‘दामुल’ (१९८५):- भारतीय समाजकाे क्रूर जातिय उत्पीडनलाई देखाउने सिनेमा

सिनेमा चर्चा

प्रभाष

भारतीय समाजमा दलितहरुकाे अवस्था, दलितहरुमाथि हुने अत्याचार, शाेषण र राजनीति, ग्रामीण सामाजिक शक्ति-सम्बन्ध, शक्ति-सङ्घर्ष वा शक्तिकाे लागि हुने वा गरिने राजनीतिलाई विस्तृतमा चित्रण गरेर प्रकाश झाले एउटा गम्भीर सिनेमा बनाएका छन् – ‘दामुल’ (१९८५)। जसले भारतीय समाजमा दलितहरुमाथि गरिने अत्याचार, शाेषण र राजनीतिकाे भयावह चित्र प्रस्तुत गर्छ। गरिबी, अशिक्षा, शाेषण, बेरोजगारी र छुवाछुतका कारण समाजमा निम्छराे अवस्थामा पुगेका दलितहरुलाई कसरी उनीहरुकाे यिनै कमजाेरी र बाध्यताकाे फाइदा उठाएर समाजका उच्च जातका शक्तिशालीहरुद्वारा उनीहरुकाे श्रमशाेषण, अपराधिकरण र राजनीतिक स्वार्थकाे लागि उनीहरुकाे उपयाेग तथा उनीहरुकाे नरसंहार समेत गरिन्छ भन्ने यथार्थकाे मार्मिक चित्रण यस सिनेमामा गरिएकाे छ।

गाउँका दुई शक्तिशाली ठालुबीच गाउँकाे शासनसत्ता आफ्नाे मुट्ठीमा पार्ने सङ्घर्ष चलिरहेकाे हुन्छ। यसैक्रममा एकजना ठालूले आफ्नाे धरातल कमजाेर देखेपछि गाउँकाे जातिय गणितकाे हिसाब-किताब गरेर दलित समुदायलाई उचाली उनीहरुकाे मुख्य मान्छेलाई चुनावमा सरपञ्च (गाउँप्रमुख) काे पदमा उठाउँछ र आफुले पछाडिबाट समर्थन गरिदिन्छ। त्यसपछि त्यहाँ सत्ता, शक्ति वा वर्चस्वकाे लागि जेजस्ताे लडाइँ, मारकाट, खूनखराबा र कत्ले-आम हुन्छ वा गरिन्छ त्यसले भारतकाे ग्रामीण लाेकतन्त्रकाे सबैभन्दा कुरुप तस्वीरलाई उजागार गर्दछ।

‘दामुल’ का प्रमुख कलाकारहरु

गाउँकाे शक्ति साेपानतन्त्र, साे साेपानतन्त्रकाे उच्चस्थानमा रहेका वर्चस्वशालीहरुद्वारा पीँधमा रहेका दलितहरुमाथि गरिने शाेषण र अत्याचार, गरिब दलितहरुलाई परिबन्दमा पारि उनीहरुलाई बंधुवा मजदुर बनाउने र उनीहरुबाट अपराध गराउने प्रवृत्ति, सामन्ती शाेषण, जातिय शाेषण एवं राजनीतिकाे अनेकाैं आयामदेखि लिएर दलितहरुकाे जेनाेसाइडसम्म कसरी ग्रामीण राजनीतिकाे अभिन्न हिस्सा बन्ने गरेकाे छ भन्ने सत्यसँग यस सिनेमाले साक्षात्कार गराउँछ।

‘दामुल’ मूलभूत रुपमा बिहार, गयाका मूलनिवासी शैवालकाे कथा ‘कालसूत्र’ माथि आधारित छ। जमिनदारहरुद्वारा ऋणकाे पासाे लगायतका अनेक परिबन्धमा पारेर बंधुवा मजदुर बनाई मृत्युपर्यन्तसम्म शाेषण, अपराधिकरण र वध समेत गरिने दलितहरुकाे कथा यसले भनेकाे छ। ‘दामुल’ ले सन् १९८४ काे बिहारलाई केन्द्र बनाए पनि सिङ्गाे भारतकाे दलितहरुकाे साङ्गाेपाङ्गाे अवस्था यसले प्रस्तुत गर्दछ। गरिबी र राेजगारकाे अभावका कारणका बिहारका गरिब मजदुरहरु गाउँमा ठेकेदारकाे प्राेजेक्टमा सस्ताेमा श्रम गर्नेदेखि लिएर पञ्जाबमा श्रम गर्न जाने प्रसङ्गसमेत यसमा समावेश छ।

शैवालकाे कथासँग्रह

स्वतन्त्रता पश्चातका सिनेमाहरुमा सामाजिक र जातिय अन्तर्विराेधलाई यति हदसम्म उजागर गरेर यसअघि कसैले सिनेमा बनाएकाे थिएन। ‘दामुल’ हेरिसकेपछि धेरै दिनसम्म मस्तिष्कमा उथलपुथल भइरहन्छ। ‘दामुल’ हेर्नुभन्दा पहिले मानिसहरुले भारतीय समाजमा दलितहरुकाे अवस्था यतिसाह्राे भयावह हाेला भनेर साेचेका हुदैनन् (साेच्न पनि सक्दैनन्) तर ‘दामुल’ हेरिसकेपछि भने उनीहरुकाे पर्सेप्सन बदलिन्छ। यसले उनीहरुलाई दलितहरुकाे अवस्थाबारे पटकपटक साेच्न बाध्य बनाउँछ। उनीहरुकाे मथिङ्गललाई नै खल्बलाइदिन्छ ‘दामुल’ ले। ग्रामीण सामन्तवादी समाजमा भइरहेकाे दलित शाेषण र हिंसाकाे कहालीलाग्दाे सत्यसँग साक्षात्कार गरिरहन्दा हृदय काँप्छ। दृष्यहरु हेर्दा कहाली लाग्छ।

‘दामुल’ ले प्रकाश झालाई सर्वाङ्गीन फिल्मकर्मीकाे रुपमा स्थापित गर्छ। सर्वाङ्गीन यस अर्थमा कि यस सिनेमाकाे स्क्रीप्टलेखन, निर्माण तथा निर्दैशनका सबै काम उनैले गरेका हुन्। याे पनि दुर्भाग्यकै कुरा हाे कि यसअघि दुईवटा डकुमेन्ट्री र एउटा फिचर फिल्म बनाएका प्रकाश झाले यसपछि ‘दामुल’ जतिकाे डार्क सिनेमा कहिल्यै बनाएनन्।

‘दामुल’ काे एउटा दृष्यमा दिप्ति नवल

‘दामुल’ मा कुनै मसाला छैन, मेलाेड्रामा छैन, याे सिनेमा कुनै सुत्रमा बाँधिएकाे छैन, पूर्ण रुपमा डकुमेन्ट्री शैलीमा याे सिनेमा बनेकाे छ तर पनि याे सिनेमाले दर्शकहरुलाई जबर्जस्त रुपमा बाँधेर राख्छ। ‘दामुल’ निसन्देह सर्वश्रेष्ठ समानान्तर हिन्दी सिनेमाहरुकाे सूचिमा अग्रस्थानमा पर्छ। बिषयवस्तु, चरित्र, घटनाहरु, छायांकन र निर्दैशनकाे दृष्टिले याे सिनेमा अब्बल छ, कतै पनि खाेट लाउने ठाउँ भेटिन्दैन। अन्नु कपूरकाे यति बढिया अभिनय त्यसपछि सिनेमाहरुमा कहिल्यै देखिएन। दीप्ति नवलले पनि सजीव अभिनय गरेकी छन्। ‘दामुल’ राष्ट्रिय फिल्म पुरस्कारबाट पुरस्कृत सिनेमा पनि हाे।

दिप्ति नवल

‘दामुल’ हेर्नुपर्ने सिनेमा मात्र हाेइन, पढ्नुपर्ने, साेच्नुपर्ने र बुझ्नुपर्ने सिनेमा हाे। याे विचाराेत्तेजक (अर्थात् चिन्तन्-मनन् गर्नुपर्ने) सिनेमा हाे। ‘दामुल’ हिन्दी सिनेमाकाे ईतिहासमा एक अविस्मरणीय सिनेमा हाे। दलित मुक्तिबारे शाेध गर्ने, चिन्तन गर्ने र दलित मुक्ति आन्दाेलनमा लागेका व्यक्तिहरुले त याे सिनेमा हेर्न छुटाउनै हुँदैन।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID