सायद अब उनीसँग केहिल्यै भेट हुने छैन !

गणतन्त्रनेपाल समाचारदाता

पानी नपरेकाले मौसम सफा थिएन नै, वरिपरिको वातावरण पनि फोहोर थियो। शनिबार शिवरात्री परेकाले अफिसबाट आइतबार र सोमबार बिदा लिई पशुपति दर्शन गर्ने तयारीमा लागेँ।

शुक्रबार बेलुका काठमाडौं यात्राका लागि म पृथ्वीचोकतिर लम्किरहेको थिएँ। रातिको यात्रा तय गरेँ। भोलिपल्ट बिहानै पशुपतिको दर्शन गर्ने सोच थियो मेरो पनि।

साँझको समय गाडी कम चलिरहेको थिए। एउटा डिलक्स गाडी आइपुग्यो ‘काठमाडौं! काठमाडौं’ भन्दै। नवौं सिट खाली रहेको जानकारी पाएर म अविलम्ब भित्र छिरेँ। तर कस्तो संयोग परेछ भने सँगैको सिटमा पहिला सँगै पढाउदाँको सहकर्मी साथी अन्जान परेछन्।

महिनौं दिन भएको थियो भेटघाट नभएको। डिजिटल युग भएकोले फोनबाट सम्पर्क भने २/३ दिनको अन्तरालमा हुने गर्थ्यो। सँगै एउटै सिटमा परेकाले दुवै खुसी थियौँ। हामी दुवै पहिलेदेखि खुलेर कुराकानी गर्ने भएकाले होला मनका कुरा भन्न कुनै संकोच मान्नुपर्ने थिएन।

बस पृथ्वीचोकबाट पूर्वतिर हुइँकियो। सँगै गीत पनि घन्कियो- ‘यात्रा रहेछ जिन्दगी यो…’

यात्राका क्रममा गीत सुन्दा पृथक अनुभूति हुन्छ मलाई। यात्रालाई सहज बनाउन गीत संगीतको विशेष भूमिका रहन्छ। म एकछिन आँखा चिम्लेर गीत सुनिरहेँ।

अमरसिंह चोक पुगेपछि बस रोकियो। सोचेँ कोही यात्रुलाई कुर्नलाई होला। यही बेला अन्जानसँग अन्य हालखबर सोधखोज गर्न थालेँ।

‘कतासम्मको यात्रा हो मित्र?’

उनले जवाफ दिए, ‘भोलि चितवनमा भतिजको व्रतबन्ध भएकाले त्यतै लागेको, अनि तिमी नि?’

मैले जवाफ काठमाडौं पशुपतिको दर्शन गर्न जान लागेको बताएँ।

उनी एकछिन मौन रहे र फेरि मनको बह भन्न सुरु गरे- ‘अबदेखि म कहिले शिवरात्रीमा पशुपति जान्न यार, मलाई यस दिनले पीडा दिन्छ।’

‘के भयो र अन्जान?’

‘जे नहुनु थियो त्यही भयो,’ उनले भने।

‘मतलब?’

‘सृजल, तिमीलाई थाहा थियो नि मेरो र कृतिको सम्बन्धको बारेमा, त्यो सदाको लागि पूर्णबिराम लाग्यो।’

‘कसरी अन्जान? यो कसरी हुनसक्छ?’

मलाई उनीहरूको जोडी ढुकुरका जोडी जस्तो खुब मिल्ने लाग्थ्यो। कृतिको घर धनगढी थियो, ऊ पोखरामा मामाको घर बसेर पढ्थी। अन्जानको घरै पोखरा थियो। अन्जानले मलाई उनीहरूबीचको सम्बन्धको बारेमा भन्ने गर्थे। उनी ढुक्क थिए आफ्नो जीवनसाथी कृति हुने विषयमा।

कृति ब्याचलर पढ्दै गर्दा अन्जान माध्यमिक तहमा स्थायी शिक्षक थिए। यिनीहरूबीच यति निकटता थियो कि दुवैका घरमा पुगेर समेत खाना खाएका थिए र परिवारलाई समेत उनीहरूको सम्बन्ध थाहा थियो। तर उनीहरूको जात भने फरक थियो।

अन्जानले पछि अप्ठ्यारो पर्ला कि भनेर बेलाबेलामा यही कुरा झिक्थे तर कृतिले ‘जातले ठूलोसानो हुने होइन, सोच विचारले सम्बन्ध रहने हो। चिनाले जिन्दगी बनाउने होइन, जिन्दगी बनाएर चिनाउने हो’ भनेर सहजै जवाफ दिन्थी।

कृति मलाई साँच्चिकै बुझ्ने र सहयोगी मान्छे लाग्थ्यो। उनीहरूको जोडीलाई जिस्काउँदै भन्ने गर्थें- ‘सुटुक्क भागेर जाउला नि फेरि।’

कृति तुरुन्तै जवाफ दिन्थी- ‘हाम्रो बिहेमा त सरकारले राष्ट्रिय बिदा दिनेछ, चिन्ता नलिनुस्।’

मानिस बाहिर जस्तो देखिन्छ ऊ त्यस्तै नहुन सक्छ। कृत्रिम हाँसोको कारणले उसलाई मूल्यांकन गर्न कठिन पर्छ। मैले यही अनुभूति गरेँ।

अन्जानले मेरो काँधमा आफ्नो टाउको आडेस लिँदै भने- ‘म अभागी रहेछु सृजल, ४ वर्षमा आमा गुमाएँ, १२ वर्षमा दिदी गुमाएँ। बुबाले मेलापात गर्दा दिएको मकैको सातु खुवाएर मलाई हुर्काउनु भयो। कृतिले मलाई सपना सधैं ठूलो देख्नुपर्छ भन्थी। पोहोर साल शिवरात्रीमा सँगै ५ घण्टा लाइन बसेर पशुपतिको दर्शन गरी दूध चढाइयो।

साँझ कृति मबाट बिदा भएर बहिनीको कोठामा गएर बसिन्, म चाबहिलस्थित एक होटलमा एक्लै बसेँ। भोलिपल्ट बिहान कृतिलाई भेट्न निकै कोसिस गरेँ। म दिनभर केही नखाई बौद्ध स्तुपामा कुरिरहेँ। कसैसँगको आशक्तिले मान्छेलाई कमजोर बनाउँदोरहेछ सृजल। स्तुपामा कुरिरहँदा बेलाबेलामा भक्कानिन्थेँ। पुरुषलाई रुनलाई छुट कहाँ छ र? रुनलाई पनि एकान्त खोज्नुपर्ने रहेछ।’

अन्जानले थप्दै थिए, ‘यति धेरै बिन्ती गरेपछि कृति ४ बजे आइपुगिन्। एकछिन गफगाफ गरी एउटा जेरी र मनपर्ने किताब कृतिको हातमा थमाएर म बिदा भएँ। कृति काठमाडौं बसेपछि विस्तारै चेन्ज हुँदै थिइन्। बेलाबेलामा घरबाट बिहेको प्रस्ताव आएको छ भन्थिन्।

गएको असारमा जन्डिसको कारणले एक हप्ता आइसियुमा बस्नुपर्ने भयो मलाई। यही बेला उनको बारम्बार फोन आयो। मेरो अवस्था भनुँ भने झन् अत्तालिन् भनेर बुबाले भरे गर्नू भन्दै फोन राख्न लगाएँ। तर बेलुका उनलाई फोन गर्न खोज्दा अफ भन्यो। सयौँ म्यासेज गर्दा अन्तिममा एउटा जवाफ आयो- अन्जान, अबदेखि फोन म्यासेज केही नगर्नू, मेरो मंसिर ५ गते बिहे हुँदैछ। तर तिमी नै मेरो जिन्दगीको पहिलो माया हौ।

म झन् छटपटीमा परेँ। म छाँगाबाट खसेजस्तो भएँ, चिच्याएर रुन मन थियो हस्पिटल थर्किने गरी तर रुने छुट कहाँ छ र!’

यति भन्दा हामी चढेको बस कोत्रे कटिसकेको थियो। मैले अन्जानलाई नरोऊ भन्न सकिनँ। म निरीह भएँ। कुनै बेला मेरो आँखा रसाइरहन्थे, कुनै उपन्यासको कहानी सुन्दैछु जस्तो लाग्थ्यो। लामो सास तान्दै सोच्थेँ, आखिर भाग्यमा जे लेखेको छ भोग्नुको विकल्प के छ र!

‘सृजल, म रित्तो भएझैं लाग्छ। पहिले जसरी शिर ठाडो पारेर हिँड्न सकिरहेको छैन। अब परिवारलाई त ढाँट्न सकुँला, आफूलाई खै कसरी ढाँटु? सृजल, सपनामा पनि आमालाई पत्र लेखेर पठाएको देख्छु, खै मेरी आमाको प्रतिउत्तर आउँला र?

कृतिलाई पछि सम्पर्क गर्न निकै कोसिस गरेँ तर सकिनँ। उनलाई अन्तिम पटक भेट्ने सोचमा उनले पहिले दिएको घरको ठेगाना धनगढी भएकोले मंसिर ३ गते जहाजको टिकट लिएँ। तर अपसोच हुस्सु र तुँहालोको कारण पोखराबाट कुनै उडान हुन सकेन। सोही दिन बेलुका नै डिलक्स टिकट काटेर धनगढी तिर लागेँ।’

अन्जान लामो सास तान्दै भन्दै थिए। तर सान्त्वना दिनेसम्म साहस थिएन ममा। अन्जान आफ्नो बह पोखिरहे- ‘बेलुकी ७ बजे डिलक्स बस चढेँ। बस रफ्तार गतिमा थियो जसरी मेरो हृदय चलिरहेको थियो। तनहुँको बिमलनगरमा पुगेर खाना खान आधा घण्टा रोक्यो र फेरि यात्रा उहीँ गति लियो।

पश्चिमतिरको मेरो यात्रा पहिलो थियो। मुग्लिङ, नारायणगढ हुँदै १२ बजे बुटवल पुग्यो र ट्राफिक चोक हुँदै कपिलवस्तु, गोरुसिगेमा पुगेर एकछिन रोकियो। मैले कृतिलाइ म्यासेज गरेँ- म भोलि बिहान तिम्रो घर आइपुग्छु है, तयारी भएर बस्नू।

बसको गति एकनास थियो। भालुवाङ हुँदै लमही कोहलपुर पुगेर नास्ता गर्न एकछिन अडियो र बिहानको खाना बासगढी बजारमा पुगेर खाने जानकारी पाएँ। मलाई कतिबेला धनगढी पुगौँ जस्तो भैरहेको थियो, मन बतासिएको थियो। बाटोमा केही खान मन लाग्ने होइन। ९ बजे खाना खाएर बस बासगढीबाट पकौरा बजार हुँदै बर्दिया राष्ट्रिय निकुञ्ज प्रवेश गर्दै थियो, बाटोमा ठूलो भिड देखियो।

गएराति एकजना महिलालाई बाघले आक्रमण गरी मारेछ। त्यसकारण यसअघि जाने कर्णाली पुल र लमही बजार पूरै बन्द रहेको जानकारी पाएँ।’

अन्जानले मलाई कोट्याउँदै भने- अत्यास त लागेको छैन नि सृजल?

उनले फेरि भनेँ, ‘मेरो मनमा चिसो पस्न थालेको थियो भरेसम्म नि पुग्दिनँ कि भनेर। मन यसै भारी भएको छ। बल्लबल्ल दोहोरो वार्तालाप गरेर १२ घण्टापछि बस गुड्न थाल्यो। बस सुख्खड, घोडाघोडी ताल हुँदै अत्तेरिया पुग्यो तर म चढेको बस अत्तेलियाबाट देब्रे मोडिँदै चौराहा कटेर क्याम्पस रोड पुग्दा बसको पट्टा भाँचियो।

म बस बाहिर टाउको समातेर बसिरहेँ। लमहीबाट मिस्त्री बोलाएर बस गुड्दा सोमबारको १ बजिसकेको थियो। महाकाली नदी टनकपुर, प्रगति चोक हुँदै बेलि गाउँ जाँदा सो बससँग एउटा बिहेको बस बेहुली लिएर फर्केको अवस्थामा क्रस भयो।

गाडीको अगाडि फोटोसहितको पोस्टर थियो- कृति+लक्ष्मण। म अब मनेरा पुग्नुको अर्थ रहेन। गाडी रोक्न इसारा गरेँ र त्यही झरेँ। कृतिको मुख देख्न नपाई फर्किएँ। अब सायद उनीसँग जिन्दगीमा कहिल्यै भेट हुँदैन होला।’

अन्जानको वेदनायुक्त भोगाइ सुन्दै जाँदा बाटो कटेको पत्तै भएन। हामी चढेको बस मुग्लिङ पुगेछ। अन्जान मलाई ‘शुभयात्रा’ भन्दै आफू झरे। म केबल हात हल्लाउँदै उनको बाटो हेरिरहेँ।

सेतीमा प्रकाशित भैसकेको

मा प्रकाशित