पत्रकार महासंघमा सबै अटाउने खाका चौतारीले तयार पारेको छ: प्रियासन

गणतन्त्रनेपाल समाचारदाता

दाङ, बैशाख ८ । प्रेस चौतारी नेपालका केन्द्रीय उपाध्यक्ष सविन प्रियासनले नेपाल पत्रकार महासंघको तीनै तहको निर्वाचनलाई सर्वसम्मत बनाउनका लागि चौतारीले सक्दो प्रयास गरिरहेको बताउनु भएको छ ।

प्रेस चौतारी नेपाल दाङले नयाँ वर्षको अवसर पारेर तुलसीपुर ७ स्थित राप्ती शान्ति उद्यान अर्थात गणेशपुर पार्कमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रियासनले पत्रकार महासंघको नयाँ कार्यसमिति निर्माण गर्दा सबैलाई अटाउने खाका

चौतारीले तयार पार्ने जानकारी दिनुभयो । कार्यक्रमका प्रमुख आतिथि समेत रहनु भएका प्रियासनले सर्वसम्मतको कुरा गर्दा सबैले आफ्नै नेतृत्वमा मात्र सर्वसम्मत हुन्छ भन्ने भावना त्याग्ने हो भने महासंघलाई सबैको साझा बनाउन सकिने बताउनुभयो । शुभकामना आदानप्रदानसंगै शान्ति उद्यान पार्कको दीर्घकालीन विकासका लागि मिडियाको भुमिका तथा समाजमा बढ्दो लागु औषध दुव्र्यसन नियन्त्रण विषयमा समेत उक्त अबसरमा छलफल गरिएको थियो ।

प्रेस चौतारी दाङका अध्यक्ष प्रेमबहादुर राम्जाको अध्यक्षता तथा चौतारीका केन्द्रीय उपाध्यक्ष सविन प्रियासनको प्रमुख आतिथ्यमा शनिबार भएको कार्यक्रममा विशिष्ठ अतिथि प्रेस काउन्सील नेपालका सदस्य शरद अधिकारीले सबै अटाउन सक्ने गरी पत्रकार महासंघको निर्वाचन हुनुपर्ने बताउनुभयो । यसैगरी राप्ती शान्ति उद्यानका अध्यक्ष डिल्ली भण्डारीले गणेश सामुदायिक वन उपभोक्ता समुहले वनका माध्यमबाट संस्कृति र प्रकृति जोगाउने अभियान सफल हुनुमा सबैको साथ रहेको बताउनुभयो ।

सो अबसरमा नयाँ पाइला पुनस्र्थापना केन्द्रका उपाध्यक्ष शैलेश शर्माले लागू औषध दुर्व्यसन नियन्त्रणमा संस्थाले गर्दै आएको गतिविधि बारे जानकारी गराउनुभएको थियो । कार्यक्रममा प्रेस युनियन केन्द्रीय सदस्य नारायणी रजौरे, प्रेस युनियन दाङका पूर्व अध्यक्ष सुशील बस्नेत, पत्रकार महासंघ दाङ शाखा अध्यक्ष दुर्गालाल केसी, प्रेस सेन्टर दाङका अध्यक्ष पाण्डव शर्मालगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा आसन्न पत्रकार महासंघको निर्वाचनमा जेएन सागरको नेतृत्वमा जाने विषयमा यसअघि भएको निर्णय सार्वजनिक गरिएको थियो । चौतारी दाङकी उपाध्यक्ष सुधासुमन ढकालको स्वागत मन्तव्यबाट शुरुभएको कार्यक्रमको सहजीकरण सचिव किरण गौतमले गर्नुभएको थियो ।

मा प्रकाशित