महिला दिवसमा बिरामी मज्दुर परिवारलाई घोराही बनाऔं अभियानको सहयोग

गणतन्त्रनेपाल समाचारदाता

घोराही । घोराही–१४ सभाहल टोलमा बस्ने ४५ वर्षिय कृष्णबहादुर जिसी दुईवर्षदेखि घाँटीमा लागेको क्यान्सरका कारण पीडित हुनुहुन्छ । उहाँको उपचारका लागि श्रीमति उर्मिला बिक जिसीले १५ लाख बढि खर्च गरिसक्नु भएको छ ।

रकम अभावका कारण औषधि समेत खान समस्या परिरहेको यो घरपरिवार आर्थिक सहयोगको याचनामा बसेको छ । ३० वर्षसम्म घोराही तुलसीपुर चल्ने सवारी साधनमा सहयागीदेखि कन्डक्टरसम्म बनेर सेवा गर्नु भएका कृष्णबहादुरले क्यान्सरबाट थला परेपछि आफूले गर्दै आएको पेशा समेत छाडेर उपचारमा लाग्नु भएको छ ।

पैसाको अभावमा उहाँको छोराले पढाई छाडि सकेका छन् भने १० कक्षामा पढ्ने छोरीले पनि महिनौदेखि विद्यालयमा सहयोग रकम बुझाउन पाउनु भएको छैन ।

बिरामी श्रीमानले दिनहुँ औषधी खानुपर्छ, तर औषधी खुवाउने पैसा उहाँसँग छैन । पछिल्लो समयमा जिसी परिवारलाई साँझ बिहान खाने खर्च समेत जुटाउन हम्मेहम्मे परेको छ ।

यही कुरालाई देखेपछि घोराही बनाऔं अभियानका संयोजक सविन प्रियासनले खाद्यान्न किन्न भन्दै बुधबार बिरामी कृष्णबहादुरको जीवनसंगीनी उर्मिलालाई दुईहजार नगद सहयोग गर्नुभएको छ । ११४ औं अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसको पूर्व दिनमा प्रियासनले बिरामी कृष्णबहादुर जिसीको परिवारलाई सहयोग गर्नुभएको हो । यसैगरी माता आकृति खड्का बसन्तीले पनि पाँच सय पचास रुपैयाँ सहयोग गर्नुभएको छ ।

यतिबेला बिरामी जिसी परिवार अत्यन्त दुःखमा छ । तसर्थ यदि कोही कसैले पनि कृष्णको परिवारलाई सहयोग गर्न चाहनुहुन्छ भने ९८०३८४०९१६ मा सम्पर्क गर्न सक्नुहुन्छ । कृष्णलाई सहयोग गर्नेले ज्योति विकास वैंक घोराही शाखामा रहेको उर्मिला बिक जिसीको नाममा रहेको बचत खाता नम्वर ०३२०१३००४७५०३००००००१ नम्वरको खाता पनि जम्मा गरेर सहयोग गर्न सक्नुहुन्छ ।

मा प्रकाशित