९ वर्षीय बालकको उपचारका क्रममा मृत्यु भएपछि दाङको घोराहीस्थित बुद्ध इन्टरनेसनल हस्पिटलमा तोडफोड

गणतन्त्रनेपाल समाचारदाता

दाङ, १ चैत्र । दाङको घोराहीस्थित बुद्ध इन्टरनेसनल हस्पिटलमा उपचारका क्रममा बालकको मृत्युपछि आक्रोशित आफन्त र प्रहरीबीच बिहीबार झडप भएको छ ।

सडकमा प्रदर्शन गरी घोराही-लमही सडक अवरुद्ध गरिरहेका मृतकका आफन्त र प्रहरीबीच ढुंगा र लाठी हानाहान भएको छ । भीड नियन्त्रण गर्न प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । मृतकका आफन्तले अस्पतालमा ढुंगामुढा र तोडफोड गरेका छन् ।

राजपुर गाउँपालिका १ पटौली नाकाका ९ वर्षीय बालक सुरेश कुँवरको घोराहीस्थित बुद्ध इन्टरनेसनल हस्पिटलमा उपचारका क्रममा बुधबार मृत्यु भएको थियो । अस्पतालअगाडि र ट्राफिक चोकमा मृतकका आफन्तहरू बसेर यातायात अवरुद्ध गरी प्रदर्शन गरिरहेका छन् ।

घाँटीमा समस्या भएपछि अस्पताल ल्याइएका बालकको डाक्टरको लापरबाहीले मृत्यु भएको भन्दै मृतकका आफन्तले अस्पताल घेराउ गरिरहेका छन् ।

मृतकका आफन्त, अस्पताल प्रशासन र सरोकारवालाबीच जिल्ला प्रशासन कार्यालयमा छलफल भएको थियो । तर निकास निस्कन नसकेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी जनकबहादुर मल्लले बताए ।

मा प्रकाशित