शैक्षिक गुणस्तर सुधारका लागि पालिका गम्भीर :अध्यक्ष पोख्रेल

आलोक भावुक

गढवा, २१ फागुन । गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले गढवा गाउँपालिकाको शैक्षिक गुणस्तर सुधारका लागि पालिका गम्भीर रहेको बताउनु भएको छ। शिक्षामा गुणस्तर सुधारका लागि गढवा गाउँपालिकाले हर सम्भव प्रयास जारी राखेको बताउदै अभिभावक जागरुक नभए सम्म आरोप प्रत्यारोपको सिलसिला जारी रहने र शिक्षामा गुणस्तर सुधार नहुने भएकोले सबै सच्चिन र शिक्षामा अपनत्व महसुस गरी साझा प्रयासबाट मात्र शिक्षामा गुणस्तर सुधार हुने बताउनु भयो।

सामुदायिक विद्यालयहरुले अहिले भएका विद्यार्थीहरुलाई नै योग्य र समाजमा प्रतिष्ठित बनाउन ठूलो जिम्मेवारी भएको बताउदै पालिका अध्यक्ष पोख्रेलले नीतिगत रुपमा के-के सुुधार गर्नुपर्ने हो त्यसका लागि गढवा गाउँपालिका तयार रहेको बताउनुभयो ।सामुदायिक विद्यालयले गुणस्तरीय शिक्षा दिनसके निजी संस्थामा अध्ययरत विद्यार्थी पनि सामुदायिक विद्यालयतिर आकर्षित हुने वातावरण सिर्जना हुने अध्यक्ष पोख्रेलले बताउनु भयो।

गुणस्तरीय शिक्षा भनेको सरल भाषामा संस्कारयुक्त सीपमूलक शिक्षा हो पछिल्लो समयमा शैक्षिक उपलब्धि नतिजासंग तुलना गर्नाले शिक्षाको गुणस्तर झन खस्किदै गएको बताउनुभयो। सबै कुरा मनन् गर्दा समस्याहरुको पहिचान गरी सुधारका निम्ति गढवा गाउँपालिका निरन्तर लागि परेको बताउनुभयो। बाल कल्याण आधारभुत विद्यालयले जसरी विद्यार्थीहरुको बढ्ने वातावरण सिर्जना गर्न प्रयास गरेको छ यो सुरुवात हो, यसरी सबै विद्यालयहरुमा विद्यार्थीहरुलाई पढाई प्रतिको रुचि जगाउने हिसाबको वातावरण बनाई शिक्षा दिने योजनाका साथ अघि बढेको बताउनुभयो।

बाल कल्याण आधारभुत विद्यालय गढवा ६ बालाखुट्टीले आयोजना गरेको अभिभावक शिक्षा तथा शिक्षण सामग्री प्रदर्शनी कार्यक्रममा बोल्दै गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले सो कुरा बताउनु भएको हो

त्यसैगरी जिवन मुल्य शिक्षा कार्यक्रमका प्रमुख प्रशिक्षक तथा चेतना विकास फाउण्डेशनका अध्यक्ष कमलले विद्यार्थीलाई दबाब दिएर फलानो जस्तै बन्नु पर्छ भनेर पढाउन नहुने बताउनु भयो ।सबै विद्यार्थीको पढ्ने शैली बुझ्ने तरिका उस्ता उस्ता नरहेको बताउदै सबैलाई आ आफ्नै तरिकाले पढ्न दिनु पर्ने बताउनुभयो ।बच्चाहरुलाई बुझ्न र बुझाउन वच्चाहरुकै मनोभाव बुझ्नुपर्ने हुन्छ शिक्षा बिज्ञ कमल शिलवालले बताउनुभयो।

विद्यालयले शिक्षण सामग्री प्रदर्शनी कार्यक्रममा विद्यार्थीहरुलाई पठनपाठन गराउने नयाँ शिक्षण सामग्रीहरु प्रदर्शनमा राखिएको थियो। प्रदर्शनीमा राखिएका सामग्रीहरुको प्रयोगबाट पठनपाठन गराउदा विद्यार्थीहरुलाई बढाईमा रुची बढ्ने र बुझ्न सहज हुने विद्यालयका प्रधानाध्यापक तारा प्रसाद ढुङगानाले जानकारी दिनुभयो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हुमाकान्त सुबेदीको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुखमा सम्पन्न भएको अभिभावक शिक्षा तथा शिक्षण सामग्री प्रदर्शनी कार्यक्रममा अभिभावक, शिक्षा समिति सदस्य, विद्यार्थीहरुको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रमको सहजिकरण विद्यालयका शिक्षक सुदन केसीले गर्नु भएको थियो ।

मा प्रकाशित