नयां सत्ता गठबन्धनको पक्षमा १५७ सांसदहरुको समर्थन ! , आज ८ बजे बस्ने गठबन्धनको वैठक निर्णायक  

गणतन्त्रनेपाल समाचारदाता

काठमाडौं,२१ फागुन । कांग्रेस माओवादी सहितको वर्तमान सत्ता गठबन्धन भत्किएर नयां सत्ता गठबन्धन बनेको समाचार आज बिहानै सार्वजनिक भएका छन् । नेकपा माओवादी केन्द्र र नेकपा एमालेसहितका दलहरूबीच नयाँ गठबन्धन बनाउने सहमति भएको स्रोतको दावी छ । तर आज बिहान सत्ता ८ बजे सत्ता गठबन्धनको वैठकले कुन मोड लिन्छ त्यसका आधारमा गठबन्धन भत्किने र नयां बन्ने स्पष्ट हुने छ । आज बिहानको वैठक नै निर्णायक हुने र त्यसले राजनीतिको कोर्ष परिवर्तन हुने या नहुने निक्र्योल गर्ने जनता समाजवादी पार्टीका शीर्ष नेताले न्युज बुटवलटुडेलाई बताए । ‘अबको एक डेढ घण्टामा नयां गठबन्धन बन्ने नबन्ने क्लियर हुन्छ’– ती नेताले भने ।

स्रोतका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहालको पक्षमा कांग्रेस वाहेक एमाले, रास्वपा र जसपाका १५७ सांसदहरुको समर्थन देखिएको छ । भोलि नै मन्त्रीमण्डलसहित शक्ति बांडफांडको लिखित सम्झौंता हुने उँच्च स्रोतले बतायो । हिजो साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको दलहरूको बैठकमा नयाँ गठबन्धन सरकार बनाउने सहमति भएको उच्च स्रोतको हवाला दिंदै समाचार आएपनि सम्बन्धित दलका नेताहरुले मुख खोलेका छैनन् । एमाले अध्यक्ष केपी ओली निकटका एक केन्द्रीय नेताले नयां गठबन्धन भएको भए पछि थाहा भइहाल्छ भनेर पन्छिए ।

गठबन्धनमा एमाले र माओवादीसहित रास्वपा र जसपालगायत दलहरू सामेल हुने छन् ।

बैठकमा माओवादीको तर्फबाट प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपमहासचिव वर्षमान पुन, एमालेको तर्फबाट अध्यक्ष केपी शर्मा ओलीसहित उपाध्यक्ष विष्णु पौडेल र महासिचव शंकर पोखरेल, रास्वपा सभापति रवि लामिछाने र जसपा अध्यक्ष उपेन्द्र यादव सहभागी थिए । यसअघि आजै बिहान टीआरसी विधेयक टुंग्याउने सम्भावना छ ।

आइतबार एमाले अध्यक्ष ओलीले प्रचण्डसँग दुई पटक भेटवार्ता गरेका थिए । बालुवाटारमा बिहान एक्लै भेटवार्ता गरेका ओलीले साँझ महासचिव पोखरेलसहित प्रचण्डसँग छलफल गरेका थिए ।

ओली प्रचण्ड छलफललगत्तै एमाले उपाध्यक्ष विष्णु पौडेल, माओवादी उपमहासचिव पुन र रास्वपा सभापति लामिछानेबीच छलफल भएको थियो । आइतबार साँझ कांग्रेस सभापति शेरबहादुर देउवाले पनि पार्टीको तर्फबाट सरकारमा सहभागी मन्त्रीसँग छलफल गरेका थिए । देउवाले मन्त्रीबाट फिर्ता आउनु पर्ने र पार्टीले नै सरकार छाड्ने सम्मको परिस्थिति आउनेतर्फ मन्त्रीलाई ब्रिफिङ गरेको कांग्रेसका एक मन्त्रीले बताए ।

मा प्रकाशित