दत्ताकाे फिल्म ‘ग़ुलामी’ (१९८५) ले भारतीय समाजमा विधमान यही जातिवादकाे जरालाई उधिन्ने काम गरेकाे छ। फिल्ममा सामन्तवाद र जातिवाद, वर्गीय विभेद र जातिय विभेद दुवै एकसाथ गाँसिएर आएकाे छ।

जे.पी.दत्ताकाे ‘ग़ुलामी’ एक जबर्दस्त फिल्म हाे। ग्रामीण भारतका सवर्ण ठाकुर-जमिनदारहरु र भूमिहीन दलित-किसानहरुका बीच जमिन र आत्मसम्मानकाे लडाइँ नै
‘ग़ुलामी’ काे मुख्य विषयवस्तु हाे। यस फिल्मकाे केन्द्रमा दलित किसानहरुकाे अधिकार र आत्मसम्मानकाे लडाइँ छ। परिवेश राजस्थानकाे एउटा गाउँलाई बनाइएकाे छ जसले भारतका सम्पूर्ण गाउँहरुकाे प्रतिनिधित्व गर्दछ।

ती गाउँका सवर्ण जमिनदार ठाकुरहरु र भूमिहीन दलित-किसानहरु बीचकाे अन्तर्विराेध र द्वन्द्वमार्फत् फिल्मले स्पष्टसँग देखाउँछ, ‘समाजमा जाे दलित छन्, जाे तल्लाे जातका छन्, उहीँ भूमिबाट वञ्चित छन्। उहीँ गरिब छन्। जाे अछूत छन्, उहीँ भूमिहीन र गरिब छन्।’ अर्थात्, भारतकाे सन्दर्भमा जात र वर्ग अन्याेन्याश्रित छन्। यहाँ वर्गकाे निर्माणमा जातकाे भूमिका छ। खास जातका भएकै कारणले यहाँ एउटा तप्का स्राेत-साधनविहीन भएका छन्, गरिब भएका छन्। जात र वर्ग यहाँ जेलिएकाे छ। यहाँनिर मार्क्सवादकाे ‘आधार र उपरिसँरचनासम्बन्धि व्याख्या’ पनि फेल खाएकाे छ। भारतकाे सन्दर्भमा जात उपरिसँरचना हाेइन, आधारकै रुपमा रहिआएकाे छ।

‘ग़ुलामी’ जातिय उत्पीडन, असमानता र विभेदमाथि नै बढी ‘फाेकस्ड’ छ। ‘ग़ुलामी’ ले भारतीय समाजकाे जातव्यवस्था माथि कडा प्रहार गर्छ। ‘ग़ुलामी’ जातलाई लिएर यस्ताे कडा अभिव्यक्ति दिने सम्भवत: मूलधारकाे पहिलाे फिल्म हाे। जातिय असमानता, उत्पीडन र विभेदसँगै फिल्ममा वर्गीय उत्पीडन र विभेद पनि गाँसिएर आएकाे छ।

‘ग़ुलामी’ काे आरम्भ एक सशक्त दृष्यबाट हुन्छ, एउटा चील भुइँमा चरिरहेकाे चल्लामाथि झम्टिइ चल्लालाई आफ्नाे क्रूर पञ्जामा जकडेर आकाशमाथि उड्छ। याे सब हेरिरहेकाे बालक रञ्जितले झटपट फूर्तिका साथ ढुङ्गा हातमा लिएर चीललाई अचूक निशाना लगाउँछ र उडिरहेको चीललाई आकाशदेखि तल भुइँमा झारेर पछारी-पछारी मार्छ। याे एउटा दृष्यले फिल्मकाे अन्तर्वस्तुकाे बारेमा धेरैथाेक बताउँछ। यही एउटा दृष्यबाट फिल्मकाे अन्तर्यलाई स्पष्टसँग बुझ्न सकिन्छ।

याे अन्तर्य त्यसबेला अझ स्पष्ट हुन्छ, जब आफ्नाे छाेरालाई
कुटाइबाट बचाउन ठाकुरकाे महलभित्र बिना अनुमति गलामा गहना र खुट्टामा चप्पल लगाएर प्रवेश गर्दा ठाकुरबाट त्यही चप्पल शीरमाथि राख्ने सजाँय पाएकी आफ्नी आमालाई देखेर आक्राेशमा लथपथ हुँदै बालक रन्जित, ठाकुरकाे ‘तँ के हेर्दैछस् कुकुरकाे छाउरा?’ भन्ने प्रश्नकाे उत्तरमा दाह्रा किट्दै भन्छ, ‘म हेरिरहेकाे छु, जगतकाे आमाकाे शीरमाथि फूल छ, मेराे आमाकाे शीरमाथि चप्पल।’

यसप्रकार आक्राेशले लथपथ भएर आफ्नाे जर्बदस्त विद्राेही चेतकाे सूचना दिने बालक रञ्जित युवा भएपछि उही ठाकुरसमक्ष आफ्नाे आत्मसम्मानकाे हकदाबी गर्दै भन्छन्, ‘मलाई रञ्जिते हाेइन, रञ्जित सिहँ ठाकुर भन्नुहाेस्।’

रञ्जित सिहँ ठाकुरभित्रकाे आक्राेश र विद्राेहकाे ज्वालामुखीले तब लावा ओकल्न थाल्छ, जब ऊ एस पी ठाकुर सुल्तानसँग आमुन्ने-सामुन्ने हुन्छ। तब लावा ओकल्दै रञ्जित भन्छ, ‘मलाई चिन्छाैं ठाकुर? अहँ चिन्दैनाैं। तिमी त्याे रञ्जितेलाई चिन्छाैं, जाे तिम्राे नजरमा सानाे जातकाे हाे। त्याे मान्छेलाई हाेइन, जसले तिमीजस्तै कुनै आमाकाे काेखबाट जन्म लिएकाे हाे। मेराे घा‌ऊ अझै आलाे छ ठाकुर। हेर्न चाहन्छाैं? त्यसकाे गहिराइ नाप्ने इच्छा छ? तिमीले गाेलीकाे चाेट देखेकाे छाैं। त्याे चाेट देखेकाे छैनाैं जाे मेराे आत्मामा लागेकाे छ। त्याे चाेटकाे नाम हाे, गरिबी, जातपात, गुलामी। हेर्न चाहन्छाै?’

फिल्ममा आरम्भदेखि नै द्वन्द्वकाे रचना गरिएकाे छ। अन्याय र अत्याचार, त्यसबाट उत्पन्न अन्तर्विराेध अनि प्रतिराेध र विद्राेहकाे जन्म। अन्तत: घमासान लडाइँ। फिल्ममा के काे लागि मात्र लडाइँ छैन? स्कुलमा पस्नकाे लागि लडाइँ, पानी पिउनकाे लागि लडाइँ, बिहेमा घाेडा चढ्नकाे लागि लडाइँ, जमिनकाे लागि लडाइँ, हककाे लागि लडाइँ, आत्मसम्मानकाे लागि लडाइँ, आदर्शकाे लागि लडाइँ। न्यायकाे लागि लडाइँ। लडाइँ न‌ै लडाइँ।

तर फिल्ममा लडाइँ मात्र छैन। प्रेमिल राेमान्टिक वा भावुक मर्मस्पर्शी क्षणहरु पनि छन्। फिल्ममा विद्राेहकाे भावलाई मात्र हाेइन, प्रेमकाे मधुर-मर्मस्पर्शी भावलाई पनि सटिक ढंगले अभिव्यक्त गर्नमा कुनै कसर छाेडिएकाे छैन।

‘तिम्राे काखमा शीर राखेर निदाउन सक्ने या त बच्चा हुनुपर्छ, या त फरिश्ता। कुनै मर्दकाे बच्चा त निदाउन सक्दैन।’

प्रेमकाे सुखान्त अनुभूतिमा डुबिरहेकाे जाफरकाे याे संवाद जति राेमान्टिक लाग्छ, प्रेमकाे दुखान्तमा तडपिरहेकी गाैराकाे याे अभिव्यक्ति उति नै मार्मिक लाग्छ,

‘तिमीलाई हेर्न खूब मन लागिरहेकाे छ। (कसरी हेरु?) म पूर्णमाशीकाे दिन चन्द्रमालाई हेरिरहन्छु। तिमी पनि हेर्नु। यही बहानामा हामी एक अर्कालाई हेर्नेछाैं।’

समग्रमा, फिल्म जबर्दस्त छ। ओ.पी.दत्ता स्क्रिप्टलेखनमा जमेका छन् भने जे.पी.दत्ता निर्दैशनमा। ओ.पी.दत्ताका डाइलगहरु जबर्दस्त छन्। फिल्मकाे स्क्रिप्टमाथि जे.पी.दत्ताकाे पकड मजबूत छ। प्रमुख भूमिका निभाइरहेका अभिनेताहरु धर्मेन्द्र, मिथुन चक्रवर्ती र कुलभुषण खरबन्दा, तीनै जनाकाे अंदाज र अभिनय ‘युनिक’ छ। उनीहरुकाे डाइलग डेलिभेरी पनि ‘युनिक’ छ। ब्याकग्राउण्ड म्युजिक पनि जबर्दस्त छ। मिथुनकाे ट्रेडमार्क डाइलग ‘काेई शक?’ यही फिल्मकाे डाइलग हाे भने लता मंगेशकर र शब्बिर कुमारद्वारा गाइएकाे सुपरहिट यादगार गीत ‘जिहाल-ए-मिस्की मकुंब रंजिश’ यही फिल्मकाे गीत हाे।

‘ग़ुलामी’ जे.पी.दत्ताकाे पहिलाे फिल्म हाे र जमिनदार-किसान द्वन्द्वमा आधारित भए पनि ‘मदर इंडिया’ (१९५७) भन्दा अलग देखिनु ‘ग़ुलामी’ काे बिशेषता हाे।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID