राप्ती गाउँपालिकामा भुमिहिन र महिला किसानको भुमि अधिकारका विषयमा छलफल

ओमप्रकाश गुप्ता

भालुवाङ १ चैत । दाङको राप्ती गाउँपालिकामा भुमिहिन र महिला किसानको भुमि अधिकारका विषयमा छलफल गरिएको छ । युएन ह्रयाविट्याटको सहयोगमा भुमि कृषि कार्यक्रम अन्तरगत आत्मनिर्भर सेवा केन्द्र लमही दाङ र राप्ती गाउँपालिकाको संयुक्त आयोजनामा बुधबार मसुरीयामा सो विषयमा छलफल गरिएको हो ।

राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापति चाैधरीको अध्यक्षतामा भएको छलफल कार्यक्रममा बोल्ने वक्ताहरू घरेलु हिंसा अन्त्यका लागि श्रीमान श्रीमतीको नाममा संयुक्त पुर्जा हुन आवश्यक रहेको बताएका छन् । एकल पुर्जाले घर परिवार भित्र विवाद हुने र भुमिको अपनत्व पनि नहुने हुँदा संयुक्त पुर्जा आवश्यक रहेको बताएका थिए । त्यस्तै सहभागीहरूले भुमिको सहि सदुपयोग गर्न जरूरी रहेको बताएका छन् । भुमिको सहि तरिका सदुपयोग नहुँदा जलवायु परिवर्तनमा समेत असर परिरहेको र वातावरण समेत बिग्रिदै गएको बताउँदै अब सवै जना सचेत हुने बेला आएको बताएका थिए ।

त्यस्तै कार्यक्रममा राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापति चाैधरीले संयुक्त पुर्जाको फाइदा र बेफाइदा भएको बताएकी छिन् । संयुक्त पुर्जाले श्रीमान र श्रीमतीको अधिकार बराबर भएको अनुभूति दिलाए पछि जग्गा किनबेच, ऋण निकाल्न तथा बालबच्चा पढाउन समस्या हुने गरेको बताइन् । उनले संयुक्त पुर्जा भन्दा श्रीमान श्रीमतीको नाममा बराबर तर छुट्टाछुट्टै नाममा पुर्जा बनाउन आवश्यक रहेको बताएकी छिन् ।

कार्यक्रममा युएन ह्रयाविट्याटका सृष्टिसिंह श्रेष्ठले भुमिहिन महिला किसान र भु-स्वामित्वको राष्ट्रिय नीति तथा ऐन कानुनका विषयमा जानकारी गराएकी थिइन् भने युएन ह्रयाविट्याटका दाङ जिल्ला संयोजक वन्दना सिन्हाले अन्तर्राष्ट्रिय कानुन र जलवायु परिवर्तनका विषयमा जानकारी गराएकी थिइन् ।

कार्यक्रममा राप्ती गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष देवप्रसाद चाैधरी, ३ का वडा अध्यक्ष उमेश अधिकारी र ९ का वडा अध्यक्ष रिमबहादुर सुनारी मगर लगायतका वक्ताहरूले आ-आफ्नो भनाई राखेका थिए ।

जनप्रतिनिधि, महिला अगुवा, किसान र पत्रकार गरि ३३ जनाको सहभागीता रहेको कार्यक्रमको सञ्चालन आत्मनिर्भर सेवा केन्द्र लमही दाङका भुमि कृषि अधिकृत  गोपाल विकले गरेका थिए ।

मा प्रकाशित