ज्येष्ठ नागरिकको सम्मान र सुरक्षाका लागि संवेदनशील हुन आवश्यकः मन्त्री शर्मा

गणतन्त्रनेपाल समाचारदाता

दाङ, १५ चैत । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले ज्येष्ठ नागरिकको सम्मान र सुरक्षाका लागि राज्य, समाज र परिवार थप संवेदनशील हुनुपर्ने बेला आएको बताउनुभएको छ ।

दाङको घोराही उपमहानगरपालिका १६ तेरौटेस्थित ज्येष्ठ नागरिक सरोकार केन्द्रद्वारा सञ्चालित वृद्धाश्रमको निरीक्षण गरेपछि केन्द्रले आयोजना गरेको स्वागत कार्यक्रममा मन्त्री शर्माले समाजको स्वरुपमा आएको बदलावसँगै ज्येष्ठ नागरिकको सम्मान र सुरक्षामा पनि विशेष ध्यान दिनुपर्ने बेला आएको बताउनुभयो ।

नेपाली समाजको आर्थिक उत्पादन सम्बन्धमा आएको परिवर्तनसँगै सबै व्यक्ति ज्येष्ठ नागरिकसँग बसेर मात्रै सँधै सेवा गर्न सकिने अवस्था कमजोर बन्दै गएकाले अब ज्येष्ठ नागरिकको सेवामा कमी आउन नदिन के गर्ने भन्ने विषयमा राज्य र समाजले सोच्नुपर्ने बेला आएको बताउनुभयो ।

‘मूलतः हामी पूर्वीय समाजमा रहेकाले जसरी आफ्ना सन्तान हुर्काउने दायित्व अभिभावकको हुन्छ, त्यसैगरी बुढेसकालमा अभिभावकको सेवा गर्ने दायित्व पनि सन्तानकै हुनुपर्छ भन्ने मान्यता कायम राख्नुपर्छ’– मन्त्री शर्माले भन्नुभयो– ‘यति गर्दागर्दै सन्तानबाट ज्येष्ठ नागरिकको सेवा, सुरक्षा र सम्मान पुगेन भने त्यसमा समाजले पनि केही योगदान गर्नुपर्छ र अन्ततः सबैको अभिभावक राज्य भएकाले राज्यको दायित्व हुने नै भयो ।’

हरेक घरलाई तीर्थस्थलको रुपमा विकास गर्ने गरी सामाजिक जागरणका अभियान पनि आवश्यक हुने र त्यसलाई विद्यालय तहदेखि अघि बढाउनुपर्ने पनि उहाँले स्पष्ट गर्नुभयो । ‘सकेसम्म जीवनको उत्तरार्धमा कसैलाई पनि वृद्धाश्रममा जान बाध्य पार्नु हुँदैन’– उहाँले भन्नुभयो– ‘सहाराविहीन नै भएका ज्येष्ठ नागरिकलाई बाध्यतात्मक रुपमा वृद्धाश्रममा राख्नुपर्ने नै भए पनि बाँकी सबैलाई दिनमा आराम, मनोरञ्जन, अध्ययन, भजनकिर्तन आदिका लागि दिवा ज्येष्ठ सेवा केन्द्र देशभरि स्थापना गर्नुपर्छ, यसमा विशेषतः स्थानीय तहहरुको ध्यान जानु आवश्यक छ ।’

छिल्लो पुस्तामा अभिभावकको कर्तव्य पालना गर्नमा समस्या देखिने क्रम बढेको भन्दै युवापुस्तामा नैतिक शिक्षा र अभिभावकप्रतिको जिम्मेवारी बोध गराउन राज्यका सबै निकायले ध्यान दिनुपर्ने उहाँको भनाइ थियो । सामाजिक सेवाको भावनासहित दाङका समाजसेवीहरुले सुरु गरेको ज्येष्ठ नागरिक सरोकार केन्द्र देशभरिमै उदाहरणीय बन्दै गएको उल्लेख गर्दै उहाँले यसले असहाय ज्येष्ठ नागरिकको सेवा र नयाँ पुस्तालाई सामाजिक शिक्षा दिने काम गरिरहेको बताउनुुभयो । समुदायस्तरबाटै सञ्चालित यस्ता केन्द्रहरुलाई सरकारले पनि सहयोग गर्ने र त्यसका लागि आफूले पहल गर्ने मन्त्री शर्माले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID