महिलाले देश हाक्ने हिम्मत गर्नु पर्छ- उपप्रमुख योगी

 प्रिया स्मृती गजमेर

लमही नगरपालिकाका नगर उपप्रमुख लक्ष्मी योगीले आधा आकास ढाकेका महिलाहरु देश हाक्न सक्ने क्षमता राख्नु पर्ने बताउनु भयो । विगतका कालखण्डमा महिलाले देशका महत्त्वपूर्ण निकायमा रहेर सफलता पूर्वक जिम्मेवारी निभाएका उदाहरण प्रशस्त भएको उपप्रमुख योगीको भनाई छ ।

लमही नगरपालिका -४ को भुरिपुरमा संचालित सुरक्षित आप्रवासन (सामी) कार्यक्रम वैदेशिक रोजगारीमा रहेका व्यक्तिहरुका परिवारका लागि वित्तीय साक्षरता र मनोसामाजिक परामर्श कक्षाको समापन कार्यक्रममा नगर उपप्रमुख योगीले सो कुरा बताउनु भएको हो ।

पछिल्लो समय वैदेशिक रोजगारीबाट आएको आर्थिक हिनामिना भएको, दुरुपयोग भएको, अनावश्यक ठाउँमा लगानी गर्ने गरेका थुप्रै घटना सार्वजनिक भैरहेको भन्दै यी कुरालाई गम्भीरता पूर्वक लिनु पर्ने बताउनु भयो ।

वैदेशिक रोजगारीमा जानै परे सबै सरकारी प्रक्रिया पूरा गरेर मात्र जान सबैलाई आग्रह गर्नु भयो । यस्तो प्रक्रिया पूरा गरेर गएमा बिदेश गएका बेला आइपर्ने कठिनाईमा राज्यले चासो दिन्छ”- उहाँले भन्नू भयो । सीप सिकेपछी विश्वको कुनै पनि कुनामा काम लाग्ने गर्दछ, अन्तर्राष्ट्रिय बजारमा कस्तो खालको सीपको माग छ त्यो बुझेर सीप सिकेर मात्र वैदेशिक रोजगारीमा जानू पर्छ”- नगर उपप्रमुख योगीले भन्नू भयो ।

हेल्भेटासका क्षेत्रीय संयोजक सन्तोष यादवले तालिममा सिकेका कुराबाट सहभागीले समाजमा फोकल पर्सनका रुपमा भूमिका खेल्न सक्नु पर्ने बताउनु भयो । वैदेशिक रोजगारमा गएर मृत्युवरण गरेका घरपरिवारले पाउने क्षतिपूर्ति रकमको बारेमा प्रष्टसंग बुझ्न जरुरी रहेको यादवको भनाई छ ।

खर्च भन्दा बचत कसरी गर्ने, वैदेशिक रोजगारीमा जानू भन्दा अगाडी सीप सिक्नु पर्ने, आफ्ना कागजात घरमा पनि छोडेर जानू पर्ने जस्ता कुरा तालिमबाट प्रष्ट भएको लमही नगरपालिका -४ भुरिपुरकी कोमल चौधरीले भन्नू भयो । उद्यमीका लागि केही सीपमूलक कार्यक्रमको आवश्यकता भएकोले नगरपालिकाले यो बारे नगरपालिकाले सोच्दिनु पर्ने चौधरीले भन्नू भयो ।

घरायसी काममा अल्झिएका गृहणीका लागि स्विटर बुनाई तालिम उपयुुक्त भएको भन्दै सोही तालिमलाई प्राथमिकता दिनु पर्ने तालिममा सहभागीहरुको जोड छ । घरको काम संगसंगै आफ्नो सीपलाई सदुपयोग गर्न सकिने उहाँहरुको भनाई छ ।

उत्पादन गरेका सामाग्री स्थानीय बजार र गाउँ घरमै खपत हुने गरि सहजीकरण गरि दिन लमही नगरपालिकालाई तालिममा सहभागी देवा बुढाथोकीले बताउनु भयो । २१ हप्ते वित्तीय साक्षरता र मनोसामाजिक परामर्श तालिमबाट जीवन निर्बाहका लागि धेरै कुराहरु सिक्न र बुझ्न पाएको बुढाथोकीको बुझाई छ ।

२१ हप्ता सम्म चलेको वित्तीय साक्षरता तालिमले हौसला बढाएको लमही नगरपालिका -५ पार्वती चौधरीले बताउनु भयो । यो तालिमबाट जीवन कसरी चलाउने र जीवन के हो भनेर बुझ्न पाइयो, धेरै खुशी लागेको छ”- चौधरीले भन्नू भयो ।

तालिममा २० जना महिलाहरुको सहभागिता रहेको थियो । वित्तीय साक्षरता सहजकर्ता मीना बस्नेत र मनोसामाजिक परामर्शकर्ता निमा भट्टराईले प्रशिक्षण दिनु भएको थियो ।

लमही नगरपालिकाका नगर उपप्रमुख लक्ष्मी योगीको अध्यक्षतामा भएको समापन कार्यक्रमको सहजीकरण वित्तीय साक्षरता सहजकर्ता मीना बस्नेतले गर्नु भएको थियो । गत भदौ महिनाबाट शुरु भएको तालिम आज चैत १ गते समापन भएको हो

मा प्रकाशित