गढवा गाउँपालिकामा भूमिहीन र महिला किसानको भूमि अधिकार सम्बन्धी कार्यशाला सम्पन्न

आलोक भावुक

गढवा, १ चैत्र। दाङ देउखुरीको गढवा गाउँपालिकामा  भूमिहीन र महिला किसानको भूमि अधिकार सम्बन्धी कार्यशाला बिहिवार सम्पन्न भएको छ।

गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीको अध्यक्षता तथा गढवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमरराज शर्माको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा गढवा गाउँपालिकामा भूमिहीन र महिला किसानको भूमि अधिकार र हाल सम्म भएका कार्यक्रमहरुको बारेमा छलफल तथा समिक्षा गरिएको थियो। गढवा गाउँपालिका र आत्मनिर्भर सेवा केन्द्रको आयोजना तथा युएन हेभिटार्टको सहयोगमा सम्पन्न भएको हो।

कार्याशालामा बोल्दै गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीले गढवा गाउँपालिका नितिगत रुपमा कार्यक्रमहरु कार्यान्वयन गर्दै अघि बढेको बताउनु भयो । किसानले उत्पादन गरेको तरकारी लगायत सबै सामान बजारीकरण गर्न गाउँपालिकाले समन्वय गर्ने काम गर्न तयार रहेको तर बजार बजार बेच्न व्यवसायी/ कृषकहरु आफै लाग्नु पर्ने बताउनुभयो। व्यवसायिक उत्पादन गरेको जे पनि पालिकाले बेच्न नसकिने बताउदै पालिकाको काम बजारीकरणमा समन्वय गर्ने रहेको स्पष्ट पार्नुभयो । पालिकाको आलोचना मात्रै गरेर नहुने भन्दै आफु सच्चिन र व्यवसाय गर्न उपस्थित सबैमा अनुराेध समेत गर्नु भयो।

त्यसैगरी कार्याशालामा बोल्दै गढवा गाउँपालिका ५ नम्बर वडाध्यक्ष लेख बहादुर थापाले अधिकार संगै कर्तव्य भुले ठुलो समस्या उत्पन्न हुने बताउनु भयो । सार्वजनिक ठाउँ, मठमन्दिर, पाटी पौवा खानेपानी बिद्यालय क्षेत्रमा भएको जमिन नापनक्सा गर्ने नगर्ने अधिकार गाउँपालिकाको रहेको बताउदै वडाध्यक्ष थापाले सार्वजनिक ठाउँको जमिन नापीदिन कसैले अनुरोध र सिफारिस गर्दैमा आफु त्यस्तो नगर्ने स्पष्ट पार्नु भयो। त्यसैगरी वन क्षेत्रमा नापनक्साको काम नगर्न माथीबाटै आदेश आएकोले त्यस ठाउँमा समेत नापनक्साको कार्य आफु खुसी गर्न आफु नसक्ने बताउनु भयो ।

कार्यक्रममा सहभागीहरुले आफुहरु बसोवास गर्दै आएको ठाउँको नापनक्साको काम अघि बढाउन अनुरोध समेत गर्नु भएको थियो। साथै गाउँपालिकाभित्र व्यवसाय गर्दै आएको र तरकारीहरुको वजारीकरण गर्न अनुराेध समेत गर्नु भएको थियो।

गढवा गाउँपालिका भूमी शाखाबाट हाल सम्म भएका नापनक्साको बारेमा जानकारी दिदै भूमीशाखाका  प्रमुख सञ्जित पौडेलले वडा वडा नम्बर १ देखी ५ वडा सम्मको नापनक्साको कार्यप्रगति प्रस्तुत गर्नु भएको थियो। जस अनुसार हाल सम्म वडा नम्बर १ मा २ हजार ५ सय ५९  कित्ताको नापनक्साको काम भई २ सय ७९ हेक्टर जमिन नापजाँच गरिएको बताउनु भयो ।त्यसैगरी वडा नम्बर २ मा २ हजार ९ सय ६७ कित्ताको नापनक्साको कार्य सम्पन्न भएको छ जस्को १ सय ८६ हेक्टर क्षेत्रफल रहेको छ। त्यसैगरी वडा नम्बर ३ मा ७ सय २० कित्ता बाट ४८ हेक्टर क्षेत्रफलको जग्गा नापनक्साको लागि नापजाँच भैसकेको छ। त्यसैगरी वडा नम्बर ४ मा १ हजार २ सय ४६ कित्ता बाट ९८ हेक्टर जमिनको नाप गरिएको छ भने वडा नम्बर ५ मा ८ सय ६६ कित्ताको ६ सय ९९ हेक्टर क्षेत्रफलको जमिनको नापी सकिएको छ भने बाँकी नापनक्साको काम भैरहेको छ भने अन्य वडामा नाप नक्साको काम केही समयमा नै सुरु हुने शाखा प्रमुख पौडेलले जानकारी दिनुभयो।

महिला लक्षित कार्यक्रम र भए गरेका कार्यहरुको बारेमा महिला, बालबालिका तथा जेष्ठ नागरिक इकाईकी प्रेरणा चन्दले जानकारी गराउनु भएको थियो। गढवा गाउँपालिकामा रहेका लक्षित समूदायका व्यक्तिहरुको आवश्यकताको आधारमा सचेतना अभिवृद्धिका लागि कार्यक्रमहरु सञ्चालन तथा जीवनस्तर माथी उकास्नका लागि प्रत्यक्ष आयआर्जनमा सहयोग पुर्याउन सीप बिकाश सम्बन्धी कार्यक्रमहरु गर्दै आएको बताउनु भयो ।सामाजिक न्याय सम्बन्धी ऐन २०८०, निति तथा कार्यक्रम,  ऐनहरु, आब २०८०/०८१ महिला लक्षित कार्यक्रमको बारेमा, समस्याहरुको बारेमा समेत जानकारी गराउनु भएको थियो।

त्यसैगरी युएन हेभिटार्टकी सृष्टीसिंह श्रेष्ठले भूमिहीन संग सम्बन्धित संवैधानिक व्यवस्था भाग ३ मौलिक हक, मुलुकी देवानी संहिता, २०७४ को बारेमा जानकारी, राष्ट्रिय भूमि नीति २०७५, राष्ट्रिय भू-उपयोग नीति २०७२ र भूमि सम्बन्धी ऐनको बारेमा जानकारी दिनु भएको थियो।

त्यसैगरी युएन हेभिटार्टको दाङ जिल्ला कार्यक्रम संयोजक बन्दना सिन्हाले भूमिमा महिला अधिकार, भूमिमा महिला अधिकारअधिकारको औचित्य,भूमिमा महिला अधिकारको अन्तर्राष्ट्रिय प्रावधानहरु बारेमा जानकारी गराउनु भएको थियो।

कार्यशालामा गढवा गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष तुल्सिराम अधिकारी, ५ नम्वर वडाअध्यक्ष लेख बहादुर थापा, ६ नम्बर वडाध्यक्ष विर बहादुर आले मगर कार्यपालिका सदस्यहरु, महिला अगुवा, भूमीहीन किसान र पत्रकार गरि करिव ४० जनाको सहभागीता रहेको  थियो ।कार्यक्रमको सञ्चालन आत्मनिर्भर सेवा केन्द्र लमही दाङका भूमी कृषि अधिकृत गोपाल विकले गर्नु भएको थियो ।

 

मा प्रकाशित