टिकटकमा भेटेको प्रहरीसँग प्रेम, ‘विवाहित’ भन्ने थाहा पाएर ‘ब्रेकअप’ दिएपछि बलात्कारको उजुरी !

गणतन्त्रनेपाल समाचारदाता

पीडित बताउने सराकुमारी शाही र आरोपित प्रहरी जवान (उनी वास्तविक परिचय र अनुहारसहित खुलेकी कारण फोटोमा देखाइएको)

सुर्खेत । जाजरकोट जुनीचाँदे-९ पन्चालाकी सराकुमारी शाही सुर्खेत बस्थिन् । ‘प्लस टु’ सकेकी उनी निम्न माध्यमिक तहसम्म पढाउन शिक्षक लाइसेन्स परीक्षाको तयारीमा थिइन् । सराकुमारीको परिवार गाउँमै थियो । उनी एक्लै सुर्खेत बस्थिन् । एकदिन टिकटक चलाउने क्रममा मोबाइल स्क्रिन स्क्रोल गर्दै जाँदा प्रहरीको ड्रेस लगाएका एक युवाको भिडिओ भेटिन् ।

अग्लो कद, पातलो ज्यान, मुसुक्क हाँसेको भिडिओ, उनको आँखा टक्क अडियो । सराकुमारीलाई त्यो भिडिओ मन पर्‍यो। उनले भिडिओमा ‘लभ रियाक्ट’ गर्दै ती युवाको प्रोफाइल भिजिट गरिन् । नाम थियो, भूपेन्द्र सिंह ठगुन्ना (Bhupendra Shing Thagunna)। उनले फलो गरिन् । भूपेन्द्रको अन्य केही भिडिओ हेरेर ‘ लभ रियाक्ट ’ र कमेन्ट पनि गरिन् ।

एकैछिनमा उताबाट पनि ‘फलोब्याक’को नोटिफिकेसन आयो । भूपेन्द्रले सराकुमारी (Sarakumari Shahi)को टिकटक ‘रिक्वेस्ट एसेप्ट’मात्र गरेनन् केही भिडिओमा लभ रियाक्ट पनि गरे । केही भिडिओमा कमेन्ट पनि गरे । यसरी ‘लभ रियाक्ट’ र कमेन्ट गरागरपछि दुईबीच टिकटककै म्यासेजमा हाइहेल्लो सुरु भयो । एक दुईदिन लामै समय टिकटककै म्यासेजमा कुराकानी भयो ।

पीडित बताउने सराकुमारी शाही (उनी वास्तविक परिचय र अनुहारसहित खुलेकी कारण फोटोमा देखाइएको)

त्यही ह्वाटस्एप्स नम्बर आदानप्रदान भयो । फेसबुक आइडी पनि साटासाट भयो । अब भूपेन्द्र र सराकुमारी टिकटकमा मात्र सीमित रहेनन्, म्यासेन्जर र ह्वाट्सएपस्मार्फत् फोनकलमा कुराकानी गर्न थाले । दुईबीच यसरी नियमित कुराकानी हुँदा भेटघाट गर्ने कुरा भयो । प्रहरी जवान भूपेन्द्र पनि सुर्खेतमै ड्युटी गर्थे । सराकुमारी पनि उतै थिइन् ।

फोनमा बोल्दै जाँदा र भेटघाट हुँदैजाँदा दुवैजना नजिकिए । उनीहरू आपसमा प्रेममा परे । टिकटकमा फ्रेण्ड्सबाट सुरु आएको सबन्ध प्रेममा परिणत भइसकेको थियो । भूपेन्द्र सराकुमारीको कोठामा गइरहन्थे । बाहिर पनि उत्तिकै भेट भइरहन्थ्यो । केही महिनापछि भूपेन्द्रको सरुवा काठमाडौंमा भयो । अब उनले सुर्खेत छाड्नुपर्ने भयो ।

अब दुईजना भौतिकरूपमा टाढा हुने भए । सर्वोच्च अदालतमा सरुवा भएका भूपेन्द्र काठमाडौं आए । सराकुमारी सुर्खेतमै रहिन् । केही महिना दुवै जनाबीच भेटघाट भएन । तर, फोनमा भने कुराकानी हुन्थ्यो, तर पहिले झैँ बाक्लो थिएन । सराकुमारीको निम्न माध्यमिक तहसम्म पढाउने शिक्षक लाइसेन्सको परीक्षा आयो ।

संयोग बस् परीक्षा सेन्टर काठमाडौंमै पर्‍यो । काठमाडौंको मैतीदेवीमा कोठा लिएका भूपेन्द्रको ड्युटी सर्वोच्च अदालतमा हुन्थ्यो । परीक्षा दिन काठमाडौं आएकी प्रेमिका सराकुमारीलाई भूपेन्द्रले आफ्नै कोठामा राखे । केही दिन भूपेन्द्रको कोठामा बसेपछि सराकुमारी सुर्खेत फर्किइन् ।

यतीबेलासम्म दुईबीच सुमधुर सम्बन्ध रह्यो । सराकुमारी सुर्खेत गएपछि भूपेन्द्रले पहिला झैँ वास्ता गर्न छाडे । लामो समय फोनमा कुरा गर्ने भूपेन्द्रलाई सराकुमारीको फोन आउँदा झर्को लाग्न थाल्यो । म्यासेन्जरमा आउने लामो म्यासेजले ‘इरिटेड’लाग्न थाल्यो । प्रेमीको व्यवहारमा परिवर्तन आएपछि सराकुमारीलाई स्वभावतः नरमाइलो लाग्ने नै भयो ।

पहिल्यै दुईबीच बिहे गर्ने समझदारी भइसकेको थियो । सराकुमारीले भूपेन्द्रलाई बिहे गर्ने बाचा स्मरण गराइन् । टाढिनुको कारण सोधिन् । भूपेन्द्रले बहाना बनाउँदै भने, ‘‘तिमीले मलाई किन ढाँट्यौ । तिम्रो पहिल्यै बिहे भइसकेको रहेछ । बिहे भइसकेको केटीलाई मैले बिहे गरेँ भने मेरो घरमा स्विकार्दैनन् । यसैले हामी ‘ब्रेकअप’ गरौँ ।’’ ‘ब्रेकअप’ कुराले सराकुमारी रिसाइन् । ‘

‘बिहे गर्ने भनेकै कारण मैले मेरो जोवन सुम्पेको हुँ । मलाई भरपुर ‘यूज गरेर छोड्ने रु’’ भन्दै आक्रोश पोखिन् । सराकुमारीले जसरी पनि बिहे गर्नैपर्नै अडान लिइन् । उता भूपेन्द्रले भने आफूले माया गर्ने भए पनि परिवारको कारण बिहे गर्न नसक्ने सुनाए । ‘‘तिमी बिहे भइसकेको मान्छे, म कुमार केटो । म बिहे गर्न सक्दिन । मेरो घरमा मान्दैनन्’’ सराकुमारीलाई सम्झाउने कोसिस गरे ।

तर, भूपेन्द्रसँग सपना सजाइसकेकी सराकुमारीलाई बिछोडिन गाह्रो पर्‍यो । पहिला सम्बन्ध राम्रो हुँदा भूपेन्द्रको परिवारसँग समेत सराकुमारीले कुरा गरिसकेकी थिइन् । ‘‘तिमीलाई भित्राउन हामी तयार छौँ’’ भूपेन्द्रका आमा र दिदीहरूले भन्थे । यसैले सराकुमारीले भूपेन्द्रको परिवारको सहारामा उनलाई मनाउने कोसिस गर्न खोजिन् ।

भूपेन्द्रको परिवारले बुहारी बनाउने बाचा गरिसकेका थिए । भूपेन्द्रसँग कुरा नमिलेपछि सराकुमारीले भूपेन्द्रको परिवारलाई सम्पर्क गरिन् । तर, भूपेन्द्र टाढिएपछि परिवार पनि आफ्नो पक्षमा नरहेको थाहा पाइन् । भूपेन्द्रलाई सम्झाइदिन भन्दै सराकुमारीले भूपेन्द्रको परिवारसँग कुरा गरिन् । उल्टै आफूलाई भूपेन्द्रको दिदी र बुबाआमाबाट धम्की आएको सराकुमारीको गुनासो छ ।

‘‘केटाले बिहे गर्छु भनेर मलाई आश्वासन दियो । उसको परिवारसँग पनि कुरा भएको थियो । आमा(दिदीसँग पनि कुरा गरेको थिएँ । तर, अहिले धोका पाएँ,’’ उनी भन्छिन् । भूपेन्द्र टाढा भए । परिवारले पनि गाली गरे । त्यसपछि सराकुमारीले आफूलाई अन्याय भएको महसुस गर्दै बलात्कारको जाहेरी लिएर जिल्ला प्रहरी कार्यालय सुर्खेत पुगिन् । सबै विवरण सुनिसकेपछि प्रहरीले जाहेरी लिन मानेन ।

‘‘डीएसपी सापले मेरो जाहेरी च्यातेर डस्बिनमा फाल्नुभयो । मेरो बलात्कारको झुटो आरोप लिएर आएको भनियो । म वास्तविक पीडित हुँ । किनकि मलाई बिहे गर्ने आश्वासन दिएर शारीरिक शोषण गरिएको छ । शारीरिक शोषण गरेर बिहे नगर्नु भनेको एक हिसाबले बलात्कार नै हो’’ सराकुमारीको दुखेसो छ ।

आरोपित प्रहरी जवान

प्रहरी चौकीबाट न्याय नपाएपछि सराकुमारी केही महिला अधिकारकर्मीको सम्पर्कमा पुगिन् । अधिकारकर्मीकै सहायतामा जिल्ला सरकारी वकिल कार्यालय गइन् । त्यहाँ भने बलात्कार मुद्दा दर्ता भएको उनले बताएकी छिन् । ‘‘प्रहरीले उजुरी नलिएपछि सरकारी वकिल कार्यालयमा बलात्कार मुद्दा दायर गरेको छु । उसलाई कारबाहीको लागि प्रोसेस भइरहेको छ’’ सराकुमारीले भनिन् ।

मुद्दा परेपछि भूपेन्द्र जागिरमा निलम्बनमा परेका छन् । प्रहरीको आन्तरिक नियम अनुसार निलम्बनमा परेका छन् । सायद उनी मुद्दाको टुङ्गो नलागेसम्म निलम्बनमै रहनेछन् । आरोपित प्रहरी जवान दोषी ठहर भएमा जागिरबाट बर्खास्त मात्र हुनेछैनन्, जेल समेत जानुपर्नेछ । यदि उनले बलात्कार गरेको दाबी नपुगेमा निलम्बन भएको मितिदेखिको सेवा सुविधासहित पुनर्बहाली हुनेछन् ।

अहिले सराकुमारी विभिन्न युट्युब च्यानलमा अन्तरवार्ता दिँदै भूपेन्द्रमाथि आरोप लगाइरहेकी छिन् । आफ्नो गर्भ बसेको देखिएको भन्दै परीक्षण गरेको किट देखाउँदै (रातो दुई धर्का देखिएको) युट्युबलाई अन्तरवार्ता दिइरहेकी छिन् । भूपेन्द्रले आफूमाथि बलात्कार गरेर गर्भ बसेको र कुटपिटबाट गर्भ खेर गएको जिकिर गरेकी छिन् । ‘बिहे नगरी छाडेको कारण बलात्कार मुद्दा हाल्नुपरेको’ उनको दाबी छ।

बिगतदेखि अहिलेसम्मको घटना संक्षिप्तमा स्मरण गर्दै सराकुमारी भन्छिन्, ‘‘टिकटकमा भेट भयो । त्यहीबाट फोन नम्बरसहित फेसबुकमा साथी बनियो । पछि फेसबुकमा बोल्न थालियो । एकदिन दुईदिन गर्दै च्याट भयो । पछि भेट भयो । उहाँ मेरो कोठामा नियमित आउने गर्न थाल्नुभयो । मेरो पेटमा बच्चा बस्यो ।

मलाई एकदिन पेटमा लात हान्नुभयो । बच्चा खेर गयो । पछि मलाई वास्ता गर्न छाड्नुभयो । बिहे गर्छु भनेर मसँग शारीरिक सम्बन्ध राख्नुभयो । तर छाड्नुभयो । अनि म कति सहनु भनेर मिडियामा आएँ ’’ आफू मुद्दामामिलामा गएपछि भूपेन्द्रले धम्क्याएको उनको गुनासो छ । साथै भूपेन्द्रले अश्लील गाली गर्दै धम्की दिएको केही अडिओ म्यासेज समेत सार्वजनिक गरेकी छिन् ।

जहाँ भूपेन्द्रले उनलाई गाली गरेको सुनिन्छ । भूपेन्द्रविरुद्धको मुद्दा फिर्ता लिन भन्दै एसपी, डीएसपीदेखि कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले समेत आफूलाई धम्क्याएको सराकुमारीको आरोप छ । ‘‘तँ कहाँ जान सक्छेस् जा भन्छन् । मुद्दा हालेहाल तर, मलाई केही गर्न सक्दिनस् भनेर धम्क्याउँछन् । एसपी डीएसपीदेखि कांग्रेसका पूर्ण खड्कालाई समेत मलाई धम्काउन लगाउनुभयो ।

मान्छे लाउने धम्की दिने राति १ बजे लगेर मेडिकल गराउने गरे ’’ सराकुमारीको आरोप छ । सराकुमारीले भूपेन्द्रले आफूसँग बिहे गरेमा आरोप फिर्ता लिने समेत बताउँदै आएकी छिन् । ‘‘मेरो गुनासो मसँग बिहे गर्छ भन्यो । मेरो शरीरसँग खेल्यो । तर अहिले किन छाड्यो भन्ने हो । यदि अझै पनि बिहे गर्छ भने मुद्दा फिर्ता लिन्छु ’’ उनी आफ्नो अडान सुनाउँछिन् ।

यता, भूपेन्द्रले भने बलात्कारको आरोप अस्वीकार गरेका छन् । आफूहरूबीच प्रेम सम्बन्ध मात्र रहेको भनेको स्विकारेका छन् । ‘बिहे गर्ने आश्वासन दिएर यौन शोषण किन गरेको रु’ भन्ने प्रश्नमा भूपेन्द्र भन्छन्, ‘‘सहमतिमा प्रेम भयो । बलात्कार गरेको छैन ।’’पहिला प्रेम हुँदा आफूहरूबीच बिहे गर्ने कुरा भए पनि सराकुमारीको पहिल्यै बिहे भएको थाहा पाएर टाढिएको जिकिर गरेका छन् ।

आफू टाढा भएपछि उनले बिहे गर्नैपर्छ नत्र बलात्कारको मुद्दा हालेर फसाउँछु’ भन्दै धम्क्याएको आरोप लगाएका छन् । भूपेन्द्र भन्छन्, ‘‘टिकटमा हाम्रो भेट भयो । पछि फोन नम्बर साटासाट भयो । अनि भेट भयो । बोलियो, भेटियो । मेरो बिहे भएको छैन । उनले पनि आफ्नो बिहे भएको छैन भनिन् । हाम्रो प्रेम सबन्ध भएको हो । तर, मैले पछि थाहा पाएँ कि उनको बिहे भइसकेको रहेछ । बुढा छाडेर बसेकी रहिछन् ।

त्यो थाहा पाएपछि म उनीबाट टाढा हुन खोजेको हुँ । तैपनि म स्विकार्थे । अरू धेरै केटाहरूसँग ‘मेरो बुढो’ भनेर च्याट गरेको देखेँ । अनि म टाढिएँ । म टाढा भएपछि उनले मलाई बिहे गर्नैपर्छ, नत्र म बलात्कारको मुद्दा हालेर फसाउँछु भनिन् । मलाई बिना कारण आरोप लगाएर फसाइन् । अहिले म निलम्बनमा छु । अदालत धाइराको छु । उनी पीडित होइन म चाहिँ पीडित हुँ ।’’ नेपाल भ्युज

 

मा प्रकाशित