‘धन्नाे की आँखाें में…’

गीत चर्चा

प्रभाष

शब्दहरुका जादूगर गुलज़ारकाे कलम जब चल्छ तब हरेक शब्द गीत बन्न जान्छ र हरेक गीत एउटा कथा।

प्रस्तुत छ, उनकाे गीत ‘धन्नाे की आँखाें में…’ (फिल्म:- ‘किताब’, १९७७) काे रचनाकाे कथा, उनकै शब्दमा…

जब पहिलाेचाेटि मेराे भेट आर डी बर्मन (राहुल देव बर्मन) सँग भयाे, तब पहिलो नजरमै हामीबीच तालमेल बन्याे। म त्यसबेला बिमल दा (फिल्ममेकर बिमल राेय) काे असिस्टेन्ट थिए अनि उनी सचिन दा (संगीतकार एस डी बर्मन उर्फ संगीतकार सचिन देव बर्मन) काे। यसकारण, हामी सदैव एकअर्कासँग आफ्नो भविष्यकाे बारेमा कुरा गर्थ्याैं र आफ्ना सेक्रेट कुराहरु एकअर्कासँग साझा गर्थ्याैं। उनी मलाई बताउँथे कि उनी कस्ताे किसिमकाे संगीत रचना गर्न चाहन्छन्। म र पँचम (आर डी बर्मनकाे अर्काे नाम ‘पँचम’ पनि हाे) धेरै कम एकसाथ गीत रचना गर्न बस्याैं। उनी अत्यन्त सिर्जनशील, उर्जावान् र बिन्दास थिए। उठ्दा-बस्दा उनी धुन नै रचना गरिरहेका हुन्थे। धेरैजसाे धुन उनलाई कारमा बसेपछि फुर्ने गर्थ्याे। यदि उनी रेकर्डिङका लागि फिल्मसेन्टर गइरहेका हुन्थे भने मलाई बाटाेमा घरदेखि आफ्नाे साथमा लिएर जान्थे। जब हामी यात्रा गर्थ्याैं, तब उनी कारमा त्याे धुनलाई गुनगुनाउँदै जान्थे।

जब उनलाई धुन मिल्थ्याे, तब उनी त्यसलाई आफुभित्रै राख्नै सक्दैन थिए। एकचाेटि के भयाे भने हामी दुवै एकसाथ एकै ठाउँमा तर अलग-अलग कारमा गइरहेका थियाैं। अनि हामी ट्राफिक जाममा फँस्याैं। तब उनकाे दिमागमा एउटा धुन आयाे। त्यहीबेला एउटा कार हामी दुवैकाे कारकाे बीचमा आएर राेकियाे। उनले आफ्नाे ड्राइभरलाई कारकाे झ्याल खाेल्न लगाए। किनभने, उनी मसँग कुरा गर्न चाहन्थे। त्याे ट्राफिक जाममा नै उनले मलाई आफ्नाे धुन सुनाउन सुरु गरे। हामी दुईकाे बीच राेकिएकाे गाडीमा बसेकाे मान्छे अचम्मित भइरहेका थिए याे देखेर कि याे के भइरहेकाे छ? तर, उनी परे पँचम दा, पूर्ण रुपमा आफ्नाे धुनमा मदमस्त।

यहाँसम्म कि जब उनी धुन रचना गर्थे, तब त्याे गायकलाई पनि आफ्नाे आँखाकाे अगाडि ‘भिज्युलाइज’ गर्थे, जाे त्यस गीतलाई गाउनेवाला छन्। यसैले कुनै पार्टिकुलर गीतकाे लागि सँगीत वा धुन रचना गर्दा खेरि उनी जाेड दिदै भन्थे कि ‘याे त लता दी र किशाेर कुमारले मात्र गाउनेछन्।’ तर उनी मसँग याे पनि भन्थे, ‘जब म धुन रचना गर्छु, तब तिम्राे अनुहार मात्र देख्छु। याे मेराे लागि संकेत हाे कि म याे गीतलाई एकातिर राखुँ। म आफैसँग भन्छु कि याे गीत केवल उसैकाे फिल्ममा आउनेछ। अरु कसैलाई दिइने छैन।’ मेराे विचारमा याे मेराे लागि धेरै ठूलाे कंप्लिमेन्ट थियाे।

यहाँसम्म कि मानिसहरु पनि साेच्थे कि मेराे फिल्मकाे लागि उनकाे संगीत त्याे समयकाे बाँकी फिल्ममेकरहरुका फिल्महरुका संगीतभन्दा यति धेरै अलग कसरी हुन सक्थ्याे? यस्ताे यसकारण, किनभने म उनीमाथि पूर्ण रुपमा विश्वास गर्थे। अनि मैले उनीबाट धेरै कुरा सिकेकाे छु। जब उनी मेराे फिल्मकाे लागि सँगीत तयार गर्थे, तब म उनीसँगै हुन्थे। यहाँसम्मकी पँचम भन्थे, ‘धुन बनाउँदैमा गीत बन्दैन। तिमीले गीत पनि बनाउनुपर्छ र याे कुरा गुलज़ारले मात्र बुझ्न सक्छ।’ मैले उनलाई सदैव स्पेस दिए। मैले कहिले उनलाई याे भनेर हतार लगाइन कि मलाई मेराे गीतकाे धुन भाेलि नै चाहिन्छ। सेट लगाइन्दै छ। स्क्रिप्ट सुनिसकेपछि उनी जिद्दी गर्थे कि उनलाई फिल्मकाे बारेमा जान्नु छ। त्यसपछि मात्र उनी धुनमाथि काम गर्नेछन्। यसरी, उनी काम गर्थे।

एउटा यस किसिमकाे गीत थियाे मेराे फिल्म ‘किताब’ (१९७७) मा, ‘धन्नाें की आँखाें में…’। याे गीतमा ट्रेनकाे यात्राकाे हरेक माेडलाई दर्शाइएकाे थियाे। कुनै स्टेशनमा बिहान, कुनै स्टेशनमा राति अबेरकाे दृष्य, फेरि खाली स्टेशन, स्टेशनदेखि गुज्रिरहेकाे ट्रेन, यार्डमा इन्जिनमा पानी भर्दै गरेकाे, इन्जिनमा सल्किरहेकाे काेइला र एउटा दृष्य, जसमा इन्जिनहरुबाट धुवाँ निस्किरहेकाे छ, धुवाँकाे लामाे रेखा आकाशमा यस्ताे प्रतीत भइरहेकाे छ, मानाैं उडिरहेको घाेडामा कुनै घाेडसवारकाे स्कार्फ। उनी दृष्यकाे कल्पना गर्न सक्थे। उनी गीतलाई ‘भिज्युलाइज’ गर्न सक्थे। उनी याे माध्यमसँग राम्ररी परिचित थिए र उनी याे पनि जान्दथे कि कुन फिल्मलाई कस्ताे खालकाे सँगीत चाहिन्छ भन्ने कुरा, उनलाई यी सब कुरा राम्राेसँग थाहा थियाे। मेराे फिल्म ‘किताब’ ट्रेनकाे सेराेफेराेमा घुम्थ्याे। त्यसकारण म फिल्ममा एउटा ‘ट्रेन सङ’ चाहन्थे। म त्याे अनुभूति दिन चाहन्थे, जब ट्रेन आफ्नाे गाउँ हुँदै गुज्रिन्छ। त्यसैले मैले इन्जिन ड्राइभरलाई याे गीत दिए जाे ऊ आफ्नी पत्नीका लागि गाउँछन्, जब ट्रेन उनकाे गाउँ हुँदै गुज्रिन्छ।

‘धन्नाे की आँखाें में’ एक सामान्य धुन भएकाे सामान्य गीत हाे। तर, जसरी आर डीले यसलाई गाए, याे ‘ट्रेन्ड सेट्टर’ बन्याे। जब पहिलाेचाेटि याे धुन बज्याे, तब उनले यसलाई आफ्नाे सामान्य आवाजमा गाए। त्यसबेलै मैले याे निधाे गरे कि याे गीतलाई उनले (पँचमले) नै गाउनेछन् किनभने जसरी उनले गाए, त्यसरी अरु कसैले गाउनै सक्दैनथे। अब प्रश्न उठ्याे ट्रेन र चक्काहरुका आवाजलाई कसरी गीतमा समावेश गर्ने? आर डीले विदेशबाट एउटा सिंथेसाइजर मँगाए, जसमा एउटा साउन्ड थियाे, जसले ट्रेनकाे स्पीडकाे साउन्डकाे आभाष दिन्थ्याे। यसप्रकार हामीले साउन्डसँग ‘एक्सपेरिमेन्ट’ गर्ने विचार गर्‍याैं र सुरुदेखि लिएर अन्तिमसम्म त्यसलाई कायम राख्यौं।

याे मात्र एउटा ‘एक्सपेरिमेन्ट’ थियाे, जुन सफल भयाे। किनकि, याे इंस्ट्रुमेन्टले सारा साउण्ड ट्रयाककाे कमिलाई पूरा गरिदियाे, यसैले हामीलाई कुनै अन्य इंस्ट्रुमेन्टकाे आवश्यकता नै महसुस भएन। एकचाेटि जब गीत रेकर्ड भयाे र त्यसकाे छायाँकन भयाे, त्यसपछि हरेककाे कदम यस गीतकाे धुनमा थर्किन थाल्याे।

जब शम्मी (कपूर) जीले याे गीत हेर्नुभयाे, उहाँले गुनासाे गर्नुभयाे, ‘तिमीले याे गीतकाे लागि मलाई किन बाेलाएनाैं?’

मैले उहाँलाई भने कि, ‘फिल्ममा तपाईंको लायक कुनै भूमिका थिएन।’

तर उहाँले जाेड दिदै भन्नुभयाे, ‘तिमीले याे एउटा गीतकाे लागि मात्रै भए पनि मलाई बाेलाउनुपर्थ्याे।’

यसपछि, उहाँ जब-जब मलाई देख्नुहुन्थ्याे तब-तब यही कुरा झिक्नुहुन्थ्याे। भन्न थाल्नुहुन्थ्याे, ‘तिमीले त्याे गीतकाे लागि मलाई किन बाेलाएनाैं?’

म उहाँसँग माफी माँगिरहे।

तर मलाई थाहा छ कि याे मेराे लागि धेरै ठूलाे ‘कंप्लिमेन्ट’ हाे जुन शम्मीजीकाे तर्फबाट मलाई मिल्याे।

‘फिल्मफेयर’ बाट अनुवाद गरिएको

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID